आलम प्रकरणमा सशस्त्रका एसपी लामालाई पक्रिन इन्टरपोलमा पत्राचार गर्ने तयारी

आलम प्रकरणमा सशस्त्रका एसपी लामालाई पक्रिन इन्टरपोलमा पत्राचार गर्ने तयारी


०६४ चैत २७ गते रौतहटमा बम विस्फोट भएर घाइते भएका व्यक्तिलाई जिउँदै इँटाभट्टामा हालेर खरानी पारेको आरोप लागेका नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सदस्य तथा पूर्वमन्त्री मोहम्मद अफ्ताव आलमलाई सहयोग गरेको भनिएका सशस्त्र प्रहरी बलका एसपी रामृकष्ण लामा पनि अनुसन्धानमा तानिने भएका छन् ।

रौतहटमा कार्यरत रहँदा लामाले उक्त घटनामा सहयोगी भूमिका निभाएको भन्दै सो घटनाका प्रत्यक्षदर्शी तथा घाइतेले बयान दिएपछि लामा पनि अनुसन्धानमा तानिने भएका हुन् ।

हाल उपचारको क्रममा हङकङमा रहेका लामालाई नेपाल झिकाउन भन्दै रौतहट प्रहरीले प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखालाई पत्राचार गरेको छ ।

आलम अहिले सोही अपराधमा रौतहट प्रहरीको नियन्त्रणमा छन् । उनीविरुद्ध अहिले रौतहट जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ । उनीविरुद्धको मुद्दा अदालतबाट प्रमाणित भए आलमले जेल सजाय भोग्नुपर्नेछ भने प्रमाणित हुन नसके उनी रिहा हुनेछन् ।