बगदादीबारे जानकारी उपलब्ध गराउने सुराकीलाई २ करोड ५० लाख इनाम !

बगदादीबारे जानकारी उपलब्ध गराउने सुराकीलाई २ करोड ५० लाख इनाम !


विश्वकै सबभन्दा खतर्नाक आतङ्कवादी सङ्गठन इस्लामिक स्टेटका प्रमुख अबू अल–बगदादी लुकेको स्थानबारे जानकारी उपलब्ध गराउने सुराकीलाई अमेरिककाको तर्फबाट दुई करोड पचास लाख अमेरिकी डलर प्रदान गरिने सम्भावना रहेको बताइएको छ । बगदादीमाथि अमेरिकाले पहिले नै यो इनाम राशि घोषणा गरेको आधारमा वासिङ्टन पोस्टले बुधबार यससम्बन्धी समाचार प्रकाशित गरेको छ ।

गत शनिबार (२६ अक्टोवर) अमेरिकी कमाण्डो टोलीले अत्यन्त गुप्त तरिकाबाट उत्तर–पश्चिम सिरियास्थित बगदादीको ‘सुरक्षित ठेगाना’मा हमला गरेको थियो । आतङ्कवादी बगदादीले भाग्ने कोशिस गरे पनि एउटा घरमुनि बनाइएको सुरुङभित्रै आफ्ना तीन सन्तानसहित ‘सुसाइडल बेल्ट’ पड्काएर आत्महत्या गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार पत्रकार सम्मेलनमार्फत बगदादी मारिएको जानकारी दिएका थिए ।

सुराकीले दिएको सही जानकारीको आधारमा अमेरिकी कमाण्डो टिमले बगदादीको आश्रयस्थल ध्वस्त तुल्याएको थियो । बताइएअनुसार इस्लामिक स्टेटभित्रकै कुनै सदस्यले सिरियामा बगदादीको गतिविधि जारी रहेको जानकारी उपलब्ध गराएको थियो ।

सुराकीको राष्ट्रियताबारे खुलासा गरिएको छैन, तर उनलाई २ करोड ५० लाख डलर इनाम मिल्ने सम्भावना प्रवल रहेको अखबारले जनाएको छ ।

सुराकीले बगदादीको निवासबारे विस्तृत जानकारीसहित उसलाई आश्रय उपलब्ध गराउनेहरूका बारे र बगदादी लुकेको स्थानको एक–एक कोठा एवम् सुरुङको विवरण उपलब्ध गराएको थियो, जसका आधारमा कमाण्डो टोलीलाई बगदादीविरुद्धको अपरेसन सफलताका साथ सम्पन्न गर्न ठूलो मद्दत पुग्यो ।

उक्त सुराकी एक सुन्नी अरबियन रहेको र आफ्ना एक आफन्तलाई इस्लामिक स्टेटले हत्या गरिदिएकोले उ सङ्गठनप्रति रुष्ट बन्न पुगेको थियो । सोही हत्याको बदला लिन उसले बगदादीको पोल खुलाइदिएको एजेन्सीहरूले उल्लेख गरेका छन् ।