खेलकुद मन्त्रीको बेतुकको बयान, धरापमा पर्दै १३औँ साग

खेलकुद मन्त्रीको बेतुकको बयान, धरापमा पर्दै १३औँ साग


■ श्रीविक्रम भण्डारी

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)लाई १३औँ ‘साग’ नेपालले आयोजना गर्दैछ भन्ने जानकारी नहुने सवाल नै रहेन । र पनि, मन्त्री विश्वकर्मा एक वर्षभन्दा बढीको समय कानमा तेल हालेर बसेका थिए । राष्ट्रको मान–सम्मान र प्रतिष्ठा गाँसिएको मुद्दामा आफ्नो गुटको मान्छे सदस्यसचिव नभएका कारण उनले १३औँ सागको बारेमा ‘उफ्’ समेत नगर्दा साग एकादेशको कथामा परिणत भएको थियो ।

सरकारको आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा अन्तर्राष्ट्रिय महत्वको १३औँ साग प्रतियोगिता सन् २०१९ मै आयोजना गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधनको क्रममा भनेपछि मात्रै मन्त्री विश्वकर्मा झस्किएका थिए । त्यसपछि उनले साग आयोजनाप्रति चासो देखाए पनि राखेपको सदस्यसचिवमा आफ्नो अनुकुल व्यक्ति नभएका कारण खासै रुचि भने देखाएका थिएनन् ।

त्यही अरुचिको परिणाम थियो मन्त्री विश्वकर्माको बेतुकको बोली । लामो समय १३औँ सागको बारेमा ‘चुँ’ नगरेका विश्वकर्माले त्यसपछि जथाभावी बोल्न शुरु गरे । उनले बुझेर हो या नबुझेर, जानेर हो या नजानेर, कसैले उचालेर हो स्वस्फूर्त, सार्वजनिक रुपमा १३औँ सागको बारेमा अभिव्यक्ति दिन थालेका थिए । अचम्मको कुरा ! सम्बन्धित निकायकाका पदाधिकारीहरुले बारम्बार घच्घच्याउँदा समेत खेलकुदमन्त्रीको कार्यभार सम्हालेको लामो समयसम्म मन्त्री विश्वकर्माले मौनता साँधे । केवल भौतिक पूर्वाधारको कुरा उठाउँदै उनी पन्छिने प्रयास गरिरहे ।

सरकारको निती तथा कार्यक्रम प्रस्तुत भएपछि केही तातेका मन्त्री विश्वकर्माले त्यसपछि १३औँ सागका सम्पूर्ण पूर्वाधारहरुको निर्माण असार मसान्तसम्ममै सकिने सार्वजनिक रुपमा दाबी गरे । त्यस्तै, असार मसान्तसम्म सबै संरचनाको निर्माण कार्य सम्पन्न गरी साउनको पहिलो साता प्रतियोगिता आयोजना तथा संचालनसम्बन्धी कार्यविधि मन्त्रीपरिषदको बैठकमा पेश हुने जनाउँदै त्यसपछि मसिनो ढङ्गले तयारीमा लाग्ने प्रस्ट पारेका थिए ।

तर विडम्बना, १३औँ सागका पूर्वाधारहरु अहिलेसम्म पूर्ण रूपमा निर्माण हुन सकेका छैनन् । आयोजन मिति मंसिर १५ गतेसम्म तयार हुन्छ या हुँदैनन् त्यसको पनि कुनै टुङ्गो छैन । तर मन्त्री विश्वकर्मा अहिले पनि काठमाडौंदेखि पोखरासम्मका पूर्वाधारको निरीक्षण गर्दै चाँडोभन्दा चाँडो निर्माण गर्न सम्बन्धित निकायलाई कडाईका साथ निर्देशन दिइरहेका छन् । समयले तीव्र गतिमा नेटो काटिरहँदा भौतिक पूर्वाधारको समस्या ज्यूँकात्यूँ देखिनु १३औँ सागको लागि सकारात्मक मानिएको छैन ।

यतिबेला मन्त्री विश्वकर्माका बयान बकमफुस्से सावित भएका छन् । पूर्वाधार निर्माणदेखि कार्यविधि ल्याउनेसम्मका कुरामा मन्त्री विश्वकर्मा पूर्णरुपमा असफल भएका छन् । यथार्थमा भन्नुपर्दा मन्त्री विश्वकर्माकै अदुरदर्शिता कारण १३औँ साग धरापमा पर्ने प्रबल सम्भावन बढ्दै गएको छ । अन्यथा मंसिर १५ देखि शुभारम्भ हुने सागका लागि असोज ९ गते समिति गठन गर्दै आफ्ना गुटका निकट व्यक्तिलाई मन्त्री विश्वकर्माले कदापि जिम्मेवारी दिने थिएनन् ।

समिति गठन गर्दा पनि मन्त्री विश्वकर्माले राखेपको बोर्ड वैठकको निर्णयविना नै गठन गरेको आरोप लागेको छ । त्यस्तै गठन गरेका समितिमा पनि मन्त्रीले हस्तक्षेप गर्दै आफ्ना निकटमा व्यक्तिहरूलाई समितिको सदस्यमा राख्न दबाब दिएको अहिले खेलकुदमा चर्चाको विषय बनेको छ ।