निर्देशक राईको राजीनामा घोषणा

निर्देशक राईको राजीनामा घोषणा


राष्ट्रिय टिम तयारी समितिका सचिव महेन्द्र राईले राजीनामा दिने घोषणा गरेका छन् । राईले आगामी मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा सञ्चालन हुन गइरहेको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) निर्धारित समयमा आयोजना नभए ‘सचिव’ पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । राई राष्ट्रिय टिम तयारी समितिका निर्देशक हुन् ।

राईले भने, ‘१३औँ साग निर्धारित समयमा हुन्छ, यसमा दुईमत छैन । सबैै तयारी युद्धस्तरमा भइरहेको छ । अब कसैले हुँदैन भनेर शङ्का गर्छ भने त्यो व्यक्तिगत सोच हो ।’ राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले पनि सागको बारेमा ठोकुवा गर्दै मङ्सिर १५ गतेदेखि १३औँ साग शुरु हुने बताएको राईले स्मरण गराए ।

सागको तयारीका लागि यतिबेला २७ खेलका नेपाली खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् । तर, १३औँ सागमा कति राष्ट्रका कति खेलाडीले सहभागिता जनाउँदै छन् त्यसको खुलासा आयोजक नेपालले गरेको छैन । यस्तो अवस्थामा राईसँग सम्पर्क गर्दा उनले १३औँ सागमा सातै राष्ट्रका खेलाडीले सहभागिता जनाउने बताए ।

त्यस्तै, भारत, पाकिस्तानको सहभागिताबारे उठेको प्रश्नमा समेत दुवै देशले १३औँ सागमा सहभागिता जनाउने राईले विश्वास प्रकट गरे । सागको आयोजना भारत र पाकिस्तानले गरेको भए कुरो अर्कै हुन्थ्यो अर्थात् नआउन पनि सक्थे । तर, १३औँ साग नेपालले आयोजना गर्ने भएको हुँदा भारत र पाकिस्तान दुवैले सहभागी जनाउने राईले दाबी गरे ।

यथार्थमा राईको यो घोषणा हास्यास्पद छ । सर्वप्रथम १३औँ साग नभए कसैले आफ्नो पदबाट राजीनामा दिनुपर्दैन । त्यो पद आफैँ समाप्त हुन्छ । तर, राईले साग आयोजनाअघि नै किन सचिव पदबाट राजीनामा दिने घोषणा गरे त्यो अहिले चर्चाको विषय बनेको छ । राईको ‘सचिव’ पद गए पनि निर्देशक पद नजाने भएर यस्तो घोषणा गरेको अनुमान गरिएको छ ।