संविधान मिचिए तरुण दल सडक आन्दोलनमा उत्रिने

संविधान मिचिए तरुण दल सडक आन्दोलनमा उत्रिने


नेपाल तरुण दलले आफ्नो स्थापनाको ६६औँ स्थापना दिवस मनाएको छ । विसं २०१० कात्तिक १० गते स्थापना भएको दलले आज (१० कात्तिक) राजधानीस्थित काङ्ग्रेस केन्द्रीय कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार प्रजातान्त्रिक तरिकाबाटै निर्वाचित भए पनि प्रजातान्त्रिक हकअधिकारलाई सङ्कुचन गर्न खोजेको आरोप लगाए । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षा र राष्ट्रिय एकता तथा अखण्डतालाई अक्षुण्ण राख्न तरुण दल र विद्यार्थीको काँधमा महत्वपूर्ण जिम्मेवारी आएको बताए ।

‘प्रजातन्त्रमा सबैभन्दा महत्वपूर्ण विषय विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, वाक स्वतन्त्रता, सम्पत्तिको हक, स्वाभिमानका साथ निर्धक्कसँग बाँच्न पाउनेलगायत हक हुन् । यसमा षडयन्त्र हुन लागेको छ । त्यसविरुद्ध लड्न सम्पूर्ण युवा तरुणको भूमिका महत्वपूर्ण हुन्छ । अब तपाईंहरुको काँधमा बढी जिम्मेवारी आएको छ’– देउवाको भनाई थियो ।

कार्यक्रममा तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले मुलुकका सबै ठूला आन्दोलन काङ्ग्रेसकै नेतृत्वमा सफल भएको र नेपालको संविधान पनि काङ्ग्रेसकै नेतृत्वमा जारी भएको उल्लेख गर्दै कहीँ कतैबाट पनि संविधान मिच्ने काम भयो भने त्यसविरुद्ध तरुण दल सडक आन्दोलनमा उत्रिने चेतावनी दिए भने दलका कोषाध्यक्ष विद्वान गुरुङले मुलुकमा भ्रष्टाचार, अनियमितता र कालोबजारी बढेको र शान्ति सुरक्षा पनि प्रभावकारीरूपमा कायम हुन नसकेको भन्दै त्यसविरुद्ध तरुण दलले सशक्त आवाज उठाउने बताए ।

कार्यक्रममा काङ्ग्रेसका शीर्ष नेता, केन्द्रीय सदस्यहरुका साथै पार्टी र तरुण दलका नेता कार्यकर्ताको ठूलो सङ्ख्यामा उपस्थिति थियो ।