खेलकुद पूर्वाधार निरीक्षण, समयमा काम सक्न मन्त्रीको निर्देशन

खेलकुद पूर्वाधार निरीक्षण, समयमा काम सक्न मन्त्रीको निर्देशन


यूवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा (सुनार) सहित राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल, गण्डकी प्रदेश सामाजिक विकास मन्त्रि नरदेवी पुनसहितको टोलीले १३औं दक्षिण एसियाली खेलकुद (साग)लक्षित पोखरा रंगशालाका विभिन्न निर्माणाधीन भौतिक पूर्वाधारको निरीक्षण गरेको छ ।

मन्त्री विश्वकर्मासहितको टोलीले पोखरा रंगशालास्थित साग पूर्वाधारमध्ये फुटबल खेल मैदान, ह्याण्डबल एकेडेमी, बहुउद्देश्यीय कभर्ड हल, क्रिकेट खेल मैदान, आर्चरी खेल मैदानको निरीक्षण गरेको थियो । त्यो बाहेक निर्माणाधीन टेनिस कोर्ट र स्क्वायस कोर्टको समेत निक्ष्ीिाण गरी सागअघि सबै काम सक्न प्राविधिकरूलाई निर्देशन समेत दिएको छ । यसैगरी सागमा आयोजना हुने पोखरा बाराही घाटको बीच भलिबल कोर्ट र भारोत्तोलन आयोजना हुने पोखरा १२ स्थित केसी क्याटरिङको समेत निरीक्षण गरिएको छ ।

निरीक्षणका क्रममा मन्त्री विश्वकर्माले अस्थाई प्रकृतिका पूर्वाधार बनाउँदा कम लागत र पारदर्शितामा ध्यान दिन सबै संघका प्रतिनिधिलाई आग्रह गरेका छन् । उनले सागलक्षित कुनै पनि काममा बाधा पुग्न नदिन प्राविधिकहरूलाई निर्देशन दिए ।

यसअघि फुटबल स्टेडियमको निरीक्षणका क्रममा स्टेडियम बनाउने जिम्मा पाएको एमए कन्स्ट्रक्सन र ग्रेट स्पोर्टस प्रालिका प्रतिनिधिहरूसँग मन्त्री विश्वकर्मासहितको टोलीले भेट गरी तोकिएको समयमा काम सक्न निर्देशन दिएको थियो ।

सो अवसरमा निर्माणाधीन रंगशालाका प्रोजेक्ट म्यानेजर दीपक बरालले मन्त्री विश्वकर्मा र सदस्यसचिव सिलवाल संलग्न अनुगमन टोलीलाई रंगशालाका बारेमा जानकारी दिँदै आगामी नोभेम्बरको दोश्रो सातासम्म ८–१० हजार सिट क्षमताको रंगशाला तयार भइसक्ने बताए ।

सो अवसरमा ग्रेट स्पोर्टसका प्रतिनिधि सन्दिप सिंहले फ्रान्सबाट भारतको विशाखापटनममा आइपुग्ने सामानलाई यथासीघ्र नेपाल ल्याउन पहल गर्न मन्त्री विश्वकर्मासँग आग्रह गरेका थिए । उनले भने– ‘जति सक्यो छिटो सामान आउँछ त्यति नै छिटो काम सक्छौँ ।’ उनले यतिबेला ट्रयाकको सामाग्री सबै नेपालमा आइसकेकोले एक साताभित्र काम सक्ने साग टोलीसमक्ष जानकारी गराएका थिए । उनले सबै काम तोकिएको समयमा नै सकिने भन्दै टोलीलाई आश्वस्त पारे ।

यसैगरी क्रिकेट खेल मैदानको अवस्थामा नेपाली महिला राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमटाले जानकारी गराएका थिए । सो अवसरमा प्रशिक्षक टमटाले मैदानमा आवश्यक पूर्वाधारका बारेमा जानकारी गराउँदै मैदानभित्र भिआइपी, मिडिया र प्लेयर बक्ससहित अस्थाई रुपमा सातवटा बक्सहरु बनाउनु पर्ने बताए ।

यसका साथै अस्थाई प्रकारका शौचालयहरुको निर्माण गर्न समेत मन्त्री विश्वकर्माले निर्देशन दिएका छन् । उनले भने– ‘जे निर्माण गर्नुपर्छ गनुहोस्, सकभर कम खर्च र पारदर्शितालाई ध्यान दिनुहोला ।’

टोलीले लामाचौरस्थित गोस्ते घाटको फुटबल मैदान, ह्याङजास्थित गौरीशंकर खेलमैदान र क्रिकेट प्रशिक्षणका लागि पोखरा वडा नं १ नदिपुरस्थित क्रिकेट खेल मैदानको समेत निरीक्षण गरेको छ ।