‘कम्युनिष्ट आफ्नै कारणले कमजोर हुँदै छन्’

‘कम्युनिष्ट आफ्नै कारणले कमजोर हुँदै छन्’


■ हेमशंकर सिंह, राजविराज

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सप्तरीमा जिल्ला कमिटी गठनको विवाद चरम उत्कर्षमा पुगेको छ । दशैँ–तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा समेत यतिबेला पार्टीभित्रको आन्तरिक विवाद छताछुल्ल हुन थालेको छ ।

नेकपाका केन्द्रिय सदस्यसमेत रहेका प्रदेश २ का सचिव सुमनराज प्याकुरेल र तत्कालीन नेकपा एमालेका जिल्ला अध्यक्ष रहेका प्रदेशसभा सदस्य गोविन्द न्यौपानेको नेतृत्वमा यतिखेर छुट्टाछुट्टै शुभकामना आदानप्रदान कार्यक्रमको आयोजनासँगै एकअर्काको खेदो खन्ने काम भइरहेको छ ।

नेकपा गठनपछि सप्तरीमा बनेको जिल्ला कमिटिमा न्यौपानेले सचिवको जिम्मेवारी पाएका छन् । तर, पुरानो एमालेको जिल्ला कमिटिमा रहेका कतिपय सदस्यहरू नयाँ कमिटिमा नअटाइएकोप्रति असन्तुष्टि पोख्दै उनले हालसम्म सचिव पदको सपथ खाएका छैनन् ।

न्यौपानेसँगै तत्कालीन नेकपा माओवादी केन्द्रका नेता रहेका पुर्वमन्त्री उमेश यादव पनि पार्टीको कुनै पनि जिम्मेवारी नपाएपछि यतिखेर विद्रोहमा उत्रिएका छन् । न्यौपाने र यादव एकसाथ भई पार्टीलाई विधानभन्दा पनि केहि खास ब्यक्तिको इसारामा चलाउन खोजिएको र पार्टीप्रति प्रतिबद्ध नेता–कार्यकर्ताहरूलाई पाखा लगाउन खोजिएको आरोप लगाउँदै मोर्चाबन्दी नै सुरु गरेका छन् ।

पञ्चायतमा बसेर कम्युनिष्ट नेताको हत्या गराउन खोज्ने पुर्वपञ्चहरूले नेकपामा फाटो पार्न खोजेको आरोप

नेकपाको केन्द्रीय सचिवालयको ०७६ वैशाख ८ को बैठकले जिल्ला कमिटी गठन गर्न तयार पारेको मापदण्डअनुसार कमिटी गठन गर्दा साविक जिल्ला कमिटीका सदस्यहरू यथावत रहने र थप्न मिल्ने अवस्थामा सम्बन्धित प्रदेश कमिटीले वरिष्ठ र सक्षम मध्येबाट थप्ने प्रावधानसहितको मापदण्ड केन्द्रीय कार्यालयले ०७६ वैशाख ९ गते परिपत्र गरको थियो ।

तर, सप्तरीमा पूर्वएमाले र पूर्वमाओवादी दुवै पक्षका केही नेता–कार्यकर्ता कमिटीबााहिर परे । त्यसमा प्रदेशसचिव प्याकुरेलले चलखेल गरेको आरोप छ । सोही समयदेखि उनीहरुले असन्तुष्टि ब्यक्त गर्दै आएका छन् ।

सप्तरीमा नेकपाको कुल १ सय ६५ सदस्यीय जिल्ला कमिटीमा तत्कालीन नेकपा एमालेका तर्फबाट सचिवसहित ८४ र माओवादी केन्द्रका तर्फबाट अध्यक्षसहित ८१ सदस्य रहेका थिए । माओवादीतर्फ सिनियर नेता तथा जनयुद्धको क्रममा जेलनेल र यातना भोगेकाहरूलाई पाखा लगाइएको असन्तुष्ट पक्षले आरोप लगाएका छन् ।

भूमिगतकालदेखि पार्टीमा सक्रिय रहेका देवराम यादव, गोपाल गुप्ता, पवन यादव, उमेश मण्डल, ज्ञानेन्द्र घिमिरे, बलबहादुर महतो, सहिद पत्नी कविता ठाकुर, दानालाल चौधरी लगायतका महत्वपूर्ण नेताहरू कमिटीमा नल्याई पार्टीको सदस्य नै नभएका र नीति र सिद्धान्त नै नबुझेका माला कर्ण, राहुल मण्डलसहित एक दर्जनभन्दा बढीलाई कमिटीमा ल्याइएको उनीहरूको आरोप छ ।

‘पार्टीको गुटगत स्वार्थबाट प्रेरित भएर पुराना नेताको राजनीतिक करिअर हत्या गर्ने प्रयास भएको असन्तुष्टहरूको गुनासो छ ।

सचिवसहित ८४ जना पाएको तत्कालीन एमालेभित्र पनि असन्तुष्टि ब्याप्त छ । तत्कालीन उपाध्यक्ष अब्दुल मजिद शाकिर, जिल्ला कमिटी सदस्य राजेन्द्र साहसहित करिब २० जना सदस्य छाँटिएको र करिव १० जना मापदण्ड नै नपुगेका नयाँ अनुहार समितिमा छिराइएको नेता÷कार्यकताले गुनासो गरेका छन् ।

बर्दिवासमा आयोजित सपथग्रहण समारोहमा प्रदेश २ का अध्यक्ष प्रभु साह र सचिव प्याकुरेललाई कार्यकर्ताले हातपात समेत गरेका थिए । सोही क्रममा प्रहरीले लाठीचार्ज गर्दा प्रदेशसदस्य देवनाथ यादव घाइते हुन पुगेका थिए । दिनभरीको तनावपछि प्रहरी परिचालन गरेर राती साढे ८ बजेपछि सप्तरी र सिरहाको सपथग्रहण सम्पन्न गरिएको थियो । तर, धेरै पदाधिकारी र सदस्य सपथग्रहणमा सहभागी भएनन् । दुई दर्जन जति सदस्य सप्तरी जिल्ला कमिटीका सचिव गौविन्दबहादुर न्यौपानेको नेतृत्वमा सपथ ग्रहणमा सहभागी भएनन् ।

यतिखेर प्रत्येक दिन नेकपाको नाममा जिल्लामा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना हुँदै आएको छ । पार्टीका जिल्ला अध्यक्ष अशोक कुमार मण्डल (अमर) पार्टी स्थायी समिति सदस्य सत्यनारायण मण्डल र केन्द्रिय सदस्य सुमनराज प्याकुरेलको गुटमा रहेका छन् ।

दिनहुँ छुट्टाछुट्टै आयोजना हुँदै आएको शुभकामना आदानप्रदान कार्यक्रममा एकले अर्को पक्षको दोष देखाउँदै कारवाहीको माग गर्न थालेका छन् । करिव २ महिना अगाडि बर्दिवासमा आयोजित पार्टीको सपथग्रहण समारोहमा उत्पन्न विवादपछि एक पक्षले अर्को पक्षमाथि हिलो छ्याप्ने काम गर्दै आएका छन् । पार्टीको संस्थापन पक्षले भने कम्युनिष्ट पार्टीमा पुर्वपञ्चहरूले फाटो पार्न खोजेको अरोपसमेत लगाउन थालेका छन् ।

नेकपा सप्तरीको कन्चनरुप नगर कमिटिले शुक्रबार (८ कात्तिक) रुपनगरमा आयोजना गरेको १ नं. क्षेत्रस्तरीय शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पार्टीका केन्द्रिय सदस्य तथा प्रदेश कमिटीका सचिव सुमनराज प्याकुरेलले भने– ‘हिजो पञ्चायतमा बसेर कम्युनिष्ट नेताको हत्या गराउन खोज्नेहरू यतिखेर पार्टीमा टालो पार्न खोज्दैछन् । तत्कालीन नेकपा एमालेको जिल्ला अध्यक्ष रहेका गोविन्द न्यौपानेलाई लक्षित गर्दै उनले भने– ‘उनीहरुलाई सुध्रिने मौका त दिइयो तर रत्नाकर डाँका सुध्रेर तुलसी दास भएजस्तो हुन सकेनन् ।’

पार्टीभित्रको अन्तरविरोधलाई वैधानिक रुपमा अगाडि बढाउनुको साटो सार्वजनिक रुपमा तिनीहरुले दुष्प्रचार गर्दै हिँडेको आरोप लगाउँदै प्याकुरलले भने– जिल्ला अध्यक्ष र जिल्ला इन्चार्जलाई जानकारी नदिई भइरहेको शुभकामना आदानप्रदान लगायतका कुनै पनि कार्यक्रमहरू अवैधानिक हुन् ।’

पार्टी जोगाउने र बनाउने जिम्मेवारी पार्टीका सम्पुर्ण नेता–कार्यकर्ताहरूको रहेको भन्दै प्याकुरेलले अब कम्युनिष्ट प्रतिपक्षको कारणले नभई आफ्नै कारणले कमजोर हुने बताए । उनले भने– ‘अब हामीलाई प्रतिपक्षको डर छैन, कांग्रेसले अब हामीलाई कमजोर पार्न सक्दैन, कम्युनिष्ट कमजोर भयो भने अफ्नै कारणले हुनेछ ।’

सोही कार्यक्रममा बोल्दै सप्तकोशी नरपालिकाका प्रमुख उत्तम गौतमले पार्टीभित्र देखिएको आपसी अविश्वास मनमुटाव त्यागेर पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिए ।

नेकपाको प्रदेश कमिटी सदस्य आसरा चौधरीको अध्यक्षतामा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश २ को प्रदेशसभामा विपक्षी दलका नेता सत्यनारायण मण्डल, जिल्ला इन्चार्ज रामपृत पासवान, प्रतिनिधि सभा सदस्य सरिता गिरी, कन्चनरुप नगरपालिकाका प्रमुख वसन्तकुमार मिश्र, नेपाली कांग्रेसका महासमिति सदस्य जितबहादुर श्रेष्ठ र राप्रपाका क्षेत्रीय अध्यक्ष नारायण मिश्रले समेत शुभकामना ब्यक्त गरे । कार्यक्रममा स्थानीय बालबालिकाहरूले सांगीतिक प्रस्तुति दिएका थिए ।