प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य


प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार बिहान (१३ कात्तिक) धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल जानुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको सो अस्पतालले जनाएको छ ।

अस्पतालले एक प्रेस विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको स्वास्थ्यबारे आवश्यक परीक्षणहरु पूरा भएपछि उहाँ निवास फर्कनुहुने जनाएको हो । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले ‘आत्तिनुपर्ने कुरा केही छैन, सबै ढुक्क भए हुन्छ, उहाँलाई एकदम राम्रो छ, खाना खाइरहनुभएको छ, आराम गरिरहनुभएको छ’ भन्नुभयो । अस्पतालका अनुसार सम्भवतः प्रधानमन्त्री ओली आज (बिहीबार) नै निवास फर्कनुहुनेछ ।

सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै डाइरेक्टर डा. पाण्डेले भन्नुभयो, ‘प्रधानमन्त्रीको उपचार गर्ने मुख्य डाक्टरमा प्राडा दिव्या सिंह शाह हुनुहुन्छ, हरेक परीक्षणको नतिजाहरु आएपछि त्यसलाई डाक्टरको टिमले विश्लेषण गर्नेछ, प्रधानमन्त्रीको स्वास्थ्य भनेको देशका लागि जिज्ञासाको विषय हो, आत्तिनुपर्ने छैन, उहाँको अवस्था सामान्य छ ।’

ज्ञातव्य छ, प्रधानमन्त्री ओली गत भदौमा सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा मिर्गाैलासम्बन्धी एन्टिबडीलाई शरीरबाट निराकरण गर्ने उपचार विधि (प्लाज्मा फेरेसिस)बाट उपचार गरी स्वदेश फर्कनुभएको थियो ।