कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपाबाट विद्या भट्टराई उम्मेदवार

कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपाबाट विद्या भट्टराई उम्मेदवार


आगामी मङ्सिर १४ गते हुन गइरहेको कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विद्या भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । सत्तारुढ नेकपाका दिवंगत नेता रवीन्द्र भट्टराईकी श्रीमती विद्यालाई नेकपाले कास्की–२ बाट उम्मेदवार बनाउने चर्चा शुरुदेखि नै चल्दै आएको थियो ।

शुक्रबार बसेको नेकपा कास्की जिल्ला कमिटी बैठकले भट्टराईलाई सर्वसम्मत रुपमा केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो ।

नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाका अनुसार बैठकमा उपनिर्वाचनका लागि भट्टराईको एकल नाममा सबैको सहमति जुटेपछि उहाँको नाम सिफारिस गरिएको हो ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गत ०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो ।

यस्तै, नेपाली काङ्ग्रेसले चितवनमा हुन गइरहेको उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा गरेको छ । भरतपुर महानगरपालिका–१६ तथा खैरहनी नगरपालिका–४ र ५ मा आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम सार्वजनिक गरिएको हो ।

काङ्ग्रेस महामन्त्री डा. शशाङ्क कोइरालाको प्रमुख आतिथ्यतामा भरतपुर महानगरपालिका–१६ ठूलोगढी र खैरहनी नगरपालिकाको पर्सामा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी उम्मेदवारी घोषणा गरिएको हो ।

कार्यक्रममा केन्द्रीय सदस्य जीवन परियार, काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्वराज्यमन्त्री शेषनाथ अधिकारी, निवर्तमान जिल्ला सभापति टेकप्रसाद गुरुङ, पूर्वसभापति रामकृष्ण घिमिरेलगायत सहभागी हुनुहुन्थ्यो ।

भरतपुर महानगरपालिका–१६ को अध्यक्षमा अमृत हमाल, खैरहनी नगरपालिका–४ को वडाध्यक्षमा देवबहादुर बस्नेत र वडा नं ५ को वडाध्यक्षमा प्रतिमा कार्की बस्नेतलाई पार्टीले उम्मेदवार बनाउने निर्णय गरेको छ ।

भरतपुर महानगरपालिका–१६ का वडाध्यक्ष चतुर्मान गुरुङको क्यान्सर रोगका कारण तथा खैरहनी नगरपालिकाका–४ का वडाध्यक्ष नरेन्द्र अधिकारी र वडा नं ५ का वडाध्यक्ष विश्व विजय बस्नेतको नगरपालिकाको कामको सिलसिलामा दुर्घटनामा परी निधन भएको थियो ।