बोक्सी भन्दै ससुराले डाम्न खोजेपछि…

बोक्सी भन्दै ससुराले डाम्न खोजेपछि…


पाँचथरको याङ्वरक गाउँपालिका–२, फलैँचामा एक महिलालाई आफ्नै ससुराले बोक्सी भन्दै डाम्न खोजेका छन् ।

हिलिहाङ गाउँपालिका–३, कुर्लुम्बा माइतीघर भएकी पूजा भारतीले आफूलाई ससुरा कान्तप्रसाद गिरीले बोक्सी भन्दै यातना दिएको बताएकी छिन् । ससुराले छिमेकी महेन्द्रप्रसाद पौडेलसँग मिलेर निर्घात कुटपिट गर्नुका साथै फलाम तताएर डाम्न खोजेको उनले बताइन् । कुटपिटपछि ससुराले डाम्नलाई फलाम तताउँदै गर्दा महेन्द्रले समाइरहेको अवस्थामा आफू फुत्किएर भाग्न सफल भएको पूजाले बताइन् ।

पूजा भागेर अहिले माइतीको शरणमा पुगेको राससले जनाएको छ गत भदौ ३१ गते राति कान्तप्रसाद र महेन्द्रप्रसादले आफूलाई बोक्सी भन्दै निर्घात कुटपिटसमेत गरेको पूजाको भनाइ छ । सोही रात आफूमाथि भएको जघन्य अपराधविरुद्ध नजिकैको प्रहरी चौकीमा ठाडो उजुरी दिएको उनले बताइन् । यद्यपि पीडकहरूलाई तत्काल पक्राउ गरेर कारबाही गर्न प्रहरी अग्रसर नभएको पीडितको गुनासो छ । प्रहरीले निकै समय गुज्रेपछि जाहेरीबिना कारबाही गर्न नमिल्ने भनेपछि असोज २७ मा जाहेरी गरे पनि प्रहरीले पीडकलाई अझै पक्राउ नगरेको पीडित पूजाको भनाइ छ । उक्त घटनापछि कान्तप्रसाद र महेन्द्रप्रसाद हाल फरार रहेको पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए । कान्तप्रसादले धामीको काम गर्ने गरेको जनाइएको छ ।

‘मेरो छोरो खान लागिस्, घटेर मर्न लाग्यो’ भन्दै ससुराले यातना दिएको पीडित पुजाको भनाइ छ । सासूबाट समेत बोक्सीकै लाञ्छना पाउँदै लामो समयदेखि मानसिक यातना पाएको उनले पीडा पोखिन् । बाबुआमाकै कुरा सुन्ने गरेका श्रीमान तेजप्रसादबाट पनि आफू अपहेलित भएको पूजाले सुनाइन् । फरार आरोपितहरूको खोजी भइरहेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।