केपीको प्रश्न- ‘भण्डारीसँग पनि जोड्ने अनि हाम्रो दूरी बढेको कुरा गर्ने ?’

केपीको प्रश्न- ‘भण्डारीसँग पनि जोड्ने अनि हाम्रो दूरी बढेको कुरा गर्ने ?’


‘उहाँ (प्रचण्ड) काठमाडौंमा र म बाकुमा हुँदा दूरी त बढ्ने नै भयो । किनकी दूरी नै टाढा छ । योबाहेक हामीबीच दूरी बढ्ने अरु कुरा त छैन…!’

असंलग्न आन्दोलन(नाम)को अजरबैजानको बाकुमा सम्पन्न १८औंँ शिखर सम्मेलनमा नेपाली प्रमण्डलको नेतृत्व गरी आज स्वदेश फर्केपछि आयोजित पत्रकार भेटघाटमा प्रधानमन्त्री केपी ओलीले दिनुभएको अभिव्यक्ति हो यो । ‘पार्टीका अर्का अध्यक्ष प्रचण्ड र तपाईंबीच दूरी बढेको हो ?’ भन्ने सञ्चारकर्मीको सवालमा उहाँले आफ्नै शैलीमा जवाफ दिनुभयो ।

पछिल्ला केही दिनयता केपी र प्रचण्डबीच चिसोपन बढेको चर्चाले राजनीतिक वृत्त तातेको छ । घटना–सन्दर्भहरूले दुई अध्यक्षबीच न्यानो सम्बन्ध नरहेको सङ्केत पनि गरेका छन् । खासगरी सम्बन्धमा तिक्तता आएको सन्देश प्रवाहित हुनेगरी प्रचण्डद्वारा सार्वजनिक अभिव्यक्ति दिइएको छ ।

तर, प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कुनै प्रकारको दूरी नबढेको र बढ्ने अवस्थासमेत नरहेको जनाउनुमा आफ्नै तहको ‘बाध्यता’ रहेको विश्लेषकहरूको ठहर छ ।

जननेता मदनकुमार भण्डारीकै कित्तामा विगतमा आफू रहेको भन्ने प्रचण्डको पछिल्लो अभिव्यक्तिबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीको जवाफ थियो, ‘उहाँले कुन प्रसङ्गमा भन्नुभएको हो त्यो थाहा भएन तर जननेता भण्डारीको विचारका आधारमा पार्टीलाई समयानुकूलरुपमा अघि बढाउँछु भन्नुभएको हो । भण्डारीसँग पनि जोड्ने अनि हाम्रो दूरी बढेको कुरा पनि गर्ने, यो कुन गणितले काम गर्छ मलाई थाहा भएन । हाम्रो दूरी बढेको छैन ।’

pict:rss