गम्भीर स्वास्थ्य समस्याका कारण सरिफलाई जमानतमा रिहा गर्न आदेश

गम्भीर स्वास्थ्य समस्याका कारण सरिफलाई जमानतमा रिहा गर्न आदेश


पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई जमानतमा रिहा गर्न अदालतले आदेश दिएको छ । सन् २०१७ देखि कारागारमा रहेका सरिफलाई अदालतले एक करोड रुपैँया जमानत तोकेको छ । उनलाई अनिश्चित कालका लागि रिहा गर्न आदेश दिइएको हो ।

भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगीरहको समय सरिफ विरामी भएर उपचारका लागि अस्पतालमा राखिएको बेला अदालतले जमानतमा रिहा गर्न आदेश दिएको हो ।

स्वास्थ्य अवस्था विग्रिएर कमजोर भएपछि उनलाई केहीदिन अगाडि उपचारका लागि अस्पताल लगिएको थियो । उनको अहिले अस्पतालमै उपचार भइरहेको एएफपीले जनाएको छ ।

मुलुकको तीन पटक प्रधानमन्त्री भएका व्यक्ति बिरामी भएर अस्पतालमा उपचार गराइरहेका बेला कैदीभन्दा पनि स्वतन्त्रपूर्वक उपचार गर्न सघाउने उद्देश्यले लाहोरको उच्च अदालतले यस्तो आदेश दिएको बताइएको छ ।

उपचारमा संलग्न चिकित्सकले पूर्वप्रधानमन्त्री सरिफको अवस्था चिन्ताजनक भएको पुष्टि गरेपछि अदालतले उनको रिहा गर्नुपर्ने निश्कर्ष निकालेको बुझिएको छ । चिकित्सकले सरिफको रगतमा समस्या देखिएको र त्यसले शारीरिक अवस्था बिगँ्रदै गएको बताएका छन् । सरिफलाई कहाँ राखेर उपचार गराउने भन्ने बारेमा अझै निधो भइनसकेको बताइएको छ ।

अदालतको आदेशमा सातवर्षे जेल सजाय भोगीरहेका ६९ वर्षीय सरिफलाई गत मङ्गलबार कारागारबाट अस्पताल लगिएको हो । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बन्दी जीवन बिताइरहेका पूर्वप्रधानमन्त्री सरिफको स्वास्थ्यमा समस्या देखिएको थाहा पाएपछि उपचारको व्यवस्था गर्न लगाएका थिए ।

प्रधानमन्त्री खानले सरिफलाई सम्भव भएसम्मको राम्रो उपचार सेवा दिन पनि सरोकारवाला सवैलाई निर्देशन दिएका पनि समाचारमा उल्लेख गरिएको छ ।

‘पूर्वप्रधानमन्त्री सरीफको स्वास्थ्यमा जटिल समस्या देखिएको छ । यतिबेला उहाँको स्वास्थ्य लाभको कामना गर्दछु’– प्रधानमन्त्री खानले ट्वीटरमा लेखेका छन् ।

पूर्वप्रधानमन्त्री सरिफ जेल चलान भएपछि पाकिस्तान मुस्लिम लिग – नवाज (पीएमएल –एन)को नेतृत्वसमेत लिएका उनका भाइ शहबाजले सामाजिक सञ्जाल ट्वीटरमार्फत् सरिफको स्वास्थ्यका बारेमा ध्यानाकर्षण गराएका थिए ।

पाकिस्तानको सर्वोच्च अदालतले उनलाई भ्रष्टाचारी ठहर गर्दै राजनीतिमा आजीवन अयोग्यसमेत हुने गरी सात वर्ष जेल सजायको फैसला गरेको थियो । सरिफले भने राजनीतिक पूर्वाग्रहका आधारमा आफूलाई दोषी देखाइएको भन्दै आरोपलाई अस्वीकार गरेका छन् ।