तेह्र करोड राजश्व छलीमा चिनियाँ नागरिकविरुद्ध मुद्दा

तेह्र करोड राजश्व छलीमा चिनियाँ नागरिकविरुद्ध मुद्दा


एक कन्सट्रक्शन इन्जिनीयर कम्पनीका सञ्चालकविरुद्ध तेह्र करोड राजश्व छली गरेको आरोपमा मुद्दा चलाइएको छ । राजश्व अनुसन्धान विभाग ललितपुरले झुट्टा तथा नक्कली बीजक प्रयोग गरी राजश्व छली गरेको भन्दै नेपाल दोङ्गहवा कन्सट्रक्शन इन्जिनीयरिङ कम्पनीका सञ्चालकहरु याङ लिन, शे श्याङ जुन, वे देगुइ र सुविन श्रेष्ठविरुद्ध आज (१९ कात्तिक) काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

घटनाका आरोपी तीन जना चिनियाँ नागरिक हुन् ।

राजश्व चुहावट गरेको अभियोगमा १३ करोड १३ लाख ११ हजार बिगो कायम गरी बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैदको मागदाबी लिई मुद्दा दर्ता गरिएको विभागले जनाएको छ । विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार उनीहरु अहिले प्रहरी हिरासतमा छन् ।

उक्त कम्पनीले वस्तु तथा सेवा खरीद नै नगरी झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बीजक मात्र खरीद गरी राजश्व चुहावटमा संलग्न रहेको अनुसन्धानमा देखिएको विभागको भनाई छ ।

उक्त कम्पनीविरुद्ध राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार मूल्य अभिवृद्धि करतर्फ चार करोड २१ लाख, आयकरतर्फ सात करोड ७७ लाख र भएको आय लुकाई मुनाफा वितरण गर्दा लाग्ने लाभांश करतर्फ रु एक करोड १४ लाख राजश्व चुहावट गरेको विभागले दाबी गरेको छ । उनीहरुविरुद्ध विभागले गत आठ महिनादेखि अनुसन्धान गरिरहेको थियो ।