यूएनपीपीको सहयोगमा नेपालमा पहिलोपल्ट गोताखोर तालिम

यूएनपीपीको सहयोगमा नेपालमा पहिलोपल्ट गोताखोर तालिम


नेपालमा पहिलोपल्ट गोताखोर तालिम सञ्चालन गरिएको छ । यूएनडिपीको सहयोगमा सशस्त्र प्रहरी बल नं. १ बराह बाहिनी पकली इटहरीले यो तालिम प्रदान गरेको हो ।

बंगलादेशमा सन् २०११ तालिम लिएका २५ मध्ये अहिले १९ जनाबाट सशस्त्र प्रहरी जवानदेखि सशस्त्र प्रहरी सहायक निरीक्षकसम्मका थप १९ जनालाई तालिम सञ्चालन गरिएको सशस्त्र प्रहरी नायब निरीक्षक वीरेन्द्र खनालले बताए ।

तत्कालीन समयमा एक व्यक्तिलाई करिब १२ लाख रुपैयाँ लगानी गरेर यूएनडीपीले बंगलादेशमा सशस्त्र प्रहरीलाई तालिमको अवसर प्रदान गरेको थियो । हालसम्म तिनै तालिमप्राप्त गोताखोरबाट उद्धारकार्य हँुदै आए पनि पर्याप्त नभएपछि गोताखोर तालिम सञ्चालन गरिएको उनले बताए । ‘यो तालिम निकै खर्चिलो र जोखिमपूर्ण छ, नौ वर्षपछि बल्ल हामीले यो तालिम सञ्चालन गर्न सफल भएका छौँ ।’
दुई वर्षसम्म त उपकरणका लागि मात्रै कुर्नुपरेको उनको भनाइ छ । ‘२०१३ मा बल्ल उपकरण आइपुगेपछि हामीले ३५ दिनेको प्याकेज बनाएर तालिम शुरु गरेका हौँ,’ उनले भने । पानीको गहिराइमा गएर उद्धार गरिने सो कार्य निकै जोखिमपूर्ण मानिन्छ । हाल सप्तकोसी र फेवातालमा गोताखोर तालिम दिइएको हो । नेपालमा धेरै दुर्घटना भई अधिकांश बस नदीमा खस्ने गरेकाले तालिमप्राप्त गोताखोरको आवश्यकता बढिरहेको छ ।

यस्ता संवेदनशील कुराप्रति नेपाल सरकारले चासो दिनुपर्ने प्रशिक्षक दिल्ली भट्टराईले बताए । उनले भने, ‘तालिम खर्चिलो पनि छ, यसका उपकरण निकै महँगा हुन्छन् र उत्तिकै जोखिमपूर्ण पनि हुन्छन्, दक्ष जनशत्ति टिकाइराख्न राज्यले विशेष व्यवस्था गर्नुपर्छ ।’ नयाँ प्रशिक्षार्थी सशस्त्र प्रहरी जवान दीर्घनारायण पौडेलले तालिमप्रा प्त गरेपछि अब पानीमुनि उद्धारमा जान सक्ने बताए ।

‘शुरुमा त निकै गाह्रो र डर लाग्यो, तालिम लिँदै गएपछि आत्मविश्वास बढ्दै गयो, अहिले ढुक्कसँग गर्न सक्छु,’ अर्का प्रशिक्षार्थी सशस्त्र प्रहरी सहायक निरीक्षक रमेश थापाले भने, ‘अब ६५ फिट तल पनि अक्सिजन सेटअप बक्सका साथ उद्धारमा जान सक्छु ।’ थोरै संख्यामा तालिम लिएकालाई टिकाइराख्न सरकारले चासो नदिने र तालिम पाएकाले अर्को अवसर पाउँदा छाडिहाल्ने समस्या रहेको उनको भनाइ छ ।

सातै प्रदेशमा तालिमप्राप्त गोताखोर राख्ने योजनाअनुरूप तालिम प्रदान गरिएको बताइएको छ । फेवातालमा तालिम लिन आएका २८ जनाको टोली थप प्रशिक्षणका लागि पकली फर्किएको छ । राससका अनुसार हाल चितवनको कुरिनटार तालिम केन्द्र, काठमाडौं र पोखरामा १५ जना तालिमप्राप्त गोताखोर कार्यरत छन् ।