प्रधानमन्त्रीको स्वास्थ्य र मुलुकको भाग्य

प्रधानमन्त्रीको स्वास्थ्य र मुलुकको भाग्य


राजनीतिक माहोलका दृष्टिले यतिबेला मुलुक खासै अशान्त छैन । पिलन्धरे प्रतिपक्षीका कारण खल्बली मच्चिनुपर्ने विषय पनि सामान्यजस्तै प्रतीत हुनु एकखालको नियति नै बनिसकेको अवस्था छ । त्यसमाथि दुईतिहाइ भारयुक्त सरकारको चेपाइले असामान्य हलचल हुनुपर्ने विषय पनि त्यत्तिकै खुम्चने गरेका छन् । एउटा पाटो यो भयो । तर, अर्को कोणबाट हेर्दाचाहिँ देश कहालीलाग्दो परिस्थितिबाट गुज्रँदै छ । सामान्य तहबाट महसूस गर्नै नसकिने ढङ्गले राजनीतिक घटना–परिघटनाहरू अङ्कुरित हुँदै छन्, जसको प्रभाव अल्पदेखि दीर्घकालीन रूपले पर्ने सम्भावना दखिँदै छ ।

मुलुकका कार्यकारी प्रमुख नै यतिबेला स्वास्थ्यका हिसाबले संवेदनशील हालतमा छन् । कुनै परिवारका मूल अभिभावक बिरामी भएर थलिँदा सिङ्गै परिवारको दैनन्दिनी खल्बलिन पुग्छ । ओहोदा या जिम्मेवारीका दृष्टिले नेपालरूपी घर–परिवारका प्रमुख अभिभावकको भूमिकामा रहनुभएका प्रधानमन्त्री केपी ओलीको अस्वस्थतालाई यतिबेला यसरी नै हेरिएको छ । मुलुकका मूल अभिभावकको यस असहज अवस्थाले सबैलाई चिन्तित तुल्याएको छ । तथापि, गम्भीर स्वास्थ्यावस्थाका बाबजुद दह्रिलो इच्छाशक्ति प्रस्तुत गर्दै देशप्रतिको दायित्व निर्वाहमा डटिरहेको सन्देश प्रवाहित गर्ने प्रधानमन्त्री ओलीको जुन प्रयत्न प्रदर्शित छ, प्रकारान्तरले यो कदरयोग्य नै छ । लरतरो आत्मविश्वासले यो सम्भव छैन । देशको नेतृत्व गर्ने मूल जिम्मेदारीमा रहेका पात्रमा यसरी आत्मविश्वास झल्किनुलाई सकारात्मक र सुखद नै मानिन्छ । तर, प्रधानमन्त्री ओलीको यही आत्मविश्वास र सक्रियताले अज्ञात अनिष्टको सङ्केत पनि दिइरहेको छ ।

समय–सन्दर्भभन्दा बाहिर गएर सरकारद्वारा धमाधम राजनीतिक निर्णयहरू लिइँदै छन् । दुई दिनअघि अप्रत्यासित ढङ्गबाट सातै प्रदेशका प्रमुखहरूलाई बर्खास्त गरी भोलिपल्टै सत्तारुढ पार्टीसम्बद्ध पात्रहरूलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको सन्दर्भलाई ज्वलन्त उदाहरणको रूपमा लिन सकिन्छ । राज्यका अन्य महत्वपूर्णदेखि सामान्य तहका ओहोदा–स्थानमा पनि ‘अपर्झट’ प्रकृति झल्किने नियुक्तिहरू भएका छन् । नियुक्तिदेखि नीति–रणनीतिसम्ममा सरकारले अस्वाभाविक व्यवहार किन दर्शाइरहेछ ? यो प्रश्नसँगै यतिबेला अन्य यावत् सवालहरू मडारिएका छन् ।

‘देखावटी सक्रियता’ बढाउनु प्रधानमन्त्री ओलीको स्वास्थ्य र राजनीति दुवै दृष्टिले जोखिमपूर्ण हुन सक्छ । आफ्नो स्वास्थ्यावस्थाका कारण आवेगमा आएर प्रधानमन्त्रीबाट गम्भीर निर्णयहरू लिइनु स्वाभाविक हुँदैन, खासगरी मुलुकको भाग्यलाई दूरगामी असर पार्ने सवालमा ।

प्रचण्ड मत हासिल गरी गठन भएको वर्तमान सरकारले अधिनायकवादको पथ अँगाल्न सक्ने अनुमान प्रतिपक्षी नेताहरूले आरम्भमै सार्वजनिक गरेका हुन् । तर, त्यतिबेला गरिएको भविष्यवाणी वस्तुनिष्ठ विश्लेषणमा आधारितभन्दा पनि विपक्षी धारमा उभिएर अन्धाधुन्ध रूपले सत्तापक्षमाथि गरिएको प्रहारको रूपमा बुझिएको थियो । चुनावी हारबाट तिल्मिलाएको दलका नेताहरूको अभिव्यक्तिका रूपमा नै बुझ्ने या बुझाउने चेष्टा गरियो त्यसलाई । तर, सरकारका पछिल्ला गतिविधिलाई अधिनायकवादतर्फको यात्राकै रूपमा बुझ्न–बुझाउन सकिने पर्याप्त आधार देखिएका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या पैदा भएको पछिल्लो परिवेशसँगै सरकारले हतपतमा गरेका अटपटे निर्णयहरू त्यसकै द्योतक हुन् ।

वास्तवमा प्रधानमन्त्री केपी ओलीकोे स्वास्थ्यसँगै मुलुकको ‘राजनीतिक स्वास्थ्य’ पनि जोडिएको छ । एक–दुईवटा आलोच्य सन्दर्भलाई छोडेर प्रधानमन्त्रीको रूपमा केपी ओलीबाट चालिएका कैयन कदमले भावी समृद्ध नेपालको आशा जगाउने चेष्टा गरेकै थिए । सत्तारुढ दलभित्र भए–रहेका थुप्रै नेताका काम–कदम देशहितको सवालमा प्रत्युत्पादक देखिँदै आए पनि ओलीको भाव पृथक् महसुस गरिएको थियो । तर, स्वास्थ्यमा गिरावट आएको पछिल्लो अवस्थासँगै लिइएका ‘राजनीतिक निर्णय’हरूले उहाँको रहलपहल साख गिराउने सम्भावना बढाएको छ ।

केपी ओली हम्मेसी अर्काको लहडमा बहने व्यक्तिको कोटिमा पर्नुहुन्न, तर पछिल्ला केही निर्णयका निम्ति नेपथ्यमा कसैले उहाँलाई उक्साइरहेको त छैन भन्ने जिज्ञासा पैदा गराएको छ । यदि होइन भने पनि जुन खालको ‘ब्याकुलता’ केपी ओलीमा बढेको आकलन गरिँदै छ, स्वास्थ्यको प्रतिकूलताका बाबजुद जुन आत्मविश्वास उहाँमा देखिँदै आएको छ, यो इच्छाशक्ति कतै देश र जनताप्रतिको जिम्मेवारी बोध नभएर सत्ताप्रतिको आसक्ति साबित नभइदेओस् । किनकि, ‘देखावटी सक्रियता’ बढाउनु प्रधानमन्त्री ओलीको स्वास्थ्य र राजनीति दुवै दृष्टिले जोखिमपूर्ण हुन सक्छ । आफ्नो स्वास्थ्यावस्थाका कारण आवेगमा आएर प्रधानमन्त्रीबाट गम्भीर निर्णयहरू लिइनु स्वाभाविक हुँदैन, खासगरी मुलुकको भाग्यलाई दूरगामी असर पार्ने सवालमा ।

अन्त्यमा, ‘समृद्ध मुलुक सुखी नेपाली’को लक्ष्य साकार पार्न उच्च आत्मविश्वासका साथ लागिपरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरौँ ।