‘दया’माथि निर्दयी प्रचार !

‘दया’माथि निर्दयी प्रचार !


■ राजन घिमिरे

दयाहाङ राईले सयौँपटक आग्रह गरे– ‘म भ्याउँदिनँ यार, समय नै छैन । अर्को फिल्मसँग समय जुध्छ, पहिला समय भएको बेला त खेलेकै हो नि…। प्लिज मेरो नाम नराख्नु ।’

उनको यो आग्रह र परिस्थितिजन्य यथार्थलाई चलचित्र ‘लप्पन छप्पन–२’ को निर्माण टिमले हलुका रूपमा लियो, र मिडियामा दयाहाङ राईको अभिनय भनेर चर्चा गरियो । त्यति मात्र होइन कि चलचित्र वितरकहरूबाट रकम पनि उठाइयो ।

निर्माताहरूले नेपालमै दयाहाङसँग फेरि बिन्तीभाउ गरे– ‘तपाईं त जसरी पनि सिड्नी जानुपर्छ । फिल्म खेल्नैपर्छ । नत्र हामी डुब्छौँ..।’ तर यसपटक पनि दयाले ‘म धोका दिन्नँ । आज खेल्छु भनेर भोलि काम नगर्ने मेरो नैतिकतामा पर्ने कुरा पनि होइन । मेरो नियतले यस्तो गर्नै दिँदैन । म फेरि पनि भन्छु कि काम गर्न भ्याउँदिन यार !’

वास्तविकता जे थियो, यसरी उजागर गरे नायक दयाले ।

तर, यतिबेला सिड्नीमा छायाकन भैरहेको चलचित्र लप्पन छप्पन–२ को युनिटले सिड्नीबाट नेपालमा खबर पुऱ्याए– ‘लप्पन छप्पन–२ बाट दयाहाङ राई निकालिए ।’

रंगमञ्चबाट दुःख गर्दै सिनेमाको पर्दामा खास पहिचान बनाएका कलाकारको बारेमा इगोमा आएर ‘निकालिए’ भन्ने हल्ला चलाइदिँदा उसको करियरमा कति असर पर्छ भन्ने कुराको हेक्का नै राखेनन् फिल्म यूनिटले ।

‘मैले कहिले पो यो फिल्म खेल्छु भनेको थिएँ र मलाई निकाल्नलाई ? गलत हल्ला फैलाउनेलाई धन्यवाद नै छ’– दयाले भने । आफ्ना बारेमा गलत हल्ला फैलाउनेविरुद्ध दया खासै बोल्न चाहँदैनन् । उनि त्यत्ति वादविवादमा उत्रने कलाकार पनि होइनन् । नाम जस्तै आफ्नो काम र ब्यवहारप्रति निकै दयालु छन उनी ।

‘भ्याउँदिनँ…खेल्दिनँ’ भन्दाभन्दै पनि विनाकारण आफ्नो नाम जोडेर हल्ला पिटाएकोमा भने दयाको चित्त दुखेको छ । उनले भने– ‘भोलि म कामै नलाग्ने जस्तो पो गरियो मलाई । खेल्छु भनेर कतै केही भनेकै छैन, त्यसै निकालिए रे ! कहाँसम्मको न्याय हो यो ?’ दुःखमिश्रित प्रतिप्रश्न छ उनको ।