गुटगत धमिराले मक्काउँदै ‘खेलकुद परिषद’

गुटगत धमिराले मक्काउँदै ‘खेलकुद परिषद’


■ श्रीविक्रम भण्डारी

राष्ट्रिय खेलकुद परिषद यतिबेला गुटैगुटको सिकार बनेको छ । अहिले राखेपमा प्रधानमन्त्री केपी शर्मा ओली गुट, खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) गुट, उपाध्यक्ष पिताम्बर तिम्सिना गुट, सदस्यसचिव रमेशकुमार सिलवाल गुट, विभागीय प्रमुख कुलबहादुर थापा गुट, साग सचिवालय प्रमुख कमल खनाल गुट निकै सक्रिय देखिएका छन् । यिनीहरूले अहिले खेलकुदमा गुट मात्रै नखोली खेलकुदमा हालिमुहाली र ब्रह्मलुट गर्दै आएका छन् ।

ओली गुटकै भएका कारण जगत विश्वकर्माले खेलकुद मन्त्रीको ओहदा नै हत्याउन सफल भए । मन्त्री पद हासिल गर्न सफल भए पनि अहिलेसम्म विश्वकर्मा खेलकुदमा झिँगासमेत मार्न नसकेको कसैबाट छिपेको छैन । तर, विश्वकर्माले खेलकुदमन्त्री भएर गरेको भैंसी गोठ उद्घाटनले राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा चर्चा पाएको थियो । यही घटनाले उनले संसारभर ख्याति आर्जन गरेका थिए । परिणामतः विश्वकर्मा अहिले ओली गुटका सबैभन्दा असफल मन्त्री बनेका छन् ।

राखेपमा उपाध्यक्ष भएर आउँदा पिताम्बर तिम्सिनाको रोव–रवाफ कुनै बादशाह भन्दा कम थिएन् । अझ प्रधानमन्त्री ओली गुटका भएका कारण खेलकुदमा उनको धाक निकै नै थियो । तर, नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा ओली गुटका व्यक्तिलाई असहयोग गर्नु उनको लागि दुर्भाग्य बन्यो । अहिले तिम्सिना ओली गुटका भए पनि दुधबाट निकालेको ‘तर’झैँ बनेका छन् । दूधको तरमा नौनी (क्रिम) त हुन्छ तर तरलाई त्यत्तिकै पन्छाइन्छ । यस्तै, १३औँ ‘साग’मा तिम्सिनाको उपयोगितालाई कुनै महत्व दिइएको छैन । मन्त्री विश्वकर्मा र सदस्यसचिव सिलवालले उनलाई अहिले घर न घाटको बनाइदिएका छन् । तिम्सिनाले १३औँ सागको आयोजनाको लागि निभाएको भूमिका यतिबेला अर्थहीन बन्न पुगेका छन् ।

ओली गुटकै भएकै कारण राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिवमा रमेशकुमार सिलवाल विराजमान भएका हुन् । सिलवालको नियुक्ति राजनीतिक गुटबाट भए पनि उनी खेलमा आएपछि त्यही गुटलाई आत्मसात गरेर अगाडि बढ्लान् भन्ने कसैले कल्पना समेत गरेको थिएन । तर, सिलवाल त्यस्तै गरे जो कल्पनाभन्दा बाहिरको थियो, त्यसमा उनी अहिले पनि अडिक देखिन्छन् ।

एउटै पार्टीको विरासदसँग जोडिएका अर्का सदस्यसचिव केशवकुमार विष्टले विगतमा गरेका हरेक कार्यलाई गुटको नजरले हेर्दै खेलकुदमा नकारात्मक सन्देश नयाँ सदस्यसचिवले प्रवाह गर्न थालेका खेलक्षेत्रभित्रै चर्चा शुरु भएको छ । सिलवालको यो गुटको राजनीतिले अहिले खेलकुदमा सयौँ व्यक्ति पीडित बनेका छन् र पनि उनी गुटको राजनीति छोड्ने पक्षमा देखिएनन् भन्ने प्रतिक्रिया दिन्छन् सम्बन्धित कर्मचारीहरू । उल्टै आफ्ना ‘हरुवा’मित्र तथा ब्यापारिक साझेदार पुरेन्द्र विक्रम लाखेलाई १३औँ सागको खेल सामग्री तथा व्यवस्थापन समितिको अध्यक्ष बनाएर आर्थिक चलखेल गर्ने सेतुको निर्माण गरिदिएको अरोपसमेत सिलवालमाथि लागेको छ ।

त्यस्तै, १३औँ सागको स्रोत तथा साधनको अध्यक्षमा उमेशलाल श्रेष्ठलाई अध्यक्ष बनाएर गुटको कीर्तिमान नै कायम गरिदिए । यसैगरी १३औँ साग समितिको अध्यक्षमा एकाध समिति बाहेक अन्यमा ओली गुटकै व्यक्तिलाई जिम्मेवारी दिएर आफु केपी ओलीको खास ‘हनुमान’ भएको पनि सावित गरिदिए सिलवालले । शुरुमा आफुलाई भिन्न सोच–शैलीको सदस्यसचिव भएको व्याख्या गर्ने उनी यतिबेला ‘जुन जोगी आए पनि कानै चिरेको’ सावित भएका छन् । उनका पछिल्ला अभिव्यक्ति र कार्यशैलीले यस्तै दर्शाएको छ ।

१३औँ सागको समितिको अध्यक्षमा ओली गुटका व्यक्ति छानिए पनि सचिवको नियुक्तिमा भने कुलबहादुर थापा र कमल खनालले बाजी मारे । सचिवमा थापा गुट र खनाल गुटका परिषदका कर्मचारीले बाजी मार्दा सदस्यसचिव सिलवाल पनि चकित परे । त्यसैले सिलवालले आफ्नै कार्यकक्षमा भएको छलफलमा थापा र खनाललाई यहाँ त तपाईंहरु दुवैजनाको गुट रहेछ, कर्मचारीको पनि गुट नै गुटको झुन्ड रहेछ भनेर निलो कालो बनाएको घटना परिषदमा चर्चाको विषय बनेको छ ।

स्मरणीय छ, थापा र खनालले उत्कृष्ट कर्मचारीलाई वाइपास गर्दै आफु निकटका आसेपासे व्यक्तिहरुलाई १३औँ साग समितिको सचिवमा सिफारिस गरेर नियुक्ति दिन सफल भएका थिए । खेलकुदको इतिहासको पाना पल्टाउँदा थापा र खनाल कति दुधले नुहाएका व्यक्ति हुन् त्यो उनीहरूविरुद्ध अख्तियार दुरुपयोग आयोगमा परेको उजुरीबाट पनि सोझै अनुमान लगाउन सकिन्छ । यस्ता व्यक्तिलाई सदस्यसचिव सिलवालले काखी च्यापेर विश्वास गरेपछि उनीहरूले उपद्रव गर्नु स्वभाविकै हो भन्ने अहिले राखेपमा चर्चाको विषय बनेको छ ।

यतिबेला राष्ट्रिय खेलकुद परिषद १३औँ सागमय हुनुको साटो ओली गुटमय भएको कसैबाट छिपेको छैन । तर विडम्बना, यतिबेला ओली गुट राखेपमा छाइरहेको अवस्थामा त्यही गुटका खेलकुदका प्रभावशाली व्यक्तित्व बचन देउला, पुरन गिरी, ओमकृष्ण प्रसाई, गोविन्द भट्टराई र मेघराज पौडेल पाखा लगाइएको छ । उनीहरूलाई नसमेटिनुमा ओली गुटभित्रकै गुटले ठूलो चलखेल गरेको बुझिएको छ । त्यसमा विशेष गरेर खेलकुदमन्त्री विश्वकर्मा र सदस्यसचिव सिलवालले विशेष चलखेल गरेको खेलकुदमा चर्चा चलेको छ ।

त्यस्तै नेपाल ओलम्पिक कमिटी र नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचनमा ओली गुटका उम्मेदवारहरु नराम्रोसँग पराजित भएपछि अहिले सदस्यसचिव सिलवालले उनीहरुसँग दुरी बढाएका छन् । यथार्थमा भन्ने हो भने गुटकै कारण ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र उपाध्यक्ष पिताम्बर तिम्सिनालाई बाईपास गरेका छन् । १३औँ सागमा उनीहरुको सहयोग र सहभागितालाई प्रश्नचिन्हको घेरा पारेर गुटको उत्कृष्ट नमुना पेश गरेका छन् । जस्ले भविष्यमा खेलकुदमा कस्तो प्रभाव पार्ला र सन्देश प्रभाहित होला, त्यो प्रतीक्षा गर्नु नै बेस होला ।