एउटाको तन खराब हुँदा अर्कोको मन शान्त !

एउटाको तन खराब हुँदा अर्कोको मन शान्त !


■ देवप्रकाश त्रिपाठी

राजनीतिले सबैका प्रति समभाव राख्छ र राखिनुपर्छ भन्ने आमविश्वास छ । कुनै समय मानव कल्याणका निम्ति मात्र प्रारम्भ भएको राजनीति र राज्यको अवधारणा कालान्तरमा विस्तारित भएर जीवजन्तु, वनस्पति, पर्यावरण र सम्पदासमेतको रक्षा गर्ने गरी व्यापक भएको छ । यसर्थमा राजनीतिले सबैप्रति प्रेमभाव राख्छ र, सबैले राजनीतिप्रति प्रेमसहित आस्था राख्छन् भन्नुपर्ने हो । तर, व्यवहारमा राजनीति यति कठोर, निष्ठुर, निर्दयी र निर्मम भइदिन्छ कि मानवीयताको पर्खालसमेत नाघेका अनेक उदाहरण राजनीतिमा भेटिन्छन् ।

पूर्वीय सभ्यताको संहार गर्ने महाभारत युद्ध राजनीतिक कारणले भएको थियो र लड्नेहरू एकै परिवारका भाइ–भाइ थिए । राम–रावण युद्धको मूल कारण पनि राजनीति नै थियो र त्यो राजा दशरथको परिवारभित्रैबाट शुरु भएको थियो । राजनीतिमा कोही कसैको स्थायी मित्र या स्थायी दुस्मन भन्ने हुँदैन, तर तात्कालिक आवश्यकता र आकाङ्क्षाले राजनीतिकर्मीलाई यति निष्ठुर र निर्दयी बनाइदिन्छ कि उनीहरू राजनीतिक स्वार्थमा वशीभूत हुँदा आफ्नै परिवारका सदस्य, मित्र र आफन्तजनलाई पनि पराया ठान्न सङ्कोच मान्दैनन् । इतिहासमा राजनीतिक कारणले आफ्नाहरूको विनाश गर्न आफन्त नै तयार भएका अनेक दृष्टान्त छन् । अर्काको मृत्युमा प्रसन्नता झल्कने र एउटाले अर्काको मृत्यु कामना गर्ने प्रवृत्तिसमेत राजनीतिमा नै देखापर्ने गर्दछ ।

तीन महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थिति अलिक खराब भयो र, उहाँँ उपचारका लागि सिङ्गापुर जाने हुनुभयो । त्यसबेला केपी र अर्का अध्यक्ष प्रचण्डबीच निकै राम्रो सम्बन्ध स्थापित भएजस्तो देखियो । कुनै हालतमा ईश्वर पोखरेललाई पार्टी स्कुल विभाग सुम्पन्न तयार नभएका प्रचण्ड ओलीको स्वास्थ्यमा खराबी आएसँगै नरम हुनुभयो र ओलीको सहयोगी भूमिकामा देखापर्नुभयो । प्रचण्डका बोलीमा लचकता, उदारता र शालीनता बढेको महसूस पनि त्यतिबेला आमजिज्ञाशुहरूले गरेका हुन् ।

केपीको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि हिजोअस्तिसम्म छटपटिएका प्रचण्ड अचानक ‘शान्त’ हुनुभएको छ । केपीको स्वास्थ्य खराब हुँदा ‘शान्त’ रहने र उहाँको स्वास्थ्य सामान्य रहँदा ‘आठ रेक्टर स्केल’को कम्पन पैदा गर्ने व्यवहार जुन प्रचण्डबाट भइरहेको छ, यसले राजनीति र राजनीतिकर्मीप्रति नकारात्मक धारणा विस्तार गर्न सहयोग पुऱ्याइरहेको छ ।

तर, प्रचण्डको यस्तो शालीनता धेरै दिन टिकेन । स्वास्थ्यलाभ गरेर फर्किएपछि जब ओलीको सक्रियता बढ्न थाल्यो, त्यसपछि प्रचण्डको भावभङ्गिमा बदलियो, उहाँ दिन प्रतिदिन आक्रामक र अराजक देखिन थाल्नुभयो । केपी ओली र सरकारप्रति असन्तुष्ट र आक्रमक बनेको प्रचण्डका अभिव्यक्ति र व्यवहारले देखाउन थाल्यो, यसरी प्रचण्ड ‘चर्किंदा–चर्किंदै’ केही दिनअघि प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यस्थिति अचानक खराब भई अस्पताल भर्ना हुनुपऱ्यो ।

ओली बिरामी परेको र उहाँको स्वास्थ्यस्थिति नाजुक बन्दै गएको खबरसँगै प्रचण्ड पुनः धीर र संयमितजस्तै देखिनुभएको छ । आफ्नो पार्टीको शीर्षस्थ नेता तथा प्रधानमन्त्रीको स्वास्थ्यस्थिति नाजुक भएका कारण प्रचण्डमा चिन्ता बढेको भन्न मिल्दै नमिल्ने गरी उहाँ अचानक शालीन र धीर अवतारमा पदार्पण हुनुभएको छ । औपचारिकताका निम्ति सान्त्वना, सहानुभूति, चिन्ता र समवेदना त जसले जसका प्रति पनि प्रकट गर्न सक्छन् । माओ त्से तुङ मर्दा देङ सियाओ पिङले पनि समवेदना प्रकट गरेका थिए, गिरिजाप्रसाद बिरामी पर्दा सहानुभूति र मरेपछि समवेदना त शेरबहादुर देउवाले पनि दिनुभएकै हो ।

माओ नमरीकन देङले र गिरिजा छइन्जेल देउवाले ‘अवसर’ पाउन सक्ने थिएनन् भन्ने सबैले बुझेको तथ्य हो । तर, चीनमा देङ र नेपालमा देउवाले अभिव्यक्ति या ‘बडिल्याङ्ग्वेज’बाट पनि माओ त्से तुङ र गिरिजाको मृत्यु–कामना गरेको महसूस गरिएन । स्टालिनको मृत्युपछि उनको निर्जीव टाउकोलाई बुटले हानेर सोझो पार्ने निकिता ख्रुस्चेवले पनि स्टालिन बाँचिन्जेल उनको मृत्युमा खुसी हुने सङ्केत कहिल्यै दिएका थिएनन् । तर, केपीको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि हिजोअस्तिसम्म छटपटिएका प्रचण्ड अचानक ‘शान्त’ हुनुभएको छ । केपीको स्वास्थ्य खराब हुँदा ‘शान्त’ रहने र उहाँको स्वास्थ्य सामान्य रहँदा ‘आठ रेक्टर स्केल’को कम्पन पैदा गर्ने व्यवहार जुन प्रचण्डबाट भइरहेको छ, यसले राजनीति र राजनीतिकर्मीप्रति नकारात्मक धारणा विस्तार गर्न सहयोग पुऱ्याइरहेको छ । प्रतिस्पर्धा गर्न या कुस्ती खेल्न पनि सत्रु पक्षलाई स्वस्थ बनाइनुपर्छ भन्ने न्यूनतम शास्त्रीय मान्यता छ ।

प्रचण्ड यतिबेला केपीको ‘निगाह कुर्ने’ या ‘दुर्घटना पर्खने’बाहेक अन्य कुनै सहज विकल्पमा हुनुहुन्न । पार्टी विभाजन एउटा विकल्प हो, तर प्रचण्ड पार्टी विभाजन गराएर राजनीतिक रूपले सुरक्षित हुने स्थितिमा पनि प्रचण्ड हुनुहुन्न । त्यसैले प्रचण्ड केपीको स्वास्थ्य खराब हुँदा ‘शान्त भएर’ खुशी जाहेर गर्दै हुनुहुन्छ भने स्वास्थ्यमा सुधार आउँदा थाम्नै नसकिने गरी उहाँ आक्रामक बन्न थाल्नुहुन्छ ।

कसैको मृत्युमा मात्र आफ्नो सफलता खोज्ने मानिस निर्दयी मात्र होइन कायर पनि हुन् भनेर बुझ्नुपर्ने हुन्छ । हुन त प्रचण्ड त्यस्ता व्यक्ति हुन् जो आफ्नो ज्यान र जिन्दगी अमूल्य र अरूहरूको कौडीबराबर ठान्छन् । त्यसैले तुच्छ राजनीतिक सत्ता प्राप्तिका लागि निर्दोष मानिसका शिर भुइँमा खसाउने ‘बहादुरी’ देखाउन उहाँले सक्नुभएको हो । हिजो उहाँको परिचय समर्थकका दृष्टिमा मुक्तिदाता र विरोधीका दृष्टिमा ‘आतङ्ककारी नाइके’का रूपमा बनेको थियो । पृष्ठभूमि जे भए पनि अहिले प्रचण्ड सत्तारुढ दलको मूख्य नेताको हैसियतमा हुनुहुन्छ । उहाँका सोच, शैली र व्यवहारको आमजनताबाट अनुकरण हुने सम्भावना अधिक रहन्छ ।

आममानिसलाई निर्दयी र निष्ठुर बनाउने या सभ्य र दयावान बनाउने भन्ने कुरा अगुवाहरूको बोली र व्यवहारमा निर्भर गर्दछ । सिरकले छोपेर राखे पनि बिरालोले ‘म्याउँ’ गर्न छोड्दैन भनेझैँ व्यवहार प्रचण्डले नदर्शाइदिएको भए उहाँ यति नराम्रोसँग ‘एक्स्पोज’ हुनुहुने थिएन र, समाजमा पनि राम्रै सन्देश जान सक्थ्यो । हो, सबैलाई ‘घुमाउँदै’ यहाँसम्मको राजनीतिक यात्रा तय गर्नुभएका प्रचण्ड विगत दुई वर्षदेखि केपीको घुमाइमा पर्नुभएको छ भन्ने आमजानकारीको विषय हो । संसदीय निर्वाचन (२०७४) मा प्रचण्ड र शेरबहादुर देउवाबीच चुनावी गठबन्धन हुने सम्भावनाको बाटो छेक्न केपीको अग्रसरतामा एमाले र माओवादीबीच चुनावी गठबधन भएको थियो । आफ्नो विजय सुनिश्चित गर्नका लागि देउवा र प्रचण्डबीचको सम्भावित गठबन्धनलाई रोक्न जरुरी थियो, केपीले त्यही गर्नुभयो । प्रचण्डलाई बाहिर राखेर जाँदा आफ्नो सरकारको आयु अनिश्चित हुने देखिएपछि केपीकै इच्छा र योजनाअनुसार एमाले–माओवादी एकीकरण भएको हो ।

प्रचण्डमा पटकपटक उत्पन्न छटपटीले डेढ वर्षअघि केपीको निर्णय आफ्नै हितका निम्ति सही भएको पुष्टि गरेको छ । प्रचण्ड यतिबेला केपीको ‘निगाह कुर्ने’ या ‘दुर्घटना पर्खने’बाहेक अन्य कुनै सहज विकल्पमा हुनुहुन्न । पार्टी विभाजन एउटा विकल्प हो, तर प्रचण्ड पार्टी विभाजन गराएर राजनीतिक रूपले सुरक्षित हुने स्थितिमा पनि प्रचण्ड हुनुहुन्न । त्यसैले प्रचण्ड केपीको स्वास्थ्य खराब हुँदा ‘शान्त भएर’ खुशी जाहेर गर्दै हुनुहुन्छ भने स्वास्थ्यमा सुधार आउँदा थाम्नै नसकिने गरी उहाँ आक्रामक बन्न थाल्नुहुन्छ । एउटा अगुवा नेताको यस्तो व्यवहारले मुलुकमा अत्यन्त गलत सन्देश प्रवाह भइरहेको छ । राजनीति र राजनीतिकर्मी संवेदनहीन हुन्छन् भन्ने सन्देश दिएर प्रचण्डले नेपाली समाजलाई थप अराजक बनाउन दुरुत्साहित गर्दै हुनुहुन्छ, कतै आफ्नो व्यवहार र अभिव्यक्तिमा सुधारको गुञ्जाइस छ भने प्रचण्डबाट आफूलाई परिमार्जन गर्ने कार्य होस्, शुभकामना ।