‘सरकार कम्युनिष्ट हो तर देश कम्युनिष्ट होइन’ : देउवा

‘सरकार कम्युनिष्ट हो तर देश कम्युनिष्ट होइन’ : देउवा


नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रतिपक्षसँग मिलेर काम गर्नुपर्ने बताएका छन् । प्रजातन्त्र सेनानी नेपाली काङ्ग्रेसका नेता स्वर्गीय गोवद्र्धन शर्मा पोखरेलको आत्मवृतान्त ‘मेरो जीवन यात्रा’ पुस्तकको शनिबार (१६ कात्तिक) दमौलीमा लोकार्पण गर्दै देउवाले प्रतिपक्ष वैकल्पिक सरकार भएकाले सरकारले प्रतिपक्षलाई साथमा लिएर काम गर्नुपर्नेमा जोड दिए ।

सरकारले राम्रो काम गरे प्रतिपक्षको पनि सहयोग रहने भन्दै सभापति देउवाले भने, ‘सबैलाई साथमा लिएर सरकार अगाडि बढ्नुपर्छ । कम्युनिष्ट सरकारले राम्रो काम गरोस् ।’ सत्तापक्ष र प्रतिपक्षबीच प्रतिस्पर्धा हुने गरे पनि देशको हितका लागि सबैको सहमति र सहकार्य आवश्यक रहेको देउवाो कथन थियो । दुई तिहाईको सरकार देशलाई नै कम्युनिष्ट बनाउने बाटोतर्फ अग्रसर भइरहेको आरोप लगाउँदै सभापति देउवाले त्यस्तो कार्य काङ्ग्रेसलाई मान्य नहुने जिकीर गरे ।

‘अहिलेको सरकार कम्युनिष्ट सरकार हो, तर कम्युनिष्ट देश होइन’ भन्दै देउवाले प्रजातन्त्रका लागि काङ्ग्रेस २००७ सालदेखि नै लड्दै आएकाले प्रजातन्त्रको विरुद्धमा काङ्ग्रेस जान नसक्ने उल्लेख गरे ।

कार्यक्रममा काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारबाट लोकतान्त्रिक अधिकार कुण्ठित हुने हो कि भन्ने चिन्ता रहेको बताए भने महामन्त्री डा. शशाङ्क कोइरालाले काङ्ग्रेस एकजुट भए कसैले पनि हराउन नसक्ने ठोकुवा गरे ।

प्रजातान्त्रिक विचार समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले स्व. पोखरेलको राजनीतिक एवं आत्मवृतान्त ‘मेरो जीवन यात्रा’बारे समीक्षा गरेका थिए भने कार्यक्रममा काङ्ग्रेस नेता रामचन्द्र पोखरेल, प्रदेशसभा सदस्यद्वय सरिता गुरुङ र दोबाटे विक, काङ्ग्रेस नेता समुन्द्र गोदार, तनहुँ काङ्ग्रेसका उपसभापति लक्ष्मी आचार्यलगायतले स्व. गोवद्र्धनको सिद्धान्त र विचार आजका काङ्ग्रेस नेता कार्यकर्ताले आत्मसात गर्नुपर्नेमा जोड दिएका थिए ।

pict:rss