मध्यरातमा १० बुँदे सहमतिपछि साम्य हुँदै विवाद

मध्यरातमा १० बुँदे सहमतिपछि साम्य हुँदै विवाद


■ नारद कोहार, कपिलवस्तु

कपिलवस्तुको कृष्णनगरमा पैदा भएको विवाद साम्य हुने देखिएको छ । गत बुधबार साँझदेखि कृष्णनगर तनावग्रस्त थियो । लक्ष्मीपूजाको मूर्ति विसर्जनका बेला स्थानीय हिन्दु र मुस्लिम समुदायबीच विवाद बढ्दै जादा घटनाले उग्र रुप लिन पुगेको थियो ।

विवाद मिलाउन प्रशासन र त्यहाँका सरोकारवाला बीच लामो छलफल भए पनि घटना साम्य हुन नसक्दा बिहीबार विहान ११ः०० बजेदेखि कर्फ्यु जारी गरिएको थियो । कर्फ्य जारी गरे पनि स्थानीय युवाहरुले त्यसको उल्लङ्घन गर्दा एक युवाको प्रहरीको गोली लागेर मृत्यु भएको छ । मृतक सुरज कुमार पाण्डे हुन् ।

दिनभरजसो तनावग्रस्त कृष्णनगरमा वार्तामार्फत समाधान खोज्न विभिन्न प्रयास भएका थिए । पटक पटकका प्रयास विफल भए पनि प्रशासनले बिहीबार मध्यरातमा १० बुँदे सहमति गरेर घटनालाई मत्थर पार्ने प्रयास गरेको छ । राति नै कडा सुरक्षाका बीच प्रशासनले मूर्ति विसर्जन गरेको छ ।

१०बुँदे सहमतिमा मूर्ति विसर्जन गर्न अवरोध सिर्जना गर्ने जमाल खाँलाई कानुनअनुसार कारवाही गर्नेदेखि मृतक पाण्डेलाई क्षतीपूर्तिको लागि नेपाल सरकारलाई सिफारिस गर्ने रहेको छ । यस्तै प्रहरीले दमन गरे नगरेको छानबिन गरिने पनि बुँदामा उल्लेख छ ।

कृष्णनगर क्षेत्रमा आगामी दिनमा कुनै अप्रिय घटना हुन नदिनका लागि साझा पहल गरिने भएको छ । बिहीबार विहान ११ बजेदेखि लगाइएको कर्फ्यलाई घटाउँदै लैजाने तयारी पनि भएको बताइएको छ।