आफन्तले बुझे पाण्डेयको शव

आफन्तले बुझे पाण्डेयको शव


■ नारद कोहार, कपिलवस्तु

कपिलवस्तुको कृष्णनगरमा बिहीबार प्रहरीको गोली लागेर मृत्यु भएका सुरजकुमार पाण्डेयको शव उनका आफन्त बुझेका छन् । मृतक पाण्डेयको शव पोष्टमार्टमको प्रक्रिया पूरा गरी आज (१५ कात्तिक) परिवारलाई हस्तान्तरण गरिएको हो । साथै मृतकका परिवारले काजक्रियावापतको २५ हजार रुपैयाँ पनि बुझेका छन् ।

आज तौलिहवामा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले मृतकका हजुरबुबा ओमप्रकाश पाण्डेयलाई सो रकम हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण गर्दै प्रजिअ श्रेष्ठले मृतकका परिवारले क्षतिपूर्तिवापत माग गरेको रकमको लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।

पाण्डेको बिहीबार प्रहरीको गोली लागी ज्यान गएको थियो । स्थानीय प्रशासनले कर्फ्यू जारी गरेको सयमा निषेधाज्ञा तोड्न खोज्दा प्रहरीले चलाएको गोली लागेरभारतीय नागरिक सुरजकुमार पाण्डेको मृत्यु भएको हो । कृष्णनगरमा लगाइएको कर्फ्यू भने जारी छ ।

गत बुधबार राति स्थानीयवासी ऱ्यालीसहित तिहारको लक्ष्मीपूजामा पुजिएको लक्ष्मीको मूर्ति सेलाउन कृष्णनगरस्थित मस्जिदको बाटो भएर जाँदै थिए । त्यही क्रममा कृष्णनगर बजारमा केही मुस्लिम युवाहरुले ऱ्यालीमाथि अवरोध गर्न खोजे । यही विषयबाट शुरु भएको विवादले झडपको रुप लियो । हिन्दू–मुस्लिम युवाहरुबीच भएको झडपमा दुबैतर्फका केही युवा र प्रहरी समेत घाइते भए ।

कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशमशेर जबराका अनुसार, झडप लम्बिदै जाँदा कर्फ्यू लगाउनु पर्नेसम्मको अवस्था सृजना भयो । ‘कपिलवस्तुमा विगतमा पनि साम्प्रदायिक दंगा, हत्या र आगजनीका रुपमा हिन्दू–मुस्लिमबीच झगडा हुँदै आएकाले प्रहरी प्रशासन निकै चनाखो छ, तर हामी सम्प्रदायिक हिंसा भड्किन नदिन सचेत छौँ ।’ प्रहरी उपरीक्षक जबराको भनाई छ ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्र श्रेष्ठले धार्मिक स्वतन्त्रताको अधिकार सबैलाई हुने भएकाले त्यसको व्यवहारिक अनुभूति दिने कुरामा आफूहरु दृढ रहेको र त्यहीअनुसार बातावरण मिलाउने दाबी गरे ।