‘जुवाडे’को समूहमा इन्द्र बानियाँको नाम जोडिएकामा काङ्ग्रेसको आपत्ति

‘जुवाडे’को समूहमा इन्द्र बानियाँको नाम जोडिएकामा काङ्ग्रेसको आपत्ति


जुवाको खालबाट जुवाडेको समूहलाई प्रहरीले पक्राउ गरेकोसम्बन्धी समाचारमा केही सञ्चारमाध्यमले पूर्व गृहराज्यमन्त्री समेत नेपाली काङ्ग्रेसका नेता इन्द्रबहादुर बानियाँको नाम जोडेर समाचार प्रकाशन गरेकोप्रति काङ्ग्रेसले आपत्ति जनाएको छ ।

समाचारमा बिनाआधार पूर्वगृहराज्यमन्त्री एवम पार्टीका नेता इन्द्रबहादुर बानियाँको नाम उल्लेख गरेको भन्दै नेका पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यालय सानेपामा आइतबार पत्रकार सम्मेलन गरी आपत्ति जनाएका हुन् ।

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले सत्यतथ्य नबुझी कुनै पनि व्यक्तिको इज्जत प्रतिष्ठामा आँच आउने गरी समाचारमा नाम उल्लेख गर्नु दुःखद् भएको जिकीर गरे । तथ्यमा आधारित भएर समाचार प्रकाशन गर्न आग्रह गर्दै प्रवक्ता शर्माले यस्ता घटनाको कानूनी उपचारमा नजाने भए पनि सम्बन्धित व्यक्ति कानूनी उपचारमा जाने विषयलाई भने पार्टीले सकारात्मक रूपमा लिने जानकारी दिए ।

प्रदेश नं ३ को प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका बानियाँले सत्यतथ्य नबुझी समाचारमा नाम उल्लेख गर्दा आफ्नो चरित्रहत्या गर्ने काम भएको गुनासो गरे । उक्त समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले कुनै सञ्चारमाध्यमको गल्ती र कमजोरीका कारण सम्पूर्ण सञ्चारजगत्ले नै विश्वास गुमाउने अवस्था सिर्जना हुने धारणा राखे ।