असंलग्न सम्मेलन र शिष्टाचारका कुरा

नेपालजस्तो विकासोन्मुख देशको निमित्त महत्वपूर्ण हुन्छ असंलग्न सम्मेलन



■ मुक्तिनाथ शर्मा

हाम्रो देशका नेताहरूको बोलीको तौलले आफूलाई मात्र नभई देशकै इज्जतमा दाग लाग्न सक्छ कि भन्ने चिन्ता लाग्न थालेको छ । यतिबेला जारी असंलग्न परराष्ट्र सम्मेलनमा नेपालको प्रतिनिधित्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैहुनुहुन्छ । उहाँले आफ्नो देशमा जे–जस्तो बोले पनि अन्तर्राष्ट्रिय सम्मेलनमा अवश्य नै नेपालको उचाइ बढाउनुहुनेछ भन्ने विश्वास पङ्क्तिकारको छ ।

यो सम्मेलनको पहिलो अवसरमा नेपालबाट यदुनाथ खनाल भाग लिन जानुभएको थियो । वाङ्डुङ सम्मेलन भनिएको उक्त सम्मेलनबाट पञ्चशीलको सिद्धान्तको आधारमा असंलग्न परराष्ट्रनीति पनि कायम भयो र त्यसभित्र नेपाल पनि संलग्न छ । आजको अवस्थामा दुई ठूला देशको चेपुवामा रहेको नेपालजस्तो सानो विकासोन्मुख देशले अपनाउनुपर्ने सिद्धान्त त्यही हो र यो अझ पनि आवश्यक छ ।

हाम्रो देशका नेताहरूको स्वभाव अरू मुलुकका नेताहरूसँग तुलना गर्न सुहाउँदैन, तैपनि अरूको देखेर जान्नुपर्ने हो । जस्तै, अस्ति भर्खरै चीनका नेता राष्ट्रपति सी जिनपिङ आउनुभयो । उहाँको शालीनता हेर्न, मनन गर्न र सम्झनलायक थियो । सी प्लेनबाट ओर्लन गेटमा उभिँदै गर्दा देखिएको दृश्य– हँसिलो अनुहार, उच्च कद, थोरै मात्र अर्थात् १–२ पटकको हात हल्लाई । त्यस्तै, नेपालमा बस्दा यहाँका राजनीतिज्ञहरूसँग भेट गर्दाको शालीनता, हिँड्दा, कुरा हुँदाको हाउभाउ सिक्नलायक थियो । हाम्रा नेताहरू भए प्लेनको गेटमा १० मिनेटसम्म उभिएर कति नै आदर्शवादी नेता हुँ जस्तो गरी सुहाई–नसुहाई हात हल्लाइरहेका देखिन्थे, तर उहाँमा त्यस्तो बडप्पन थिएन । त्यस्ता हुन्छन् जनताका नेता । हाम्रो देशमा पनि थिए, तर बितेर गए, अब त्यस्ता नेता जन्माउन नेपालआमाको कोख बाँझिएजस्तो छ ।

यतिखेर नेताहरूको प्रसङ्ग आउँदा अरू पनि केही भनौँ–भनौँ जस्तो लाग्यो । भन्न पनि लाज लाग्छ– रौतहट जिल्लाका महसुर अपराधी जसले २३ जनाको एकैपटक हत्या गरेको भन्ने अभियोग छ, त्यसमा पनि कतिलाई त जिउँदै इँटाभट्टामा होमिएको भन्ने सुन्दा पनि आङै जिरिङ्ग हुन्छ । तिनका परिवारसँगै रुन मन लाग्छ । यदि त्यो कुरा साँचो हो भने त्यस्ता अपराधीलाई तड्पाई–तड्पाई मार्नुपर्छ । यद्यपि त्यो मुद्दा अहिले अदालतमा विचाराधीन छ । जतिसुकै वर्षको पुरानो मुद्दा होस्, पीडितले न्याय पाउनुपर्छ । त्यतिबेलै हेर्नुपर्ने मुद्दा तत्कालका पदाधिकारी वा मन्त्री जो भए पनि अपराधी नै भएर वा प्रलोभनमा परेर पीडितले न्याय पाएनन्, दुर्भाग्य हो ! अब त्यसो नहोस् ।

आश्चर्य त यो पो छ– त्यस्ता मानिसलाई कारबाही हुँदै गर्दा नेपाली काङ्ग्रेसजस्तो पुरानो आदर्शवादी पार्टी जसले प्रजातान्त्रिक समाजवादको वकालत गर्दै आयो, त्यस्तो पार्टीका सभापतिले कार्यकर्ता प्रशिक्षणका क्रममा बोलेका शब्द सुन्दा सबैलाई आश्चर्य र घृणा पैदा गरायो । त्यस्तो बोल्न सल्लाह दिने को थियो होला वा आफैँ हो कुन्नि ?! यद्यपि पछि सुधार गरेर निष्पक्ष न्यायको माग गरे । त्यति पनि तत्काल मती फिरेछ, धन्य हो !

नेताले कति बोल्दा जनतामा के असर पर्छ ? इन्साफ कहाँ पुग्छ ? आफ्नो उचाइ घट्छ वा बढ्छ ? यस्ता सवालमा याद गर्न नसक्ने नेतालाई कसैले आदर गर्दैन र क्षमा पनि गर्दैनन् । यसरी नै एयरपोर्टको वाइडबडी प्लेनको भ्रष्टाचार मुद्दामा लेखासमितिले तत्कालीन मन्त्री रवीन्द्र अधिकारीसमेतलाई शङ्काको घेरामा राखी यता अख्तियारले छानबीन गर्दै छ, उता प्रधानमन्त्री ओलीले दिवंगत रवीन्द्रलाई निरपराध छन् भनेर स्वयम् घोषणा गरेका थिए । हाम्रो देशका नेताहरू यस्तै छन् ।

आफ्नो मानिस जति अपराधी भए पनि बचाउन खोज्ने अनि अरूलाई फसाउन र गाली दिन पाउँदा खुशी हुने ! अरू पार्टी वा व्यक्तिले भन्दैनभनेको कुरा पनि आफैँले उब्जाई मलाई यस्तो भन्यो भन्दै छुद्र भाषामा गाली दिने सम्माननीय प्रधानमन्त्रीको स्वभावले जनता र अरू पार्टीलाई त्यत्तिकै चस्काउँछ भन्ने कुरा याद गरेर त्यो स्वभावलाई सुधार गर्नु उहाँकै निमित्त राम्रो हुने थियो । हुँदाहुँदै आफूभन्दा ठूलालाई ‘तपाईं’ भनेर आदर गर्न नसकी ‘तिमी’ भन्ने ? भन्दै सञ्चारकर्मीलार्ई गाली दिनुभएको छ उहाँले । को ठूलो को सानो भनेर छुट्याउँदा सानोले आफूलाई अपमानित सम्झन सक्छ । त्यसैले पत्रकारहरूबाट सबैलाई एकै सम्मान दिने उद्देश्यले ‘तिमी’ भन्ने कमन शब्द प्रयोग गर्ने प्रचलन रहेको हुनुपर्छ । यदि सम्माननीय प्रधानमन्त्रीलाई अपमान भएजस्तो लाग्यो र ‘हजुर’, ‘बक्सियोस्’ भन्नुपर्ने नै हो भने सुझाव पाउन पत्रकारहरू अनुरोध गर्दछन् ।

वर्तमान कम्युनिस्ट पार्टीको दुईतिहाइ सरकार गठन भएको लगभग २ वर्ष भयो, हेर्न र देख्नलायक विकासको काम कतै देखिँदैन । उहाँ आफैँ भन्नुहुन्छ– ‘विकास भएन भनेर भन्नेहरू आँखा चिम्लेर होइन, आँखा खोलेर नेपालका बूढाबूढीहरूलाई सोध्नुहोस् !’ यसको अर्थ भनेको वृद्धहरूलाई यही सालको साउनदेखि एक हजार वृद्धभत्ता बढाएकोलाई विकास सम्झनुभएको रहेछ भनी बुझ्न सकिन्छ । वृद्धहरूसमेत सबै नेपालीलाई स्वास्थ्य बिमा गर्ने नियम यसअघि काङ्ग्रेसकै सरकारका पालामा स्वास्थ्यमन्त्री गगन थापाले ल्याउनुभएको हो । वृद्धहरूलाई अझ पनि टाढाको सवारी र काठमाडौंभित्र साना गाडीमा कुनै सुविधा छैन । वीर अस्पतालमा ल्याबको काम रगत, दिसा, पिसाब, एक्सरे सिटीस्क्यानमा सबै अरूसरह पैसा लाग्छ । निजी अस्पतालको त कुरै छाडौँ । सम्माननीय प्रधानमन्त्रीज्यूको भनाइअनुसार बूढाबूढीहरूलाई के सोधौँ ? एक हजार भत्ताको विकास ? बैंकमा खाता खोल्ने र पानीमा लगानी ऊर्जामा सेयरहोल्डर इच्छा गर्नेले पहिला पनि पाएकै थिए । नयाँ कुरा होइन । त्यसो भए नयाँ विकास के हो त ?

अर्को कुरा सार्वजनिक ठाउँमा दिसापिसाब नगर्ने सहमतिको उद्घाटन प्रधानमन्त्रीज्यूलाई गराइयो, तर बजारमा सार्वजनिक सौचालय छैन भने कहाँ दिसापिसाब गर्ने ? कुनै दिन हेर्दै जाऊँ नगरपालिकाले कुनै शौचालय बनायो भने सम्भवतः सम्माननीय प्रधानमन्त्रीलाई त्यही उद्घाटन गर्न बोलाउँलान् । किनभने प्रधानमन्त्रीज्यू स्वच्छ विचारको हुनुहुन्छ र उद्घाटन, शिलान्यास भनेपछि जस्तो पनि गर्ने र यसैलाई विकास सम्झने उहाँको स्वभावलाई अरूले उपयोग गरेको देख्न सकिँदोरहेछ । यो हित–चिन्तकको स्वभाव हो ।

अब पूर्वएमाओवादीतर्फ पनि जाऊँ । पुष्पकमल दाहाल (प्रचण्ड) जी सीधा मानिस अरूको विश्वासमा पर्ने र वर्तमान प्रधानमन्त्रीजस्तै अरूलाई त्यति घोचपेच नगर्ने र छुद्रता प्रदर्शन नगर्ने प्रिय मान्नुपर्छ । केही दिनअघि कसले उक्सायो ज्ञानेन्द्र राजालाई भन्नुभयो । जे भए पनि जतिसुकै माला लगाएर बर्बराए पनि यहाँ विलय भइसक्नुभएको र अब अधिवेशन भएपछि उहाँ अरू उहाँका सहयोगी दोस्रो, तेस्रो नेताहरूको नामनिसानै हराउनेछ । कार्यकर्ताको कुरै छोडौँ । हाम्रा प्रधानमन्त्री अति चतुर खेलाडी हुनुहुन्छ । झलनाथ खनाललाई राष्ट्रपति र माधव नेपाल, प्रचण्डजीलाई कहिले कसैलाई, कहिले कसैलाई खेलाउँदै पार्टीको सभापति बनाउने आश्वासन दिनुभएको होला । उहाँहरू त्यसैमा ऱ्याल काड्दै रमाउनुभएको हुनुपर्छ । अरू एमालेका दोस्रो तहका नेताहरू प्रधानमन्त्रीज्यूकै खेलाइमा विश्वास गर्नेजति सबैलाई राम्रो भएको छ, अलिअलि ङ्यारङुर गर्ने, गर्दै छन् । मन्त्री योगेश भट्टराईजस्ता पनि ऱ्याल काड्दाकाड्दै मन्त्री बने, अब खुशी छन् । अरूलाई पनि खुशी पार्ने खेल सम्माननीय प्रधानमन्त्रीज्यूले जान्नुभएको छ ।

यो सबै खेलहरूबाट बुझ्न सकिन्छ– नेकपा एमालेमा एक मात्र प्रतिभाशाली व्यक्ति केपी ओली नै हुनुहुन्छ । काङ्ग्रेसमा खोज्नुपर्छ । साँचो भन्नुपर्दा शेरबहादुर देउवा काङ्ग्रेसको पार्टी सभापति रहँदासम्म काङ्ग्रेसमा सुधार होला र चुनावमा बहुमत ल्याउला भन्ने आशा कार्यकर्तामा मरिसकेको काङ्ग्रेसकै दोस्रो–तेस्रो तहका नेता तथा कार्यकर्ताको भनाइ सुन्नमा आउँछ । नेताहरूले यसतर्फ ध्यान दिन सकून्, पङ्क्तिकारको शुभेच्छा !

प्रतिक्रिया