पाकिस्तानमा बिहीबार बिहान गुडिरहेको एउटा रेलमा आगलागी हुँदा साठीभन्दा बढी यात्रुको मृत्यु भएको छ । यस दुर्घटनामा अरू कैयौँ घाइते भएका स्थानीय यातायात अधिकारीहरूले जानकारी दिएका छन् ।
पाकिस्तानको कराँची शहरबाट रावलपिण्डीतर्फ गइरहेको तेजगाम एक्सप्रेसको रेलमा बिहीबार बिहान आगलागी भएको प्रहरीको प्रतिवेदनमा जनाइएको छ ।
रेलमा रहेका यात्रुको सिलिन्डर विस्फोट भएका कारण उक्त आगलागी हुन पुगेको अनुमान गरिएको पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन् । तर, यसको आधिकारिक पुष्टि भने भएको छैन ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आगलागीको क्रममा रेलका तीनवटा डब्बा जलेका छन् । आगो नियन्त्रणमा आएकाले अन्य डिब्बा भने जल्न नपाएको बताइएको छ ।
यस घटनामा घाइते भएकाहरूको लियाकतपुरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको संख्या थप बढ्न सक्ने आशंका गरिएको पनि समाचारमा उल्लेख गरिएको छ ।
रासस–सिन्ह्वा
प्रतिक्रिया