लिङ्कनको शर्त, अभिभावक आक्रोशित, सङ्कटमा पौडी संघ

लिङ्कनको शर्त, अभिभावक आक्रोशित, सङ्कटमा पौडी संघ


■ श्रीविक्रम भण्डारी

लिङ्कन स्कुलले आफ्ना चारजना खेलाडीलाई बन्द प्रशिक्षणमा नराखिने भए मात्र प्रशिक्षणका लागि हिटिङ पौडी पोखरी उपलब्ध गराउने शर्त राखेपछि नेपाल पौडी संघ सङ्कटमा परेको छ । आफ्ना खेलाडीहरू अलेक्जेन्डर शाह, टीशा शाक्य, नासिर हुसेन र आइस्मा तुलाधारका हकमा लिङ्कनको यस्तो शर्त राखेको खुलासा भएपछि सम्बन्धित खेलाडीका अन्य अभिभावक आक्रोशित बन्न पुगेका छन् । उनीहरूले आफ्ना छोराछोरीलाई पनि बन्द प्रशिक्षणमा नराख्ने धम्की संघलाई दिन थालेका बुझिएको छ ।

नियम सबैलाई समान हुनुपर्छ, राज्यको नियम जे छ त्यो सबै खेलाडीले मान्नुपर्छ, लिङ्कनमा प्रशिक्षण हुँदैछ भन्दैमा उक्त विद्यालयमा अध्ययन गर्ने विद्यार्थी खेलाडीलाई बन्द प्रशिक्षणमा बस्नु नपर्ने शर्त लिङ्कनले राख्नु आफैमा अव्यवहारिक भएको ती अभिभावकको गुनासो छ । हामी पनि हाम्रो छोराछोरीलाई घरमै राख्छौँ, प्रशिक्षणको समयमा मात्र प्रशिक्षणमा पठाउँछौँ भन्दै अभिभावकहरूले दबाब दिन थालेपछि बल्लतल्ल सर्तसहित प्रशिक्षणको लागि पाएको लिङ्कनको पौडी पोखरी पनि उम्कने खतरा बढेको छ ।

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तयारीको लागि गत कार्तिक ६ गतेदेखि पौडी खेलाडीहरूले कालोपुलस्थित हिटिङ पौडी पोखरीमा प्रशिक्षण गरिरहेका छन् । प्रतिदिन प्रतिव्यक्ति १ हजार रुपैयाँ तिरेर २८ जना पौडी खेलाडीले प्रशिक्षण गरिरहेको पौडी पदाधिकारीले जानकारी गराएका छन् । कालोपुलमा कार्तिक १७ गते आइतबारसम्म मात्र पौडी खेलाडीले प्रशिक्षण गर्ने ती पदाधिकारी जनाए ।

कालोपुलमा प्रशिक्षण शुल्क ज्यादा भएपछि अन्य ठाउँमा प्रशिक्षणको व्यवस्थाको लागि नेपाल पौडी संघले केही समय पहिले राष्ट्रिय खेलकुद परिषदलाई पत्राचार गरेको थियो । त्यसपछि राखेपले युवा तथा खेलकुद मन्त्रालय, मन्त्रालयले परराष्ट्र मन्त्रालय र परराष्ट्र मन्त्रालयले अमेरिकी राजदुतावासलाई पत्राचार गरेर लिङ्कनमा पौडी प्रशिक्षणको लागि ब्यवस्था गरेको थियो । भोलि (कार्तिक १८) गते सोमबारदेखि लिङ्कन स्कुलमा पौडी खेलाडीले प्रशिक्षण गर्नेछन् । प्रशिक्षण विहान ५ वजे र बेलुकी ४ बजे हुनेछ ।

रवीभवनस्थित लिङ्कल स्कुलमा भोलि (कार्तिक १८) गतेदेखि पौडीको प्रशिक्षण शुरु हुने भए पनि अब उक्त स्कुलमा अध्ययनरत चार विद्यार्थी खेलाडी बन्द प्रशिक्षणमा बस्छन् या बस्दैनन् त्यो अहिले चर्चाको विषय बनेको छ । लिङ्कनका चारजना खेलाडी बन्द प्रशिक्षणमा नबसे आफ्ना छोराछोरीलाई पनि बन्द प्रशिक्षणमा नराख्ने भन्दै आएका अभिभावकले अब कस्तो कदम उठाउँछन्, त्यो पनि प्रतीक्षाको विषय बनेको छ ।

यसरी लिङ्कनले शर्त राखेर पौडी पोखरी उपलब्ध गराउनु राज्यको लागि चुनौती भएको र यसले पौडी खेलाडीहरूमा समेत मतभेद बढाउने संघका पदाधिकारी बताए । प्रशिक्षण गर्न दिएकै कारण राज्यलाई झुकाउन खोज्नु र कुनै खेलाडीलाई काखा र कुनै खेलाडीलाई पाखा लगाउनु पर्ने बातारण अहिले खडा भएको ती पदाधिकारीले बताए । खेलाडी सबै समान हुन्, राखेपले जुन नियम बनाएको छ, त्यो सबैले पालना गर्नुपर्ने उनको धारणा थियो । यसको लागि ती चार जना खेलाडीका अभिभावकले पनि नीति–नियम र समयको मागलाई आत्मसात गरी उचित कदम चाल्नुपर्ने बताए । यसर्थमा कि नेपाल पौडी संघ निरीह छ, उसँग हिटिङ पौडी पोखरी छैन ।

१३औँ सागको बन्द प्रशिक्षण परेका खेलाडीहरूमध्य अहिले ४ जना खेलाडी गौरिका सिंह (बेलायत) सोफिया शाह (अमेरिका), डुवाना लामा (थाइल्यान्ड) शैयद हम्जा शाह (सिङ्गापुर) विदेशमा प्रशिक्षण गरिरहेका छन् ।

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले मंसिर १ गतेदेखि नेपाली पौडी खेलाडीले आफ्नै हिटिङ पौडी पोखरी प्रशिक्षण गर्ने ठोकुवा गरेका थिए । सदस्यसचिव सिलवालले यो कुरा २७ वटा खेलका अध्यक्ष, महासचिव र प्रमुख प्रशिक्षकविचको छलफलको कार्यक्रममा बताएका थिए । यथार्थमा भन्नुपर्दा सातदोबाटोस्थित उक्त निर्माणाधीन पौडी पोखरीको अवस्था हेर्दा मंसिर १ गते त परै जाओस् फागुन १ सम्म पनि तयारी हुने देखिँदैन ।

यो पौडी पोखरीको बारेमा पौडी संघका पदाधिकारीसँग प्रतिक्रिया लिँदा उनले भने– ‘परिषदले बन्छ भन्छ, कसरी बन्छ, हामीलाई थाहा छैन, हामीले बन्दैन भन्न मिल्दैन, बने राम्रो हो ।’