बक्सिङ खेलाडी अविरललाई जापानमा ऐतिहासिक सफलता

बक्सिङ खेलाडी अविरललाई जापानमा ऐतिहासिक सफलता


■ श्याम क्षेत्री, टोकियो

युवा किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानमा अर्को ऐतिहासिक सफलता प्राप्त गरेका छन् । ‘हिमाली चितुवा’ नामले परिचित घिमिरेले जापानमा आइतवार (१७ कात्तिक) सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा आफ्ना जापानी प्रतिद्वन्द्वी खेलाडी अकिफी ओयालाई पहिलो राउन्डमा नै पराजित गरी कीर्तिमान हात पारेका हुन् ।

युवापुस्ताका चर्चित उदीयमान प्रतिभा घिमिरेले आफ्ना २८ वर्षीय प्रतिद्वन्द्वी ओयोलाई पहिलो राउन्डमा नै दुई मिनेट ३० सेकेन्डमा पराजित गरेका थिए । अन्तर्राष्ट्रिय स्तरको सो प्रतियोगितामा जापान, नेपाललगायत अन्य देशका खेलाडीले भाग लिएका थिए ।

जापानमा रही बक्सिङको विशेष प्रशिक्षणमा रहेका घिमिरे काठमाडौंका चन्द्रागिरि नगरपालिका निवासी हुन् । अविरल नेपालका किक बक्सिङ कराँतेका चर्चित खेलाडी देव घिमिरेका पुत्र हुन् ।

आफ्नै पिताको निगरानी र प्रशिक्षणमा उनले अभ्यास गर्दै आएका छन् । उनले विभिन्न राष्ट्रका खेलाडीहरूसँग हालसम्म भएका १२ वटा अन्तर्राष्ट्रिय भीडन्तमा ११ वटामा जीत आफ्नो पक्षमा ल्याउन सफल भएका थिए ।

यसैगरी, एक खेल बराबरीमा रोकिएको उनका परिवारका सदस्य रामनारायण घिमिरेले जानकारी दिए । पछिल्लो प्रतियोगितामा सफलता प्राप्त गरेपछि अविरलले अगामी दिनका प्रतियोगितामा अझै राम्रो गर्ने र देशको नाम उँचो बनाउने प्रतिक्रिया दिएको छ । उनले भने, ‘यो सफलताको श्रेय बुबालाई दिन्छु, मेरो जीतले नेपाल र नेपालीको नाम उँचो भएको छ ।’ सो प्रतियोगिता हेर्न जापानमा रहेका नेपालीको उल्लेख्य सहभागीता रहेको थियो ।