खेलकुदबाट एक्कासी कहाँ ‘पलायन’ भए राखेप उपाध्यक्ष तिम्सिना ?

खेलकुदबाट एक्कासी कहाँ ‘पलायन’ भए राखेप उपाध्यक्ष तिम्सिना ?


■ श्रीविक्रम भण्डारी

राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिना ‘खेलकुद’बाट एक्कासी पलायन भएका छन् । यसअघि निकै सक्रिय देखिँदै आएका तिम्सिना १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको पूर्वसन्ध्यामा खेलकुदबाट ‘पलायन’ भएपछि अहिले उनको बारेमा खेलकुदमा विभिन्न टीका–टिप्पणी हुन थालेका छन् । कोही तिम्सिनालाई ‘विदेश पलायन भए’ भन्न थालेका छन् भने कसैले ‘भूमिगत बनेको’ टिप्पणी गरेका छन् । अहिले खेलकुदमा तिम्सिनाबारे यस्तै–यस्तै चर्चा चलेको छ ।

राखेपका पूर्व सदस्यसचिव केशवकुमार विष्टको समयमा युवा तथा खेलकुद मन्त्रालय (सिंहदरबार) र राष्ट्रिय खेलकुद परिषद (दशरथ रङ्गशाला)मा गरी दुईवटा कार्यालय खोलेर उपाध्यक्ष तिम्सिनाले खेलकुदमा देखाएको ‘चुरिफुरी’ कसबौट छिपेको छैन । सो समयमा उनले खेलकुदमा गरेको हर्कत कुनै मन्त्री ओहदाको भन्दा कम थिएन । आफू भविष्यको सदस्यसचिव हुँ भन्ने दाबी गर्दै तिम्सिनाले संघका पदाधिकारी र कर्मचारीहरूसमक्ष धाकधक्कु लगाउने र ठाउँ–कुठाउँ कर्मचारीहतको हुर्मत लिएको सन्दर्भ अहिले पनि ताजै लाग्छ ।

जब राखेपको सदस्यसचिवमा रमेशकुमार सिलवालको नियुक्ति भयो, त्यसपछि ‘नुन खाएको कुखुरा’ जस्तै तिम्सिना ओइलाउँदै गएका अनुभूति गरियो । केही समयका लागि नेपाल ओलम्पिक कमिटीको सह–महासचिव बन्दा उनको अनुुहारमा घमण्डको चमक देखिए पनि त्यसपछि पुरानै रोगको सिकार हुन पुगे । त्यसपछि खेलकुदमा उनको फुर्तिफार्ती घट्दै गयो, पाएको जिम्मेवारीबाट मुक्त भएपछि तिम्सिनालाई राखेपको उपाध्यक्ष पदको वास्तबिक अधिकार के हो, त्यो राम्रोसँग ज्ञान भयो होला ।

पछिल्लो समय प्रधानमन्त्री ओली गुटकै व्यक्ति भएका कारण सदस्यसचिव सिलवालले तिम्सिनालाई सागको केही जिम्मेवारी पनि दिए । तर, नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा तिम्सिनाले आफ्नो गुटका अध्यक्षका उम्मेद्वार उमेशलाल श्रेष्ठ र महासचिव पुरेन्द्र विक्रम लाखेलाई असहयोग गरेपछि तिम्सिनाको विरुद्धमा प्रधानमन्त्रीको कान फुक्न बालुवाटारमा ताँती नै लागेको थियो । परिणामतः बडो चलाखीका साथ युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) र सदस्यसचिव रमेशकुमार सिलवालले एउटा रणनीति बनाएर तिम्सिनाको हैसियत के हो– देखाइदिए । ओलम्पिक निर्वाचनमा दिएको धोकाको बदला लिए ।

मन्त्री र सदस्यसचिवको चक्रब्युहमा तिम्सिना यसरी फसे कि आफु अधिकारविहीन र १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)बाट बाहिरिएको समेत पत्तो पाएनन् । मन्त्री र सदस्यसचिवले राखेपको जिम्मेवार पदमा बस्ने कुनै पनि पदाधकारी १३औँ सागको समितिमा नबस्ने निर्णय गर्दै तिम्सिनालाई पासोमा पारेका थिए । झ्वाट्ट हेर्दा यो निर्णय सबैको लागि उचित देखिन्थ्यो तर यथार्थमा यो सुनियोजित ‘चाल’ थियो, तिम्सिनाको तेजोबध गर्ने । जसमा अहिले खेलकुद मन्त्री र सदस्यसचिव पूर्ण रुपमा सफल भएका छन् ।

यसर्थमा कि मन्त्री सुनार १३औँ सागको अध्यक्ष भएकाले उनी कुनै समितिमा बस्नुपर्ने आवश्यकता नै छैन । त्यस्तै, सदस्यसचिव सिलवाल १३औँ सागका कार्यकारी प्रमुख हुन्, उनलाई पनि कुनै समितिमा बस्नुपर्ने आवश्यकता पर्दैन । समितिमा बस्नु आवश्यक थियो त तिम्सिनालाई, तर समितिको जिम्मेवारी दिनुपर्छ भनेर नै उनलाई समितिबाट टाढा राख्न यस्तो चक्रब्युह रचिएको थियो । कागको फुल समेत चोर्न सक्ने बाठो व्यक्तिको रुपमा परिचित तिम्सिना यहाँ कसरी चुके, त्यो अहिले खेलकुदमा चासोको विषय बनेको छ ।

अहिले मुलुकमा १३औँ सागको चटारो छ र सायद यसका निम्ति तिम्सिना जस्ता ‘स्मार्ट’ व्यक्तिको खाँचो पनि छ । तर खेलकुद मन्त्री सुनार र सदस्यसचिव सिलवालले राखेपको उपाध्यक्ष पदको जस्तो जिम्मेवारी हुन्छ (अध्यक्ष नभएको अवस्थामा अध्यक्षता गर्ने) त्यस्तै जिम्मेवारी दिएर उक्त पदको मर्यादा कायम राख्नु तिम्सिनाको लागि खेलकुदबाट पलायनको बाटो बनेको हो भन्दा अतिसयोक्ति नहोला ।

उपाध्यक्ष तिम्सिना खेलकुदबाट यसरी बढारिएपछि एउटा हिन्दी कहावत यहाँनेर सान्दर्भिक हुन आउँछ– ‘बडे बेआबरु से सनम तेरे कुचे से हम निकले’ ! सायद यो चर्चित कहावतलाई यतिबेला जहाँ भए पनि तिम्सिनाले गम खाँदै याद गरिरहेका होलान् ।