रुप ज्योतिका बाबुछोरीलाई तीन दिन थुना राखेर अनुसन्धान गर्न अदालतको आदेश

रुप ज्योतिका बाबुछोरीलाई तीन दिन थुना राखेर अनुसन्धान गर्न अदालतको आदेश


हाउजिङ व्यवसायमार्फत ठगी गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार साँझ पक्राउ परेका पूर्वअर्थ राज्यमन्त्री तथा व्यापारी रूप ज्योति र उनकी छोरी सुरुचिलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ ।

थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरू दुवैलाई जिल्ला अदालत काठमाडौं लगेपछि अनुसन्धानका लागि अदालतले तीन दिनको म्याद दिएको हो ।

ज्योतिले हाउजिङका नाममा विभिन्न व्यक्तिलाई ठगी गरेको मुद्दामा काठमाठौं जिल्ला अदालतले ०७५ मंसिर २० मा पक्राउ गर्न अनुमति दिएको थियो । तर, त्यसविरुद्ध ज्योति सर्वोच्च पुगेका थिए । सर्वोच्च पुगेको करिब १ वर्षपछि गत मंगलबार सर्वोच्च अदालतले रुप ज्योति र सुरुचिलाई पक्राउका लागि प्रहरीलाई अनुमति दिएको थियो ।

ज्योतिले व्यक्तिका नाममा दिनुपर्ने जग्गा अर्कै कम्पनी खडा गरी कम्पनीकै नाममा गराएका थिए । उक्त कम्पनी ज्योतिकी श्रीमती र छोरीको नाममा रहेकोले छोरीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।