नेपालले सर्वाधिक ठूलो चेस च्याम्पियनसीपको आयोजना गर्ने

नेपालले सर्वाधिक ठूलो चेस च्याम्पियनसीपको आयोजना गर्ने


नेपाल बुद्धिचाल संघको आयोजना आगामी कार्तिक २२ देखि २९ गतेसम्म ‘मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसीप २०१९’ आयोजना हुने भएको छ । प्रतियोगिता बुढानिलकण्ठस्थित पार्क भिलेजमा हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराए ।

स्वीस लिग प्रणालीअनुसार हुने चेस च्याम्पियनसीपमा एसिया महादेशका ३० देशका १ सय भन्दा बढी खेलाडीको सहभागिता रहनेछ । प्रतियोगिता ९ चरणसम्म सञ्चालन हुनेछ । कुल १३ हजार ५ सय अमेरिकी डलर पुरस्कार राशि रहेको प्रतियोगितामा क्लासिक तथा ब्लिज विधामा खेल सञ्चालन हुनेछ ।

प्रतियोगितामा २१ सयभन्दा कम रेटिङ भएका तथा अधिकतम फिडे मास्टरसम्मको उपाधि प्राप्त खेलाडीले मात्र सहभागिता जनाउने पाउने छ । यो प्रतियोगितामा नेपालको तर्फबाट अफिसियल खेलाडीको रुपमा सुजना लोहनी र पुरुषोत्तम चौलागाईंले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा पुरुषतर्फको विजेताले ‘क्यान्डिडेट मास्टर’ र महिलातर्फको विजेताले ‘वुमन क्यान्डिडेट’को उपाधि प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा ३७ जना खेलाडीले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यो चेस च्याम्पियनसीप विश्व बुद्धिचाल महासंघको अफिसियल इभेन्टमध्ये नेपालमा आयोजना हुने सर्वाधिक ठूलो प्रतियोगिता हो । यो प्रतियोगिताको सफल व्यवस्थापनका लागि मदन भण्डारी स्पोर्टस् एकेडेमी तथा काठमाडौं महानगरपालिका सहकार्य रहने बुद्धिचाल संघले जनाएको छ । संघले यो च्याम्पियनसीपलाई चुनौती र अवसर दुवैको रुपमा लिएको पनि जानकारी गराएको छ ।

प्रतियोगिताको कुल बजेट २ करोड ३० लाख ३१ हजार रहेको छ । प्रतियोगिता सञ्चालनको लागि नेपाललगायत भारत, चीन र अफगानिस्तानका अन्तर्राष्ट्रिय आर्विटरले निर्णायको भूमिका निर्वाह गर्नेछन् ।