‘एसेक्स’ घटनामा संलग्न थप दुई पक्राउ

‘एसेक्स’ घटनामा संलग्न थप दुई पक्राउ


लण्डनबाट उत्तरपूर्वमा रहेको एसेक्स इलाकामा ‘कन्टेनर’भित्र भेटिएका ३९ मृतशरीर बारेमा अनुसन्धान गर्न बेलायतको प्रहरीले थप दुई जनालाई शुक्रबार पक्राउ गरेको छ ।

घटनामा संलग्न भएको आशंकामा ३८ वर्षीय एक महिला र एक पुरुषलाई वारिङ्टन चेसायरबाट प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाउन लागेको हो ।

घटनामा सम्लग्न रहेको हुनसक्ने आरोपमा २५ वर्षीय ‘कन्टेनर’ चालकलाई भने गत बुधबार नै पक्राउ गरिसकिएको छ । उत्तरी आयरल्याण्डका नागरिक ती चालकसँग प्रहरीले अहिले पनि रहस्यमय घटनाका बारेमा बयान लिइरहेको छ ।

गत बुधबार आठ महिला र ३१ पुरुष गरी ३९ जनाको शव एउटा ‘कन्टेनर’भित्र रहेको अवस्थामा प्रहरीले भेट्टाएको थियो । शव चिनियाँ नागरिकको भएको हल्लापछि चिनियाँ टोली पनि अहिले बेलायत पुगेको एएफपीले जनाएको छ ।

स्थानीय समयानुसार राति १ः४० मा ग्रेजस्थित वाटरग्लेड औद्योगिक क्षेत्रमा दर्जनौै शव भएको सूचना प्रहरीले पाएको थियो । शव भेटिएको लरी बुल्गेरियाबाट गत साता शनिबार बेलायत प्रवेश गरेको प्रहरीले जनाएको छ ।

यसअघि सन् २००० को जुन महिनामा पनि ५८ चिनियाँ आप्रवासीको शव बेलायतकै डोभरमा एउटा लरीको पछाडि फेला पारिएको थियो । त्यतिबेला शवसँगै दुई जना भने जीवितै भेटिएका थिए ।