आगलागीका कारण उत्तरी क्यालिफोर्नियाबाट ५० हजार विस्थापित

आगलागीका कारण उत्तरी क्यालिफोर्नियाबाट ५० हजार विस्थापित


जंगलमा लागेको भीषण आगलागीका कारण अमेरिकाको उत्तरी क्यालिफोर्नियाबाट झण्डै ५० हजार जना स्थानीय बासिन्दा विस्थापित भएका छन् ।

नजिकैको जङ्गलमा लागेको आगो नियन्त्रणमा नआएकाले फैलिँदै बस्तीसम्म आउन सक्ने देखेर क्यालिफोर्नियाको हेल्डस्बर्ग र विन्डसरका बासिन्दालाई अन्यत्र सारिएको हो ।

क्यालिफोर्नियाको जङ्गल तथा अग्नि नियन्त्रण विभागका अधिकारीले आगो अत्यन्त चाँडो फैलिएको जानकारी दिएका सिन्ह्वाले जनाएको छ । आगोले अहिलेसम्म चार दर्जनभन्दा बढि संख्यामा संरचनाहरु ध्वस्त पारिसकेको र अरु हजारौँ घरमा क्षति पुऱ्याउने देखिएको विभागका अधिकारीको भनाइ छ ।

अग्नि नियन्त्रकले क्यालिफोर्नियाका जङ्गलमा सल्किएको आगो नियन्त्रण गर्ने प्रयास गर्दै गर्दा दशौँ लाख मानिस बिजुली आपूर्तिबाट वञ्चित हुन सक्ने चेतावनी पनि दिएका छन् ।

ठूलो हावाहुरीका कारण विद्युत प्रसारण लाइनमा झिल्का उत्पन्न हुन सक्ने र जसका कारण डढेलो झनै खतरनाक बन्न सक्ने भएकाले विद्युत सेवा बन्द गरिने भएको हो ।

उत्तरी क्यालिफोर्नियामा गत बुधबार शुरु भएको डढेलो नजिकैको बिजुलीको तारमा क्षति पुगेको केही बेरपछि फैलिन थालेको थियो ।

आगो निभाउन १,३०० भन्दाबढी अग्नि नियन्त्रक र विमानसमेत परिचालन गरिएको छ ।