मन्त्री ज्ञवालीको ‘बिदाइ भोज’

मन्त्री ज्ञवालीको ‘बिदाइ भोज’


प्रस्तुतिमा अब्बल मानिए पनि कार्यक्षमताका दृष्टिले कमजोर र अयोग्य ठहर हुन पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रालयको जिम्मेवारीबाट मुक्त हुने सङ्केत दिएका छन् । एक साताभित्र लगातार दुई विशेष कार्यक्रमको आयोजना गरेर उनले अघोषित रूपमा बिदा मागेका छन् ।

गत शनिबार गोदावरीस्थित रिसोर्टमा परराष्ट्र मन्त्रालयका कर्मचारीहरूलाई भेला गरेर भोज खुवाउँदै ज्ञवालीले आफूबाट भएका कामको बेलिविस्तार लगाएर कर्मचारीहरूबाट भएको सहयोगका लागि धन्यवाद दिएको र भविष्यमा पनि सहयोग प्राप्त भइरहने अपेक्षा राखेका थिए । यसरी कर्मचारीहरूलाई भोज खुवाएलगत्तै गत सोमबार (कात्तिक १८) केही पत्रकारहरूलाई राजधानीको मेरिएट होटेलमा भेला गरी ज्ञवालीले भोज खुवाएका थिए । त्यस अवसरमा ज्ञवालीले आफूबाट राम्रो कामहरू भएको दाबी गर्दै परराष्ट्रमन्त्री बनेपछि आफूले जानेका जति सबै कुराहरू पत्रकारसमक्ष प्रकट गरेका थिए ।

आफ्नो कार्यकालमा छिमेकी तथा अन्य मित्रराष्ट्रहरूसँगको सम्बन्ध पहिलेको भन्दा मजबुत भएको दाबी गर्दै ज्ञवालीले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण गराउन सक्नुलाई आफ्नो महान् उपलब्धिका रूपमा चर्चा गरेका थिए । ज्ञवालीका कुरालाई केही कनिष्ट पत्रकारहरूले रमाइलो मानेर सुने पनि जानकार पत्रकारहरूले भने उनका कुराबाट लज्जाबोध गरेका थिए । ज्ञवालीले यो सिङ्गै पृथ्वी आफैँले घुमाएको सोझै दाबी नगरे पनि उनको आशय करिब त्यस्तै थियो ।

जे होस्, यसरी आफूमातहतका कर्मचारी र पत्रकारहरूलाई अलग–अलग भेला गरी अघोषित बिदाइ भोज खुवाउनुले परराष्ट्रबाट उनी जिम्मेवारीमुक्त हुँदै गरेको सङ्केत दिएको छ । कुनै बेला दक्षिणको खास मानिसका रूपमा चिनिने ज्ञवालीले गत वर्ष अमेरिका भ्रमण गरी इन्डो–प्यासिफिक स्ट्राटिजीमा सहमति जनाउने स्पष्ट सङ्केत दिएपछि उनी पार्टीभित्र विवाद र आशङ्काको भुमरीमा परेका थिए ।

ज्ञवालीको कार्यकालमा नेपालको परराष्ट्रनीति सर्वाधिक असन्तुलित र फितलो बन्न पुगेको छ । स्वयम् प्रधानमन्त्री केपी शर्मा ओली पनि ज्ञवालीको काम र शैलीबाट पूर्ण असन्तुष्ट हुनुहुन्छ । मन्त्रिमण्डलको बैठकमा ज्ञवालीले प्रस्तुत गरेको कागजी प्रस्तावलाई प्रधानमन्त्रीले रिसाउँदै उनी भएतिर फालिदिएको दृश्य पनि देखिएको थियो । अमेरिकाबाट फर्किएपछि पार्टीको उच्च तहको बैठकमा इन्डो–प्यासिफिक स्ट्राटिजीमा सहमत हुनुपर्ने तर्क प्रस्तुत गर्दा नेताहरूले ज्ञवालीको चर्को आलोचना गरेका थिए । विभिन्न कारणवश मन्त्रिमण्डल पुनर्गठनको मिति सर्दै गएका कारणले मात्र प्रदीपको कार्यकाल लम्बिएको मानिन्छ । पुनर्गठनपश्चात् कदाचित मन्त्री बनाइए पनि परराष्ट्र मन्त्रालयको जिम्मेवारीबाट चाहिँ उनलाई मुक्त गरिने निश्चित भएको प्रधानमन्त्रीनिकटको सूत्रले जनाएको छ ।