सञ्जय दत्तसँग किन दाँजिए ‘युवराज’ पारस ?

पारस, प्रकाश र सञ्जय दत्त



■ सोमविक्रम सिंह

कर्मनिष्ठ अभियान लिएर काठमाडौंबाट कुरिनटार हुँदै मनकामना दर्शन, गोरखा तथा लमजुङको कार्यक्रम सिध्याउँदै पोखरा पुगियो । पोखरामा कार्यक्रम सीमित थियो, तर युवराज पारसलाई पोखराको मनमोहक तथा आकर्षक दृश्य तथा सुन्दरताले अति मोहित पार्छ । फलतः ‘केही दिन छुट्टी अब’ भन्दै पोखराको आनन्दमा भुल्न थाले । हामी पनि अभियानलाई थाती राखी साँच्चिकै छुट्टी मनाउने तरखरमा लाग्यौँ । कोही काठमाडौं फर्के, कोही कता लागे भने म र विनय गौतम भाइ लेकसाइडको दिनचर्याले मात्र हद्दु हुन थाल्यौँ । सञ्जय दत्तको बायोपिकमा सञ्जु भन्ने हिन्दी सिनेमा रिलिज भएकोले हेर्न जाने र पारस सरकारलाई पनि साथमा लाने निधो गऱ्यौं । मैले ‘सरकार, सञ्जु लागेको रहेछ, हेर्न जाऊँ’ भनी प्रस्ताव राखेँ । ‘के हेर्छौ सञ्जु.. मलाई हेरे पुग्दैन ?’ भन्ने उत्तर नै गम्भीरखाले थियो । हुन पनि हामी टिनएज हुँदा युवराज पारसलाई सञ्जय दत्त भन्ने गथ्यौँ । अर्को डिट्टो सञ्जय दत्तजस्तो परम् मित्र तथा भाइ दिवंगत आईजीसाहेव रत्नशमशेर जबराको छोरा विनयशमशेर थिए । विनयको क्यारेक्टरमा झझल्को आउँथ्यो, उनको गेटअप, हिँडाइ र कपालले गर्दा सञ्जय दत्तजस्तै लाग्थ्यो । बितेको बाल्यकालको सम्झना कहिले नमेटिने गरी ताजै छोडेर विनय अस्ताइसके । हामी सञ्जु हेर्न गयौँ, विनय गौतमले दाइ न्याप्किन राखौँ है धेरै रुवाउँछ भन्दा भावुक मान्छे मैले पनि न्याप्किन राखेँ । सञ्जु हेर्दा म धेरैचोटि हिक्क–हिक्क गर्दै रोएँ, विनय भाइ पनि रोइरहेको आभास पाएको थिएँ ।

सञ्जय दत्त र युवराज पारसको भावुकता नै दुवै व्यक्तिका लागि घातक भयो । दुवै बच्चादेखि नै आमा–बुबाबाट टाढा रही होस्टेलमा बस्नु बच्चाको कलिलो मानसिकताले परिस्थितिलाई लिन नसक्नु हो । कलिलो मानसिकता, चञ्चले व्यवहार, उरन्ठेउले दिमाग, निर्दोष व्यवहारले गर्दा अरूले दह्रिलो फाइदा उठाए । साथीभाइको सङ्गतले पनि सञ्जय दत्तले आफू बिग्रेको भनी स्वीकार गरे । बुढानीलकण्ठ स्कुलमा युवराज पारसले गरेको उरन्ठ्याउले क्रियाकलापले टिचर र दरबार आजित भएका थिए भन्छन् । उनले मान्छेको आचीझैँ देखिने खेल्नेकुरा ल्याएर क्लास टिचरको कुर्सीमा राखिदएको र स्कुलमा मानिसको आची सम्झी हङ्गामा भई दोषको भागीदारचाहिँ मिल्ने साथी भएछ । चक्लेटी टाइपको हिरो, अर्को लजालु र बोल्दा मुन्टो तल राख्ने र मिल्ने साथीहरूको लागि दिलोज्यान दिन तत्पर र हँसिमजाक टाइपका भएका कारण स्कुलेजीवनमा साथीभाइले उनलाई औधी मन पराउँथे । उनी राजपरिवारसँग मात्रै नगाँसिएको भए कुनै राम्रै फिल्म इन्डस्ट्रीमा हिरो भएर जम्ने खाले व्यक्तित्व ।

सञ्जय जेलयापनपछिको जीवनलाई नयाँ जीवन भन्न रुचाउँछन् । जहाँ उनको लगाव धर्मप्रति भयो, आमा मुस्लिम भए तापनि उनी वैदिक सनातन धर्मप्रति लगाव राख्न थाले । ऋग्वेद, यजुर्वेद, महाभारत, रामायण, शिव पुराण, गणेश पुराण अध्ययन गर्न भ्याए भने आफूलाई फिट राख्न व्यायाम तथा योग गर्थे । जेलजीवनमा रहँदा उनले सच्चा साथीभाइको स्मरण गरे, आफ्नो बुबा र आमाप्रति उनको माया, सम्मान बढेर आयो । बुबा सुनील दत्त, आमा नरगिस, बहिनी, साथी कमली अथवा परेश घलानी र श्रीमतीले आफ्नो सङ्घर्षमय जीवनमा साथ दिएको भूमिकालाई स्मरण गर्दै भावुक बन्थे । यस्तै युवराज पारस बैंककमा ११ दिनको कोमामा परेको दिनलाई स्मरण गर्छन् । कोमामा हुँदा उनले आफ्ना बुबा याने कि राजा महेन्द्र, ठूलोबुबा याने कि राजा वीरेन्द्र र अन्य दिवङ्गत शाही परिवारलाई भेटेको बताउँछन् । उनीहरू आनन्दमय र रमणीय फूलैफूलको बगैँचामा सुखमय जीवन व्यतीत गरिरहेको र आफूले पच्छाउन खोज्दा पालेले धकेलेर पठाइदिएको स्मरण गर्छन् । त्यहाँबाट आफू सुरुङको बाटो भई फुत्त गोकर्णमा निस्केको बताउँछन् । तत्पश्चात् नै उनको होस आएको हो र उनी बिस्तारै सञ्चो हुँदै आए । तसर्थ यसलाई उनी दोस्रो जीवन पाएको महसुस गर्छन् ।

तर, आफूले पाएको दोस्रो जीवन केको लागि हो भनी बुझ्न आध्यात्मिकतिर लाग्नुपर्छ भन्छन् । जोगी बन्ने र मन्दिर गई पुज्नेभन्दा पनि मनको धीरलाई बुझ्नुपर्छ भन्ने उनको आफ्नै तर्क छ । भाइजस्तो साथी प्रभञ्जनबहादुर सिंह चोला फेरेर व्यग्र वेदनाथ बनेपछि युवराज पारस गोरखनाथबारे बुझ्न लागे र कर्मनिष्ठ अभियानको जन्म भयो । ‘क’बाट ‘कलम’मा शुरु भएर ‘ज्ञ’बाट ‘ज्ञानी’मा अवसान हुने हाम्रो शिक्षा र दीक्षा एवम् पूर्वीय दर्शन प्रणालीलाई प्राथमिकता दिनुपर्छ भन्नेमै सदैव जोड रह्यो । उनीमा धेरै आध्यात्मिक लगाव देखियो । अभियानको दौरानमा उनलाई भेट्न राम्रो, आत्मीय व्यक्तित्व, उच्चस्तरीय, विश्लेषक, पत्रकार, विज्ञ, पूर्वसुरक्षाअङ्गका मान्छे मात्रै नभई लफङ्गा, डन, गुण्डा, हुल्याहा, कुरौटे, भरौटे, ड्रग पेड्लर, जँड्याहा, स्वार्थी, लागूपदार्थ दुव्र्यसनी तथा अन्य आपराधिक मनोवृत्तिका मान्छेहरू पनि ओइरिन थाले । राम्रो पथमा डोऱ्याउनेभन्दा पनि च्याँखे थाप्ने, ढ्याउ लाग्ने प्रवृत्तिका मान्छे पनि देखिन थाले । सायदै प्रचण्डको पुत्र प्रकाश जनयुद्धकालमा त्यति बिग्रेका र लफङ्गा थिएनन् होला । प्रधानमन्त्रीत्वको पहिलो कार्यकालभन्दा दोस्रो कार्यकालमा प्रचण्डलाई सोचेभन्दा सफलता मिलेको देखिन्छ । किनभने उनलाई दोस्रो कार्यकालमा उनका छोरा प्रकाशको साथ थियो ।

प्रचण्डको लागि प्रकाश एक कुशल छोरा मात्रै नभई खारिएको सचिव, व्यवस्थापक, गुरु, राजनीतिज्ञ, प्रेरणाको स्रोत, सफल व्यक्तित्व, सम्पूर्णता थियो । तर, प्रकाशलाई केही कपटीहरूले ड्रग्स र रक्सीमा फसाइछोडे । उनका नजिक बस्ने र सुरक्षार्थीले नसामा रहने प्रकाशलाई एउटा दानवको रूपमा चिन्छन् । उनी नसामा उद्दण्ड हुन्थे रे । प्रचण्डलाई कमजोर पार्न परिवारको दियोलाई नै नसा र रक्सीमा डुबाएर मारे भन्ने पनि छ । जब प्रकाश निभे तब नै प्रचण्डले एमालेसँग आत्मसमर्पण गरे भन्नुमा कुनै द्विविधा छैन । राजा ज्ञानेन्द्रको व्यक्तित्वमा र राजसंस्थालाई आँच पुऱ्याउने कार्यमा कुनै वाक्क लाग्ने ढ्याउले खेलेको छ भन्न सकिन्छ । जब–जब राजसंस्था बलियो हुने सङ्केत देखिन्छ, तबतब युवराज पारसको नयाँ–नयाँ औतारी अवतार बाहिरिन्छ । यो अत्यन्तै सोचनीय विषय छ ।

सञ्जय दत्तलाई जसरी मिडियाले खेदो खने तापनि मिडियालाई सम्मान नै गरेको देखिन्छ । श्वेता सिंहसँगको अन्तर्वार्तामा आफू र परिवारको मिडियाले जस्तै विष घोले तापनि केही तिक्तता नराखी भगवान्ले त्यस्ता पत्रकारलाई माफी दिऊन् भन्छन् । मिडियाले जुनसुकै लेख, समाचार र विचार पछाडि स्रोतअनुरूप वा प्रश्नचिह्न राखेर पाठकलाई कन्फ्युजनमा राख्छ त्यसले तिनको जीवनमा कति असर पार्छ, त्यसलाई नजरअन्दाज गर्छ । सोच्ने हो भने सञ्जयको लागि निसाफ मरेको भान हुन्छ । बाबुछोरालाई नै आतङ्कवादीको कित्तामा राखेर मिडियाले घेराबन्दी गरे पनि आखिर अदालतले आतङ्कवादको मुद्दामा पूर्ण रूपले सञ्जयलाई सफाइ दिएर न्याय दिलाउने प्रयास गऱ्यो । तत्पश्चात् पाँच वर्षको जेलजीवनमा झन्डै १८ महिना अगावै जेलबाट रिहा पनि भए, सुन्दर आचरणले गर्दा । भारतको एजेन्सी र राजसंस्थाविरुद्व चरम रूपले लागिरहेको र नेपालको पार्टी तथा नेताहरूलाई प्रयोग गरिरहेको त जगजाहेर छँदै छ ।

युवराज पारसले बैंकक हुँदा आफूलाई केही व्यक्ति वा विदेशी तत्वले पछ्याइरहेको उजुरी गरेका थिए । त्यस्तै, सञ्जय दत्त र सुनील दत्तविरुद्व केही धार्मिक, साम्प्रदायिक र डनहरू लागिरहेको र सुरक्षाकर्मी बढाउन भारत सरकारसँग आग्रह गरिरहेका थिए । सञ्जय दत्त र परिवारमा साङ्घातिक हमला भएपछि सञ्जय दत्तले आफ्नो र परिवारको सुरक्षाको निम्ति एके ४७ जस्ता अवैध हतियार राख्न आवश्यकता देखे । दरबार हत्याकाण्ड केही विदेशी तत्वको उक्साहटमा केही विदेशी दलाल मिली गरेर उल्टै युवराज पारस र राजा ज्ञानेन्द्रमा दोष थुपार्न लागे । यसका लागि समयसमयमा दरबार हत्याकाण्ड छानबिन होस् भनी राज्यसँग पुकारिरहेका छन् । उनी आफूलाई त्यो पीडाले कति पिरिरहेको छ र त्यसको क्षतिपूर्ति कसरी भर्पाइ हुने भन्दै प्रश्न गर्छन् । त्यस्तै, अर्को घटनामा आफ्नो राष्ट्र र माटोविरुद्व अन्टसन्ट बोले भनी गिरिजाको नातिनी ज्वाइँ रुबेलविरुद्व चितवनमा हवाई फायर गरेको मुद्दा खेप्नुपरेको थियो । यता भारत सरकारले सुनील दत्त परिवारलाई सुरक्षाको अनुभूति नदिनु र यता युवराज पारसको सुरक्षा अङ्ग खोस्नु सुरक्षाको संवेदनशीलतालाई नजरअन्दाज गर्नु नै हो भन्ने नै विश्लेषण गर्न सकिन्छ ।

दुवैले आफूद्वारा समाजमा केही गलत सन्देश गएकोमा मिडियामार्फत बेला–बेलामा माफी माग्दै प्रायश्चित गर्ने गर्छन् । तर, त्यही मिडियामार्फत दुवै व्यक्ति महिला प्रकरणमा बेला–बेला फसेको समाचार सुन्न पाइन्छ । हाकाहाकी सञ्जय दत्त ३०८ जना केटीसँग सम्बन्ध भएको स्वीकार गर्छन् भने युवराज पारसचाहिँ महादेवजस्ता भगवान्लाई नै कालीले वशमा राखेको सम्झँदै, तरुणीहरू कहिलेकाहीँ बाधाको रूपमा आई गाह्रो पार्ने गरेको हो कि भन्छन् । विडम्बनाको संसारमा प्रायः मिडियाले आफू बजारमा बिक्नको लागि यौनकर्मीभन्दा पनि तल्लोस्तरमा नाङ्गिएर समाचार बनाउँछन् भन्नेमा कुनै दुईमत छैन । कहिले त लाग्छ स्वाभाविक समाचार पनि होइन कि क्या हो झैँ लाग्छ । तर, जे–जस्तो भए पनि एउटा सुन्दर परिवारलाई सुन्दर देख्न र रहन नै हामी समाजले होस्टेमा हैँसे गर्नुपर्ने कर्तव्य हुन जान्छ ।

सञ्जय दत्तले मुन्नाभाइ एमबीबीएस भन्ने फिल्म सुटिङको दौरान आफ्नो बुबासँग लिएको जादुको झप्पी साँच्चिकै मन भावुक बनाउने खालको छ । You deserve the better Son , Dad भनेर प्रायश्चित गर्ने सञ्जय दत्तले आफ्नो बुबा सुनिल दत्त, आमा नरगिस र बहिनी, श्रीमती र अमेरिकामा बस्ने साथी कमली (परेश घलानी) ले आफ्नो जीवनमा खेलेको भूमिका कहिल्यै बिर्सन चाहँदैनन् । अब पनि अर्को जुनी सञ्जय दत्तको नै लिएँ भने आफू बिग्रेर परिवारलाई सताएको क्षण कहिल्यै नफर्कियोस् भन्छन् ।

उनी आफ्नी श्रीमतीले आफू जेलमा रहँदा र आफ्नो नराम्रो समयमा खेलेको भूमिकालाई र आफ्नो बुबाले जिन्दगीको उतारचढाउमा खेलेको भूमिका, आफूलाई सुधार्न घरसम्पत्ति बेचेको हृदयविदारक समय कहिल्यै भुल्न सक्दैनन् भने आफ्नी आमालाई बिरामी हुँदा स्याहार गर्न नसकेकोमा अति नै पछुताउ गर्छन् । युवराज पारस बैंककमा हस्पिटलको कोमापछिको क्षणलाई दोस्रो जुनी भन्छन् र पटक–पटक जन्म यही नेपालमै होस् भन्ने कामना गर्छन् । परिवारको माया र ममतामा सधैँ बस्न पाइयोस् भन्ने इच्छा व्यक्त गर्छन् । आफ्नी आमा बडामहारानी सरकारले शरीरमा गोली लिएर कष्टकर जीवन जिइरहनुपरेकोमा भावुक छन् । युवराज पारससँग बच्चादेखि सँगै पढेको सहपाठी लामो अमेरिकाको बसाइपछि फर्केर युवराज पारससँग बच्चामा एकसाथ पढ्ने अन्य साथीहरूसँग मिलेर यो विभिन्न नकारात्मक गतिविधिलाई कसरी चिरेर जीवनलाई सहज बनाउन सकिन्छ भन्ने मार्ग खोज्दै छन् । हुन त युवराज पारसले पनि सामान्य नागरिकले जसरी घरपरिवारमा मायाममता पाएका छन्, त्यसकै खोजीमा छ झैँ लाग्छ । तर, युवराज पारसले आफूलाई सञ्जय दत्तसँग दाँज्दै गर्दा ‘कुछ तो लोग कहेंगे, लोगोका काम हे कहेना, छोडो बेकार कि बातो मे कहीँ बित न जाए रहेना’ भन्दै उनले गरेझैँ कर्मनिष्ठ भई सत्कर्ममा लाग्न सुझाव दिन चाहन्छु । अन्तमा दुनियाँमे रहेना हे तो काम कर प्यारे, हात जोड सबको सलाम कर प्यारे !

प्रतिक्रिया