नयाँ पार्टीको पुरानो संविधान दिवस !

नयाँ पार्टीको पुरानो संविधान दिवस !


संविधानसभाबाट नयाँ संविधान जारी भई कार्यान्वयनमा ल्याइएको भए पनि नेकपाको काठमाडौं महानगर कमिटी भने २०४७ सालकै संविधानप्रति मोहित रहेको पाइएको छ ।

२०४७ सालको कात्तिक २३ गते संविधान जारी भएको स्मरणमा सो दिनलाई २०६२ सालसम्म संविधान दिवसको रूपमा मनाउने गरिएको थियो । २०६३ को परिवर्तनपश्चात् भुल्दै गएको सो दिनलाई यसपालि नेकपाको काठमाडौं महानगर कमिटीले स्मरण गराएको छ ।

त्यस दिन महानगर कमिटीले काठमाडौंको वसन्तपुर डबलीमा चियापान कार्यक्रम आयोजना गरेको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । नेपाल संवतको नयाँ वर्ष आगमनको अवसरमा शुभकामना आदानप्रदान गर्न चियापान कार्यक्रम गरेको भनिए पनि नयाँ वर्षको शुरु भएको १८ दिनपछि पुरानो संविधान नै पारेर चियापान कार्यक्रम राख्नुलाई रहस्यमयी मानिएको छ ।

दिउँसो १ बजे शुरु हुने भनिएको शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डलगायतका नेताहरूलाई आमन्त्रण गरेको बुझिएको छ ।