प्रवासी नेपालीको हकहितमा सहकार्य गर्ने सहमति

प्रवासी नेपालीको हकहितमा सहकार्य गर्ने सहमति


■ श्याम क्षेत्री, टोकियो

गैरआवासीय नेपाली संघ जापान तथा नेपाल पत्रकार महासंघ जापान शाखाबीच प्रवासमा रहेका नेपालीहरुको हकहितका लागि एकअर्कामा सहकार्य गर्दै अघि बढ्ने सहमति भएको छ ।

आइतबार टोकियोको सिनओकुबोस्थित सोलमारी रेस्टुरेन्टको सभाहलमा भएको दुईपक्षीय छलफलबाट दुवैपक्षका उपस्थित पदाधिकारीहरुको रायअनुसार सो सहमति भएको हो ।

एनआरएनएले प्रवासमा रहेका नेपालीहरुका भइपरी आउने विविध समस्याहरुको न्युनीकरणमा सहजीकरण तथा चेतना अभिवृद्धि गर्दै, स्वदेशमा लगानि प्रवर्द्धन गर्ने कार्यलाई नेतृत्व गर्ने गरेको र ती तमाम कार्यका लागि सञ्चारको भूमिका अपरिहार्य रहने भन्दै यो सहकार्यलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउने सहमति भएको हो ।

सहमतिमा जापानमा रहेका संघसस्थाहरुसंगको समन्वय, विभिन्न भिसामा रहेका नेपालीहरुको व्यक्तिगत, पेशागत तथा क़ानूनी समस्याहरु र तिनका समाधान तथा न्यूनीकरणका विकल्पहरु, जापानमा नेपालको पर्यटन प्रवद्र्धन तथा समग्र नेपाल चिनाउने अभियान नेपाल फ़ेस्टिवलको निरन्तरता तथा सुदृढ़ीकरण, प्रवासमा महिलाहरुको स्वास्थ्य समस्या तथा निराकरणका विकल्पलगायतका विषयहरुमा परस्पर सहकार्य गर्दै अघि बढ्ने उल्लेख गरिएको छ ।

पहिले भन्दा सकारात्मक काम गर्ने लक्ष्यसहित एनआरएनए जापानले कुरा भन्दा काम गरेर देखाउने बेला आएको भन्दै कार्ययोजना बनाएरै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ । सञ्चारकर्मीहरुका सुझावलाई सम्बोधन गर्दै एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारीले सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भ्रमण वर्ष २०२० सफल पार्न, नेपालीका समस्या समाधान गर्न र नेपाल फेस्टिवल लगायतका महत्वपुर्ण विषयमा कार्यसमिति सशक्त रुपमा लाग्ने बताउनुभयो ।

कार्यक्रमलाई एनआरएनए जापानका महासचिव जनकविक्रम शाहीले सहजीकरण गर्नुभएको थियो ।