‘एक मधेश एक प्रदेश हुन सक्दैन’ : उपसभापति गच्छदार

‘एक मधेश एक प्रदेश हुन सक्दैन’ : उपसभापति गच्छदार


नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले ‘एक मधेश एक प्रदेश’मा जान नहुने धारणा अघिसारेका छन् ।

ललितपुरको गोदावरी नगरपालिकाले तिहार, नेपाल सम्वत् ११४० एवम छठ पर्वको अवसरमा शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उपसभापति गच्छदारले पार्टीको स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताए ।

उनले भने– ‘मभन्दा ठूलो पार्टी हो । पार्टीभन्दा ठूलो मधेश हो । मधेशभन्दा ठूलो मेरो देश भएकाले यसलाई विभाजन गरेर मुलुकले समृद्धि हासिल गर्न सक्दैन ।’ थारु र जनजातिको हकहितका लागि लडेको मान्छे समग्र मुलुकको हितमा लड्नुपर्छ भनी आफू काङ्ग्रेसमा लागिपरेको उनको भनाइ थियो ।

काङ्ग्रेसमा रहेर महँगी र भ्रष्टाचारलगायत विसङ्गति नियन्त्रण गर्नमा रचनात्मक भूमिका निर्वाह गरिरहेको दाबी गर्दै उनले आगामी निर्वाचनमा विजय हासिल गर्न काङ्ग्रेस लागिपरेको पनि बताए । गच्छदारले युवा पुस्ताले पुराना पुस्ताको योगदानलाई बिर्सनु नहुने भन्दै देश निर्माणमा युवा पुस्ता अनुशासित भएर अघि बढ्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा काङ्ग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्यले पञ्चायती र व्यक्तिवादी प्रवृत्तिबाट माथि उठेर लोकतान्त्रिक संस्कार अङ्गाल्न कार्यकर्तालाई आग्रह गरे भने पूर्वअर्थराज्यमन्त्री समेत रहेका काङ्ग्रेस नेता उदयशमशेर राणा, नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारीले काङ्गे्रसको जागरण अभियानले मुलुकमा ऊर्जा थपेको धारणा अघि सारे ।