चर्चित व्यवसायी रुप ज्योति ठगी आरोपमा पक्राउ

चर्चित व्यवसायी रुप ज्योति ठगी आरोपमा पक्राउ


चर्चित व्यवसायी एवम् पूर्वअर्थ सहायकमन्त्री रुप ज्योतिलाई प्रहरीले पक्राउ गरेको छ । ठगी आरोपका अभियुक्त ज्योतिलाई सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालय र सिआईबीको संयुक्त टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार साँझ पक्राउ गरेको हो ।

हाउजिङका नाममा विभिन्न व्यक्तिबाट लगभग पौने तीन करोड ठगी गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले २०७५ मंसिर २० मा उनलाई पक्राउ गर्न अनुमति दिएको थियो । तर, त्यस फैसलाविरुद्ध सर्वोच्चबाट आदेश पाएर पक्राउ हुनुबाट जोगिँदै आएका उनीविरुद्ध मंगलबार मात्र सर्वोच्चले पक्राउ आदेश जारी गरेको थियो ।

काठमाडौं प्रहरीका प्रवक्ता होबिन्द्र बोगटीले व्यवसायी ज्योति पक्राउ परेको र उनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको जानकारी दिएका छन् ।