उम्मेदवार छान्न देउवा निवासमा कांग्रेसको पदाधिकारी बैठक

उम्मेदवार छान्न देउवा निवासमा कांग्रेसको पदाधिकारी बैठक


मंसिरमा हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोट गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको छ । पदाधिकारी बैठकले प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित निकायले सिफारिस गरी पठाएका नामावलीमाथि छलफल गरी टुंगो लगाउने बुझिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार पदाधिकारी बैठकमा समसायिक राजनीति, उपनिर्वाचनमा पार्टीको तयारी, पार्टीका केन्द्रीय विभाग गठनलगायतका विषयमा समेत छलफल हुनेछ । तर, शीर्ष तहका केही नेताले उम्मेदवार छनोटबाहेकका एजेण्डामा आज छलफल नहुने अभिव्यक्ति दिएका छन् ।

ज्ञातव्य छ, आगामी मंसिर १४ गते ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदै छ।

उपनिर्वाचन हुने जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट कांग्रेसका सम्बन्धित सबै निकायले उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् ।