कर्मचारीको चपेटामा वायुसेवा निगम

कर्मचारीको चपेटामा वायुसेवा निगम


■ सनत आचार्य

करिब पन्ध्र वर्षपछि गत साता नेपालको ध्वजाबाहक हवाईजहाजमा अन्तर्राष्ट्रिय उडान गर्ने अवसर मिल्यो । पन्ध्र वर्षअगाडिको मेरो उडान दिल्ली–काठमाडौंको थियो भने यसपटकको काठमाडौं–दुबई–बेल्जियम ।

जब मेरो युरोप यात्रा तय भयो, मसँग उड्नका लागि दुई विकल्प थिए । एउटा स्वदेशी ध्वजाबाहक वायुसेवा र अर्को विदेशी । मेरो छनोटमा आफ्नै देशको ध्वजाबाहक पऱ्यो । सोहीअनुसार अक्टोबर २६ तारिखको उडान नं. आरए २९९ र समय बेलुकीको १०ः३५ थियो ।

म करिब ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेँ । आफ्नै देशको चर्चित ध्वजाबाहक जहाजमा यात्रा गर्न पाउँदा एकातर्फ अत्यन्त खुशी थिएँ भने अर्कोतर्फ कता–कता चिन्तित पनि थिएँ । मनभित्र थुप्रै सकारात्मक–नकारात्मक प्रश्न र भाव बोकेर म काउन्टरनजिक पुगेँ । अघिपछि लामो लाइनमा बस्नुपरेको मेरो अनुभवले यसपटक भने खासै लाइन बस्नु नपर्ने अवस्था थियो । काउन्टरअगाडि हामी चार–पाँचजना यात्रु मात्र थियौँ । त्यसमध्ये म सुकिलोमुकिलोजस्तो देखिने भएर होला, लोडरले पहिले नै ‘सामान यता राखौँ सर’ भनेर मलाई इङ्गित गरे । मैले सामानको तौल गरेँ । बोर्डिङ पास लिएँ अनि भऱ्याङ चढ्दै अध्यागमनतर्फ लागेँ ।

जब म अध्यागमन पुगेँ, त्यहाँ तीनवटा काउन्टर थिए । बायाँतर्फ वैदेशिक रोजगारीका लागि जानेहरूको, दायाँतर्फ विदेशी आगन्तुक र बीचमा भ्रमण तथा अध्ययनका लागि प्रस्थान गर्न लागेकाहरूको । मेरोचाहिँ ‘भ्रमण’ रहेकोले बीचको काउन्टरमा उभिएँ । बायाँतर्फको काउन्टर भिडभाडपूर्ण थियो । ८–१० जना महिलासहित थुप्रै नेपाली युवा उक्त काउन्टरअगाडि लामबद्ध थिए । दायाँतर्फ पनि अलिक भिड नै थियो । हाम्रो मध्यभागको काउन्टरतर्फ भने १५–१६ जना जति थियौँ । दायाँबायाँका यात्रुहरू गइसकेपछि मात्र हाम्रो काउन्टर खाली देखियो । अन्य काउन्टरभन्दा यस काउन्टरको प्रक्रिया पूरा गर्न अलिक समय लाग्यो ।

त्यसपछि म अन्तिम सुरक्षा जाँचको घेरा पार गर्दै भित्रका यात्रुहरू प्रतीक्षा गर्ने स्थानतर्फ लागेँ । बाहिर थोरै मानिस देखेको म भित्र पुग्दा भने मानव–भिड देखेर केहीबेर आत्तिएँ पनि । भित्रका सम्पूर्ण मेचहरू खचाखच भरिएका थिए । कुनै पनि मेच खाली थिएनन् । केही यात्रु बाटोमै लम्पसार परेर बसिरहेका थिए । म भने कुन बेला कुन मेच खाली होला भनेर यताउता गर्दै थिएँ । जहाज विवादित भए तापनि ममा प्रसन्नता र खुशी थियो । जहाजमा पोतिएको नेपाली झण्डा र लेखिएको ‘मकालु’ अक्षरले म झनै खुशी भएँ । जहाजहरूको भिडमा रहेको त्यो जहाज अन्य जहाजभन्दा मेरा लागि विशेष थियो । मेरा नजरले जहाजलाई पूरै नियाल्दा पनि थकाइको महसुस गरेनन् ।

वायुसेवा निगम कर्मचारी वा सरकारको मात्र नभई यो जनताको पनि हो । यसमा जनताको लगानी पनि छ । राज्य र जनताको लगानी उठ्नका लागि यसको सेवा र सुरक्षा प्रभावकारी हुन जरुरी छ ।

आफ्नो अन्तिम तयारीपछि करिब ११ बजे राति जहाजले गन्तव्यतर्फ उडान भऱ्यो । त्यसको केहीबेरमा उडान सदस्यहरूले रात्रिकालीन भोजन लिएर आए । सामान्य भोक भएकोले अगाडिको ट्रेलाई टेबुल बनाएर खाना लिन तयार भएँ । खानामा रङ लगाएको मोटो चामल, ३–४ टुक्रा कुखुराको मासु, सजाएर राखेको दही, ठूलो सेतो चना र सिमीका टुक्राहरू, सानो कपमा पानी र चियाको लागि खाली एउटा कप । यी सबै ट्रेमा राखिएको थियो ।

यसरी दुई सय ३६ यात्रु र आठजना उडान दलका सदस्यहरू रहेको जहाज आकाशमा उड्दा मेरा आँखाले केही विदेशी यात्रुहरू खोजिरहेको थियो । नगन्य मात्रामा रहेका विदेशी यात्रुसहितको त्यो जहाजमा मेरो एउटा प्रश्नले अझै पनि मलाई सन्तोष तुल्याउन सकेको छैन । आखिर नेपाली ध्वजाबाहकले विदेशी यात्रुलाई आकर्षित गर्न किन नसकेको होला ?

यसका थुप्रै कारण हुन सक्छन् । त्यसमध्येको एक कारण अतिथि सत्कार पनि हो भन्ने मेरो ठम्याइ छ ।

कुनै पनि वस्तु तथा सेवाको खरिदबाट मानिस सन्तुष्टि चाहन्छ । यदि ऊ वस्तु वा सेवाको उपभोगबाट सन्तुष्ट भएन भने ऊ विकल्प खोज्छ । वायुसेवाहरूले पनि यात्रुहरूलाई सन्तुष्टि दिन सक्नुपर्छ । यसको शुरुवात ‘चेक इन काउन्टर’बाट हुन्छ । काउन्टरमा बस्ने कर्मचारीको बोली, भाषा र व्यवहार नम्र र सभ्य हुनुपर्छ । सबै यात्रु वर्गलाई मुस्कानसहित स्वागत गर्नुपछै, ता कि सेवाबाट ऊ गौरवान्वित होस् । निगममा कार्यरत कर्मचारीले पनि म जागिरको लागि यहाँ छु भन्ने सोच्नुभन्दा ‘म सेवाका लागि यहाँ छु’ भन्ने सोचाइ राख्नुपर्छ ।

त्यस्तै ग्राउन्डमा बस्ने कर्मचारीभन्दा अझ बढी दायित्व विमान परिचारिकाहरूको हुन्छ । उनीहरू उडान समयभरि नै यात्रुहरूसँग रहने भएकोले यात्रुलाई पूर्ण रूपले सन्तुष्ट बनाउन आवश्यक रहन्छ ।
खानापश्चात् करिब ४० मिनेटसम्म टे« उठाइएन । मैले थप पानीका लागि घन्टी बजाएँ, घन्टी बजाएको करिब १२ मिनेटपछि मात्र मलाई सोधनी भयो । पानी आयो, तर बोलाएको सङ्केत दिने बत्ती बुझाइएन ।

गजबको कुरा त के भने यात्रुलाई खुवाएर बचाएको तरल पदार्थ ट्वाइलेटमा फालिँदो रहेछ । परिचारिकामध्येकी वरिष्ठ हुनुपर्छ, उहाँले आधा बोतल फेन्टा ट्वाइलेटमा फाल्नुभयो । मलाई आश्चर्य लाग्यो, यो किन फालिन्छ ?

फेरि त्यसको केही बेरपछि अर्की परिचारिकाले पनि पानी र पेयपदार्थ बायाँतर्फको ट्वाइलेटमै फालिन् । तातोपानी उमाल्ने भाँडोमा चाहिने पानी पनि ट्वाइलेटमा फालिन् । मलाई आश्चर्य लाग्यो, म त तुरुन्त सिटबाट उठेर ट्वाइलेट गएँ र हेरेँ– फालिएका फन्टाका केही थोपा कमोडको डिलडिलमा पोखिएको थियो । त्यति मात्र कहाँ हो र जब जहाजले दुबई विमानस्थलको धावनमार्ग छोयो, तब एउटा पानीको बोतल जहाजमा लगाइएको ब्रेकसँगै पछिल्तिरबाट रकेटझँं हुत्तिँदै अगाडि पुग्यो ।

वायुसेवा निगम कर्मचारी वा सरकारको मात्र नभई यो जनताको पनि हो । यसमा जनताको लगानी पनि छ । राज्य र जनताको लगानी उठ्नका लागि यसको सेवा र सुरक्षा प्रभावकारी हुन जरुरी छ । कर्मचारीको सोच र प्रवृत्तिले निगम विगतमा पनि डुबेकै हो, अझ डुब्ने सम्भावना धेरै छ । तसर्थ, सोच, व्यवहार र प्रवृत्ति परिवर्तन गर्नु र गराउनु अहिले निगमलाई आवश्यक देखिन्छ ।