१३औँ सागका लागि चुनौती बन्दै ‘दशरथ रंगशाला’

१३औँ सागका लागि चुनौती बन्दै ‘दशरथ रंगशाला’


■ श्रीविक्रम भण्डारी

आगामी मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा सञ्चालन हुन गइरहेको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को आयोजनामाथि दशरथ रंगशाला नै प्रमुख चुनौती बन्ने देखिएको छ । ‘अन्तर्राष्ट्रिय रंगशाला’ भनेर चिनाइँदै आएको दशरथ रंगशाला विनाशकारी भूकम्पको घटनापछि हालसम्म पुनर्निर्माणको क्रममा छ । १३औँ सागको महत्वपूर्ण कार्यक्रम ‘उद्घाटन’ र ‘समापन’ समारोह आयोजना हुने दशरथ रंगशालाले अहिलेसम्म पूर्णता नपाएपछि ‘साग’ आयोजनामाथि नै गम्भीर चुनौती थपिएको हो ।

१३औँ सागको मुख्य आयोजनास्थल दशरथ रंगशालाको अन्य कार्य सम्पन्न भए पनि पश्चिमतर्फको भीआईपी प्यारापिटको निर्माण पचास प्रतिशत मात्र सम्पन्न भएको छ । भीआईपी प्यारापिटको निर्माण सम्पन्न गर्न भारतबाट फलामको पोल आए पनि अहिलेसम्म जडान हुन सकेको छैन । त्यस्तै, चीनबाट आउनुपर्ने छाना अहिलेसम्म नेपाल आइपुगेको छैन भने कहिलेसम्म नेपाल आइपुग्छ, त्यसको टुङ्गो छैन ।

प्रतियोगिता आयोजना हुन अब केवल ४० दिनको समय मात्र बाँकी छ, यस्तो अवस्थामा निर्माण सामग्रीको अभाव खड्किँदा तोकिएकै समयमै दशरथ रंगशालाले पूर्णता पाउनेमा शङ्का उत्पन्न भएको छ । त्यस्तै, दशरथ रंगशालामा बिछ्याउने सिट पनि अहिलेसम्म नेपाल भित्रिएको छैन । प्राप्त जानकारीअनुसार सिट कोलकोता आइपुगेको थाहा भए पनि नेपाल भने भित्रिएको छैन । अब ती सिटहरू कहिले नेपाल आइपुग्छन् र सिट फिट गर्ने कार्यले सुचारु हुन्छ त्यसको पनि टुङ्गो छैन । अफिसियल गेममा सिट नहालेको रंगशालामा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्न नपाइने प्रावधान छ । यो अन्तर्राष्ट्रिय नियम हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले कात्तिक १५ गतेभित्र सम्पूर्ण पूर्वाधार तयार हुने दाबी गरेका छन् । उनको दाबीका बाबजुद दशरथ रंगशाला, पोखरा रंगशाला र ललितपुरको सातदोबाटोमा निर्माणाधीन हिटिङ पौडीपोखरी १३औँ सागका लागि गम्भीर चुनौती बनेका छन् । कात्तिक १५ गतेभित्र यी पूर्वाधारको निर्माण हुने सम्भावना ज्यादै न्यून देखिएको छ । राखेपले निर्माणमा संलग्न कम्पनी र ठेकेदारसँग तोकिएको समयमा निर्माणको लागि लिखित रूपमा हस्ताक्षर गराएर प्रतिबद्धता जाहेर गरे पनि ती पूर्वाधार समयमै निर्माण हुन्छन् या हुँदैनन् त्यो यतिबेला आमचासोको विषय बनेको छ । ती तीनै स्थलको निर्माणको गतिलाई मध्यनजर गर्दा नाक खुम्च्याउने अवस्था छ ।

कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गर्दा ६ महिनाअघि नै पूर्वाधारको निर्माण सम्पन्न हुनुपर्छ । त्यसपछि सहभागी राष्ट्रका प्रतिनिधिहरूलाई निमन्त्रणा गरी पूर्वाधारको अवलोकन गराइन्छ र तयारीका लागि जानकारी दिइन्छ । तर, दुर्भाग्य ! नेपालको एउटै मात्र अन्तर्राष्ट्रिय रंगशाला ‘दशरथ रंगशाला’ प्रतियोगिता आयोजना हुन ४० दिन मात्र बाँकी रहँदासमेत पूर्ण रूपमा निर्माण हुन सकेको छैन । यथार्थमा भन्नुपर्दा १३औँ सागका लागि दशरथ रंगशाला नै खेलकुद पदाधिकारीहरूका लागि टाउको दुखाइको विषय बनेको छ । परिणाम १३औँ सागमा सहभागी राष्ट्रहरूको बारेमा समेत सम्बन्धित निकायले यतिबेलासम्म पनि कुनै जानकारी गराउन सकेको छैन ।

दशरथ रंगशाला १३औँ सागको लागि चुनौती बन्न सक्ने सम्भावना बढेपछि सदस्यसचिव सिलवालले दशरथ रंगशालाले पूर्णता नपाए ‘साग’ आयोजना गर्न नसकिने सङ्केत दिइसकेका छन् । ‘विवाह गर्न खोजेर मात्र हुँदैन, बेहुला पनि तयार हुनुपर्छ’ भन्दै सदस्यसचिव सिलवालले अन्य समस्त तयारी पूर्ण भए पनि दशरथ रंगशालाको पूर्णताबिना अर्थहीन हुने स्वीकार गरे । यतिबेला १३औँ सागको तयारीमा युद्धस्तरमा लागेको नेपालले पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ । कात्तिक १५ गतेको अन्तिम समयसीमा दिइए पनि त्यसमा तलमाथि भए आगामी मङ्सिर १ गतेसम्ममा सबै छुटफुट कार्य सम्पन्न हुने सम्बद्ध पक्षको दाबी छ ।

यसैबीच सदस्यसचिव सिलवालले भने, ‘१३औँ सागको मेरुडण्ड भनेको दशरथ रंगशाला हो, यदि तोकिएको समयमा दशरथ रंगशालाले पूर्णता पाएन भने साग हुँदैन ।’ रंगशाला तयार नभए अन्य तयारीको काम छैन, किनकि ती गौण हुन् । तसर्थ विवाहचाहिँ गर्ने भन्ने बेहुला–बेहुली नभए कसरी गर्ने ? यो प्रश्न अहिले दशरथ रंगशालाले उठाइरहेको सिलवालको स्पष्टता थियो । बजेटको कुनै चिन्ता छैन, तर समय कम छ । यतिबेला समय नै १३औँ सागको प्रमुख चुनौती बनेको छ । हामीले दशरथ रंगशालाको निर्माण कार्य कात्तिक १५ गतेसम्म सक्ने योजना बनाएका छौँ । त्यसको लागि युद्धस्तरमा कार्य भइरहेको छ । यदि कात्तिक १५ गतेको डेटलाइनमा दशरथ रंगशालाले पूर्णता पाएन भने मङ्सिर १ गते बाटो म्याद हो । यसको अर्थ मङ्सिर १ गते जसरी भए पनि रंगशाला तयार हुनुपर्छ । योभन्दा माथिको समय हामीसँग छैन । यदि निर्माणको कार्य यो समयभन्दा पनि माथि लम्बियो भने १३औँ साग गर्न सकिँदैन– सिलवालले खुलस्त बताए ।

कात्तिक १५ अर्थात् डेटलाइनको समय अब मात्र ९ दिन बाँकी छ । यतिबेला दशरथ रंगशाला निर्माणको कार्य द्रुतगतिमा भइरहे पनि पूर्णता पाउन सकेको छैन । पश्चिमतर्फको भीआईपी प्यारापिट निर्माण सोचेजस्तै गरी अगाडि बढ्न सकेको छैन । झ्वाट्ट हेर्दा हिजो जस्तो थियो अहिले पनि त्यस्तै छ । फलामको पोल नेपाल भित्रिए पनि प्राविधिक कारणले ठडिन सकेका छैनन् । त्यसमाथि छाउनुपर्ने छानो अहिलेसम्म नेपाल भित्रिएको छैन । त्यस्तै, रंगशालामा बिच्छाउनुपर्ने सिट पनि नेपाल आइपुगेको छैन । सदस्यसचिव सिलवालले चीन भ्रमण गरेको डेढ महिना भइसकेको छ, तर चीनबाट नेपाल आउनुपर्ने ती सामग्री कहिले आउने हुन् त्यसको टुङ्गो छैन । यता मुलुकलाई ठूला चाडपर्वले छपक्कै छोपेको बेलामा ती सामग्री आए पनि सोचेबमोजिम कार्य होला भन्न सकिँदैन ।

यस्तो विषम परिस्थितिमा पनि सदस्यसचिव सिलवालले दशरथ रंगशाला समयमै तयार हुने बताएका छन् । सदस्यसचिव सिलवालले त दशरथ रंगशालाको सम्पूर्ण कार्य तिहारअघि नै सकिने दाबी गरेका छन् । सिलवालको यस्तो दाबीमा कुनै सत्यता छैन । किनकि तिहारअघि दशरथ रंगशालाले पूर्णता पाउने कुनै सङ्केत नै छैन । उनले कार्यकारी प्रमुखको हैसियतले नुनको सोझो गर्न मात्र भनेका हुन् । किनकि यो उनको बाध्यता हो र उनले भन्नु पनि पर्छ । यतिबेला दशरथ रंगशालाको जुुन अवस्था छ, त्यसलाई दृष्टिगत गर्दा तिहारअघि त के आगामी फागुन महिनासम्म पनि पूर्णता पाउने देखिँदैन । यस्तो अवस्थामा भीआईआई प्यारापिटको निर्माणले कसरी पूर्णता पाउला त्यो अहिले आमचासोको विषय बनेको छ ।

‘अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गर्दा कम्तीमा पनि ६ महिनाअघि पूर्वाधारको निर्माण सम्पन्न हुनुपर्छ । विभिन्न आन्तरिक र प्राविधिक कारणले नेपाल यो नियममा खरो उत्रिन सकेन, यो सत्य हो । तर, हामी प्रयासरत छौँ, त्यसमा सफलता मिल्ने कुरामा म विश्वस्त छु,’ सिलवालले दाबी गरे, ‘यतिबेला सबै कुरा मिलेर आएको छ, तयारीमा कुनै कमी–कमजोरी छैन, तर समय मात्र हामीसँग थोरै छ । यो समयलाई कसरी सदुपयोग गर्ने र लक्ष्य साँध्ने त्यो नै मेरो चुनौती बनेको छ ।’

म हिजो राखेपको सदस्यसचिव भएर आउँदा खेलकुदको स्थिति कस्तो थियो र आज कस्तो छ, त्यो सबैका अघिल्तिर छर्लङ्ग छ । म काममा विश्वास गर्ने मान्छे, काम गरेर देखाउन चाहन्छु त्यो पनि मौनता साँधेर । १३औँ सागको आयोजनाबारे सकारात्मकभन्दा नकारात्मक चर्चा छ यतिबेला । खेलकुदका कर्मचारीदेखि पदाधिकारीहरू १३औँ सागबारे ढुक्क हुनसकेका छैनन् । यसको कारण हो– ‘दशरथ रंगशाला ।’ तर, यसकै कारणचाहिँ म कत्ति विचलित भएको छैन, उल्टै चुनौती र अवसरको रूपमा लिएको छु । प्रतीक्षा गर्नुहोस्, १३औँ सागको उद्घाटन निर्धारित मितिमै दशरथ रंगशालामा हुन्छ, म ठोकुवा गर्छु– सिलवालले भने ।