दोषीलाई कारवाही गर्न ज्ञापनपत्र, गृहमन्त्रीले दिए आश्वासन

दोषीलाई कारवाही गर्न ज्ञापनपत्र, गृहमन्त्रीले दिए आश्वासन


■ घटना र विचार प्रतिनिधि, कपिलवस्तु

कृष्णनगर घटनाका आरोपीहरुलाई आवश्यक कार्यवाही गर्न कांग्रेसका सांसद अभिषेक प्रताप शाहले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र दिएका छन् ।

कार्तिक १३ गते लक्ष्मी मुर्ति विसर्जनको क्रममा हिन्दु मुस्लिम दुई समुदायबीच भएको समप्रदायिक घटनालाई प्रहरीले नियन्त्रण गर्न नसकेको र अन्तर्राष्ट्रिय मानवअधिकार सन्धि सम्झौताको न्युनतम मापदण्ड पनि पुरा नगरी गोली चलाउँदा कृष्णनगर बस्दै आएका भारतीय नागरिक सुरज कुमार पाण्डेयको प्रहरीको गोली लागेर मृत्यु भएको जानकारी दिँदै कपिलवस्तु क्षेत्र नं ३ का सांसद शाहले गृहमन्त्री रामबहादुर थापालाई ध्यानाकर्षण गराएका हुन् ।

ज्ञापनपत्रमा कृष्णनगरलाई अशान्त बनाउन लागिपरेका केही असामाजिक तत्वले प्रत्येक वर्ष दशैँ र तिहारमा मुर्ति विसर्जन गर्ने क्रममा समप्रदायिक दुर्घटना गराउने गरेका र लक्ष्मी मुर्ति विसर्जनको घटनाका दोषी केही तस्करहरु रहेका कारण मोटो रकम असूल गर्दै आएको प्रहरीले कार्यवाही गर्न नसकेको उल्लेख गरिउको छ ।

दोषीलाई आवश्यक कार्वाहि माग गर्दै गरेका हिन्दु समुदायमाथि प्रहरीले गोली चलाएको र गोली लागेर केही घाइते हुनुका साथै एक जनाको मृत्यु भएको कुरा सांसद शाहले ज्ञापनपत्रमा उदृत गरेका छन् । साथै, साम्प्रदायिक घटनाका मुख्य योजनाकार कृष्णनगर ३ झण्डानगर घर भएको जमाल शाह लगायत संलग्न २०,२५ जनालाई आवश्यक कार्यवाही गरी घाइतेलाई निःशुल्क उपचार र पीडित परिवारलाई क्षतिपुर्ति उपलब्ध गराउन समेत उनले माग गरेका छन् ।

सांसद शाहको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले दोषी जो कोही भए पनि कानुनी कठघरामा ल्याई आवश्यक कार्यवाही गरिने अश्वासन दिएका छन् ।