भारतीय दूतावासअघि विद्यार्थीको विरोध प्रदर्शन

भारतीय दूतावासअघि विद्यार्थीको विरोध प्रदर्शन


काठमाडौंको लैनचौरस्थित भारतीय राजदूतावासअघि नेपाली युवा विद्यार्थीले भारतको विस्तारवादी नीतिको विरोध गर्दै प्रदर्शन गरेका छन् ।

नेपाल विद्यार्थी संघले भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा समेटेको भन्दै शुक्रबार बिहानै विरोध प्रदर्शन गर्दै उक्त नक्सा नेपाललाई अमान्य हुने बताएको छ ।

सोही विषयलाई लिएर सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुको अगुवाइमा दूतावासअघि कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरिएको छ ।

विरोध प्रदर्शनका क्रममा उनीहरूले गो ब्याक इन्डिया, सीमा मिच्न पाइँदैन, भारतीय विस्तारवाद मुर्दावादलगायतका नारा घन्काएका थिए । सरकारले दूतावासअघि विरोध प्रदर्शनलाई लक्षित गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नयाँ नक्सामा समेट्दै गत आइतबार सार्वजनिम गरेपछि नेपालका धेरै जिल्लामा त्यसको विरोध गर्दै प्रदर्शनहरू भइरहेका छन् ।