नयाँदिल्लीको प्रदूषण तीन वर्षयताकै सबैभन्दा खतरनाक

नयाँदिल्लीको प्रदूषण तीन वर्षयताकै सबैभन्दा खतरनाक


भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषणका कारण यहाँको जनजीवन थप अप्ठ्यारोमा पर्न थालेका समाचारहरू आएका छन् ।

आइतबारजस्तै आज (सोमबार) पनि वातावरण प्रदूषणको मात्रा झन् बढेकाले विद्यालय बन्द गरिएका छन् भने सडकमा पर्याप्त मात्रामा सवारीसाधनहरू पनि सञ्चालनमा आएका छैनन् ।

जसका कारण यस वरपरको बस्तीमा समेत समस्या देखिन थालेको छ । निर्माण कार्यहरू ठप्प छन् भने अरू दैनिक आवश्यकताका वस्तुहरूको परिपूर्तिका लागि समेत अप्ठ्यारो परिरहेको समाचारहरू आएका छन् ।

हरेक चिसो मौसमको शुरुमा जस्तै यस वर्ष पनि नयाँदिल्लीको आकाशको मौसममा खराबी देखिन आएको हो । नयाँदिल्लीको वायु प्रदूषित भएकोले केही दिनदेखि विद्यालय बन्द गरिएको बताइएको छ ।

नयाँदिल्लीको आकाशमा देखिने तुवाँलोका कारण बालबालिकाको फोक्सोमा असर पार्ने भन्दै विद्यालय बन्द गरिएको हो । त्यसैगरी सर्वसाधारण नागरिक पनि अत्यावश्यकताका आधारमा मात्र सडक बजारमा निस्किएका छन् ।

यस मौसममा नयाँदिल्लीको आकाशमा यहाँका सवारीसाधनहरूको धुवाँ र धुलो, औद्योगिक उत्पादनका कारण उत्पन्न प्रदूषण, कृषिजन्य उद्योगहरूबाट निस्किएको प्रदूषित मात्राका कारण यस्तो समस्या उत्पन्न भएको बताइएको छ ।

यो प्रदूषणको मात्रा गएको तीन वर्षयताकै सबैभन्दा खतरनाक अवस्थामा देखिएको बताइएको छ । नयाँदिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवालले यस प्रदूषणका कारण परिस्थिति अत्यन्तै खतरनाक भएको भन्दै यसको मापनका आधारहरू निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

आइतबार मुख्यमन्त्री केजरिवालले आफ्नो ट्विटर अकाउन्टमा भिडियो सन्देश दिँदै भनेका छन्– परिस्थिति एकदमै खतरनाक छ, यहाँका बालबालिका मात्र नभएर सबै सर्वसाधारण नागरिकले पनि निकै अप्ठ्यारो महसुस गरिरहेका छन्, सबैले सहजै सास फेर्न सकिरहेका छैनन् ।

यहाँको प्रदूषण धेरै बढेपछि हालै मात्र सरकारले जनस्वास्थ्य संकटकाल नै लगाएको घोषणा गरेको थियो । यसका साथै दिल्लीका मुख्यमन्त्री केजरिवालको सरकारले दिल्लीका सबै विद्यालय ५ नोभेम्बरसम्मका लागि बन्द गरिएको घोषणा गरेका थिए ।

दुई हप्ता मात्र अघि वायु प्रदूषणको मात्रा बढ्न लागेको भनेर दिल्लीका विद्यालयमा प्रदूषणबाट बच्न मास्क बाँडिएको थियो । तर, मास्कले पनि थेग्न नसक्ने भएपछि यहाँका विद्यालय नै बन्द गराइएको हो ।

केही दिनअघि सकिएको दीपावलीपछि दिल्लीको हावाको गुणस्तर अत्यन्त खराब भएको र श्वासप्रश्वास मा नै समस्या हुन थालेको छ । चिसो र श्वासप्रश्वासका बिरामीले अस्पतालमा भिड हुन थालेको छ ।

दिल्लीको हावामा प्रदूषित हावाका कणको स्तर विश्व स्वास्थ्य संगठनले बनाएको मानकभन्दा २० गुणा बढीसम्म भेटिएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । विश्व स्वास्थ्य संगठनले बनाएको मानकभन्दा नयाँदिल्लीको आकाशमा बढी मात्रामा प्रदूषण हुन लागेको धेरै वर्ष भइसकेको छ ।

यहाँका मौसमविदहरूले त यहाँ सास फेर्न गाह्रो भएको भन्दै दिल्ली ग्यास च्याम्बर बनेको बताएका छन् । प्रदूषण अत्यन्त बढेका कारण त्यहाँको जनजीवन निकै कष्टकर बन्दै गएको बताइएको छ ।

भारतीय राजधानी नयाँदिल्ली संसारको सबैभन्दा प्रदूषित सहरमध्येको एक सहर नामले पहिलेदेखि नै चिनिँदै आएको थियो । उदासीन जनमानस साथै अदूरदर्शी सरकारका कारण भारतीय राजधानीका बासिन्दाको आयु बर्सेनि कम हुँदै गएको हालै मात्र गरिएका अध्ययनहरूले देखाएका छन् ।

नयाँदिल्लीमा आगामी वर्षको शुरुवातमै राज्य सभाको निर्वाचन आएको छ । तर, त्यस समयका लागि चुनावी एजेण्डा नै नयाँदिल्लीको प्रदूषणको विषय उठ्न सक्ने बताइएको छ ।

अहिले पनि नयाँदिल्लीमा औद्योगीकरणको मात्रा निकै बढेको भन्दै यस प्रदूषणका लागि राजनीतिक दलहरू र सरकारले नै एक–अर्कालाई दोषणारोपण गरिरहेका छन् ।

हावार्ड विश्वविद्यालयका पर्यावरणीय अर्थशास्त्रीहरूले संयुक्त रूपमा गरेको उक्त अध्ययनअनुसार देशका यस्ता सम्पूर्ण क्षेत्रमा प्रदूषण कम गर्दै वायुको गुणस्तर कायम गर्नसके यहाँका करोडौँ बासिन्दाको औसत आयु ३ दशमलव २ वर्षले बढ्ने जनाइएको छ ।

यस विषयलाई गम्भीर रूपमा लिन र आवश्यक सुधारका लागि काम गर्न सोमबार केही वातावरणविदहरूको समूहले प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेका बताइएको छ ।

यहाँ आगलागीका कारण बढी मात्रामा प्रदूषण देखिएको बताइएको छ । तैपनि यसको कारण आगलागी मात्र पनि नभएको अधिकारीहरूको भनाइ छ ।

सवारीसाधन र उद्योगबाट निस्कने धुवाँ यसको प्रमुख कारण हो । त्यसैगरी फोहोरमैला जलाउँदा निस्कने धुवाँले पनि नयाँ दिल्लीको आकाशको हावा बढी मात्रामा जोखिमपूर्ण बनाएको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले जनाएको छ ।

नयाँदिल्लीको जनसंख्या चार करोड ५० लाख रहेको छ । भारतीय राजधानी शहर नयाँ दिल्लीको प्रदूषण नियन्त्रण गर्न यहाँको सरकारलाई निकै सकस परिरहेको छ ।

नयाँदिल्ली सरकारले तिहारमा पटाका पड्काउन प्रतिबन्ध गरेको थियो । गत वर्षका प्रतिवेदनहरूमा पटाका पड्काउँदा दिल्लीको आकाशको हावा प्रदूषित भएको बताएका थिए । तैपनि यस वर्ष पटाका पड्काउन नदिए पनि कुनै प्रभाव नपरेको बताइएको छ ।
रासस–एएफपी