कास्की उपनिर्वाचनमा पत्रकार विमला भण्डारीको चर्चा

कास्की उपनिर्वाचनमा पत्रकार विमला भण्डारीको चर्चा


आगामी मंसीर १४ गते हुन गइरहेको उपनिर्वाचनमा कास्की–२ को उम्मेदवारमा नेपाली कांग्रेसबाट पत्रकार विमला भण्डारीको समेत चर्चा शुरु भएको छ ।

तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको असामयिक निधनपश्चात रिक्त पदको लागि हुन गइरहेको उपनिर्वाचनमा नेकपाबाट दिवंगत अधिकारीकी पत्नी विद्या भट्टराईको चर्चा चलिरहँदा कांग्रेसबाट पत्रकारसमेत रहेकी भण्डारीको चर्चा शुरु भएको हो ।

कास्कीका दलहरू यतिबेला उपनिर्वाचनको तयारीमा जुटेका छन् । यस निर्वाचनमा नेकपा र कांग्रेसको मुख्य प्रतिस्पर्धा हुँदैछ । नेकपाले विद्याको नाम सिफारिस गरिरहँदा कांग्रेसले भण्डारीको नाम सिफारिस गरेको हो । कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघबाट २०५३ देखि राजनीतिक यात्रा सुरु गरेकी भण्डारी हाल पनि कांग्रेसका विभिन्न भातृ–संगठनहरूको नेतृत्व गरिरहेकी छन् ।

पोखराको पृथ्वीनारायण क्याम्पसमा २०५८ देखि नेविसंघको राजनितिमा कृयाशिल रहेकी उनले २०६२ को स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघको नेतृत्व गर्दै होमिएकी थिइन् । नेविसंघको प्यानलमा सर्वाधिक मत प्राप्त गरेकी भण्डारी अहिले कास्की कांग्रेसमा सक्रिय छन् । पोखरा–१७ निवासी भण्डारी वडादेखि जिल्लाको राजनीतिमा लामो समयदेखि सकृय भएकाले पार्टीले उच्च मूल्याङ्गन गर्दै उम्मेदवारको लागि सिफारिस गरेको हो ।

विगत १९ बर्षदेखि पत्रकारिता क्षेत्रमा कृयाशिल भण्डारी नेपाल सरकारको न्युनतम पारिश्रमिक निर्धारण समितिकी सदस्य छन् । यसैगरी नेपाल पत्रकार महासंघ शाखा कास्कीको उपाध्यक्ष रहेकी भण्डारी महिला पत्रकारहरुको संगठन संचारिका समूहको केन्द्रिय सदस्य पनि हुन् । रेडियो जननीको स्टेशन म्यानेजर रहेकी उनी महिला पत्रकारको नेतृत्व गर्दै आएकी छन् । पर्यटन पत्रकार संघको गण्डकी प्रदेश संयोजक रहेकी उनी नेपाल प्रेस युनियनको केन्द्रिय महिला विभाग सदस्यसमेत हुन् । पत्रकारिता र राजनीतिक फाँटमा संगसंगै कृयाशील रहँदै कास्कीका करिव दुई दर्जन संघ संस्थाको नेतृत्व पनि विमलाले सम्हाल्दै आएकी छन् ।

राजनीतिमै किन ?

सामाजिक अभियन्ताको रुपमा कास्कीमा छुट्टै पहिचान बनाएको नाम हो विमला भण्डारी । भण्डारी राजनैतिक क्षेत्रमा नै किन भन्ने प्रश्न यतिबेला कास्कीमा नचलेको पनि होइन । उनी भन्छिन्, ‘स्ववियु निर्वाचनमा होमिदै गर्दा मेरो मत सर्वाधिक आएको थियो । कांग्रेस पार्टीको विभिन्न भातृ संगठनमा पनि रहेर काम गरेँ । परिवर्तनका लागि राजनितिक नै मुलधार आवश्यक छ । राजनीतिक क्षेत्रमा आएका विकृति र विसंगतिलाई चिर्दै कांग्रेसको गरिमालाई उच्च बनाउन जरुरी छ । राजनीतिविना समाज परिवर्तनको विकल्पै छैन । यसैले उपनिर्वाचनमा होमिने सोच गरेँ ।’

सामाजिकसंगै राजनीतिक नेतृत्वमा पनि महिला सहभागिता न्युन भएकाले निर्वाचनमा होमिने सोच उनको छ । ‘सभ्य भनेकै समाजको समृद्धि हो’ उनी दोहोऱ्याउँछिन्, ‘समाज परिवर्तनको लागि राजनीतिक एउटा माध्यम मात्र हो । यही माध्यमबाटै समृद्धि ल्याउन दलीय उम्मेदवारी दिनुपरेको हो ।’

नेपाल कम्युनिष्ट पार्टीले महिला उम्मेदवार दिने चर्चा चलिरहँदा कांग्रेसले पनि महिला उम्मेदवारको नाम सिफारिस गरेको हो । चुल्होचौकोमा मात्र सीमित रहने महिला अब राजनीतिक नेतृत्व र सत्तामा पुग्न जरुरी रहेको कांग्रेस अगुवाहरू बताउँछन् ।

ज्ञातव्य छ, कास्की कांग्रेसले विमला भण्डारीसहित १६ जनाको नाम सिफारिस गरेको छ भने नेकपाले पनि विद्यासहित तीन जनाको नाम केन्द्रिय समितिमा सिफारिस गरेको छ ।