त्यसबेला माओवादीको सहयोग सबैले लिएका थिए : मोहन कार्की

त्यसबेला माओवादीको सहयोग सबैले लिएका थिए : मोहन कार्की


वि.सं. २०१६ साल साउन ३ गते धादिङको साबिक साँखु, चैनपुर हालको नीलकण्ठ नगरपालिका–३ मा जन्मनुभएका मोहन कार्कीले राजनीतिशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएको छ । २०३४ सालमा विद्यार्थी फाँटबाट राजनीतिमा प्रवेश गर्नुभएको उहाँले दश महिना काराबास र पटक–पटक गरी दश महिना प्रहरी हिरासतको यातना भोग्नुपरेको थियो । दश वर्ष भूमिगतजीवन बिताउनुभएका कार्की २०४५ देखि नै पार्टीको पूर्णकालिक कार्यकर्ता बन्नुभएको थियो ।

० कुन उद्देश्यले कम्युनिस्ट आन्दोलनमा सहभागी हुनुभएको थियो, के प्राप्त गरियो जस्तो लागेको छ ?
– देशको सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा आमूल परिवर्तन हुने विश्वासका साथ सोही उद्देश्यप्राप्तिका लागि कम्युनिस्ट आन्दोलनमा लागेको हुँ । केही पनि भएन भन्दा गणतन्त्रसम्म ल्याइयो । हामीले खोजेकोचाहिँ जनवादी गणतन्त्र हो । अहिले त गणतन्त्रको नाममा भाँडतन्त्र ल्याएजस्तो भएको छ । यस्तो अवस्था–व्यवस्था आउला भन्ने मैले सोचेको थिइनँ । परिवर्तन गरिन्छ र परिवर्तनले नेपाल र नेपाली जनताको आत्मसम्मानसहितको सुखी एवम् समृद्ध भविष्य सुनिश्चित गरिन्छ भन्ने विश्वासमा म क्रियाशील भएको हुँ ।

० तर, जनताले कम्युनिस्ट राजमा झन् बढी दुःख पाए भन्ने ठान्नुभएको छ कि छैन ?
– सिद्धान्त त त्यस्तो थिएन, व्यवहारले त्यस्तै देखायो । गणतन्त्र भनिए पनि नेतृत्वको सोच–व्यवहार पूरै सामन्तवादी नै देखियो ।

० कम्युनिस्ट आन्दोलन विकृत हुनुको कारण के होला ?
–आर्थिक र सांस्कृतिक विचलनले यस्तो बनायो । नेतृत्वमा आत्मकेन्द्रित र व्यक्तिवादी प्रवृत्ति देखियो, स्वाधीन र सर्वहितकारी सोच पाइएन । नेतृत्वलाई सामन्तवादी सोचबाट मुक्त गर्न नै सकिएन ।

० कम्युनिस्ट आन्दोलनका गद्दारहरूको नाम लिनुपऱ्यो भने क–कसको लिनुहुन्छ ?
– नामै लिएर त नभनौँ, आदर्शबाट विचलित भएका सबै गद्दार हुन् । केशरजंग रायमाझीदेखि मनमोहन अधिकारीदेखि अहिलेसम्मका नेतृत्वले गद्दारी गर्दै आएको कुरा मैले नमाने पनि सबैले त्यही मान्छन् । बडो लाजमर्दो अवस्थामा पु¥याए कम्युनिस्ट आन्दोलनलाई !

० हिंसात्मक युद्धकालमा तपाईं विभिन्न दलका नेता र अन्य शक्तिकेन्द्रसँग सम्पर्क र संवादमा हुनुहुन्थ्यो, माओवादीबाट क–कसले कस्तो प्रकारको सहयोग लिएका थिए ?
– माओवादीको सहयोग नलिने कोही पनि भएनन्, सबैले सहयोग लिएका थिए । दरबारले पनि आफ्नो रक्षाका लागि माओवादीसँग सहयोगको सम्बन्ध राखेको र माओवादीले पनि आत्मरक्षाका निम्ति दरबारसँग सम्बन्ध बनाएकै हो । गोरखपुरमा माओवादीसँग बनेको सहमतिअनुसार नै एमालेले त्यसबेला ५६ दिनसम्म संसद् अवरुद्ध गरेको थियो । शेरबहादुर देउवाले पनि सत्तामा पुग्नका लागि माओवादीकै सहयोग लिएका थिए । सूर्यबहादुर थापाका छोरा सुनिल र नाति सिद्धार्थ थापासँग माओवादीको राम्रो सम्पर्क थियो । कीर्तिनिधि विष्ट, राजेश्वर देवकोटा, रमेशनाथ पाण्डेलगायतसँग माओवादीले सम्पर्क बढाएको थियो । शेरबहादुर देउवा, प्रदीप गिरी, दुर्गा सुवेदी र खुमबहादुर खड्कासँग पनि राम्रो सम्पर्क र सम्बन्ध बनाइएको थियो ।

० एकातिर राजा वीरेन्द्रसँग गठबन्धन गर्ने, अर्कोतिर त्यसताक संसद्वादी भनिने दलका नेताहरूसँग पनि सम्बन्ध राख्ने, दोहोरो भूमिकाचाहिँ किन नि ?
– छिट्टो सत्ता प्राप्त गर्ने र युद्ध टुङ्ग्याउने इच्छा माओवादी नेतृत्वले राखेको थियो । राजासँग मिलेर दलहरूलाई निषेध गर्दै सत्तामा जाने या दलहरूसँग मिलेर राजालाई निषेध गर्दै सत्तामा पुग्ने भन्ने खेल एकसाथ चलिरहेको थियो । अन्ततः दरबार बाहिरिने गरी खेल अघि बढेको हो ।

० त्यसपछि क्रान्तिको बाँधी भाग पूरा गर्न विप्लवतिर लाग्नुभएको हो ?
– हो, विप्लवको नेतृत्वमा अपूरो क्रान्तिले पूर्णता प्राप्त गर्ने विश्वास मलाई थियो । तर, कार्यनीति अन्यत्रै मोडियो । विप्लवलाई कार्यदिशा मुताबिक कार्यनीति निर्माण गर्न पटकपटक आग्रह गरेको थिएँ तर यहाँ फौजी र छापामार गतिविधिमा नै उद्यत् रहेकोले मैले गत वर्षको केन्द्रीय कमिटीको बैठकमा नै असहमति जनाएको हुँ । तर, अहिलेसम्म मेराबारेमा के भएको छ जानकारी गराइएको छैन । हल्लाअनुसार आत्मसमर्पणकारी भनिएको छ रे, यो उनको गम्भीर दृष्टिभ्रम हो । कुनै बेला पार्टी नराम्रोसँग खाडीमा फसेपछि समीक्षा गर्लान् । उनको यस्तो निर्णयबाट म आफू स्वतन्त्र हुन पुगेको जानकारी सबैलाई गराउन चाहन्छु ।

हुर्नुहोस् अन्तर्वार्ताको भिडियो-