झापामा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल आयोजना हुँदै

झापामा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल आयोजना हुँदै


शनिबार (१६ कात्तिक) देखि झापामा ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप फुटबल’ प्रतियोगिता हुने भएको छ । कात्तिक १६ देखि २५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा हुने सो प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका चार क्लबसहित १० टोलीको सहभागिता रहने खेल संयोजक अभिनाश राईले जानकारी दिएका छन् ।

नब्बे लाखको लागत भएको उक्त प्रतियोगिताको उपाधि विजेताले १२ लाख ५० हजार तथा उपविजेताले ६ लाख २५ हजार पुरस्कार प्राप्त गर्ने बताइएको छ ।

प्रतियोगितामा सङ्कटा फुटबल क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, झापा–११ फुटबल क्लब, जायोन स्पोर्टस् क्लब, मोलवे आसाम, गोर्खा ब्याइज रुपन्देही र सिक्किम आक्रामक एफसी क्लबले सहभागीता जनाउने निश्चित भए पनि एउटा क्लबको टुङ्गो लाग्न बाँकी रहेको संयोजक राईले बताए ।

प्रतियोगिताका उत्कृष्ट गोल रक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी, सर्वाधिक गोलकर्तालाई नगद पुरस्कार तथा उत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजक समितिका सचिव गौरीमान राईले जानकारी दिए ।