यस्तो बन्ने भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला

यस्तो बन्ने भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला


चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विस्तृत प्राविधिक प्रतिवेदन (डिपिआर)को खाका तयार भएको छ । सो खाकामा थपघटका लागि सुझाव लिन भरतपुरमा बुधबार अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

अन्तरक्रियाका अवसरमा डिपिआर बनाउँदै गरेको क्रियटिभ डिजायन आर्किटेक्टस प्रालीले हाल तयार गरेको नमूना प्रस्तुत गरेको थियो । सो कम्पनीले कमलको फूलसँगै नेपालीपन झल्कने गरी आधुनिक तवरको रङ्गशालाको नमूना तयार गरेको छ ।

उक्त रङ्गशालाको प्रवेशद्वारमा गौतमबुद्धको शालिक निर्माण गरिनेछ । भित्री भागमा परम्परागत कलात्मक शैली झल्कने गरी रङ्गशाला निर्माणका लागि नक्साङ्कन गरिएको देखाइएको छ ।

बाइस बिघा १६ कट्ठा पाँच धुर जग्गामा रङ्गशाला निर्माण गरिँदै छ । डिपिआरमा एक लाख ५४ हजार ५०६ वर्ग मिटरमा रङ्गशाला निर्माण गर्ने र त्यसभित्र ३० हजार मानिस बसेर खेल अवलोकन गर्न सक्ने जनाइएको छ ।

छलफल कार्यक्रममा डिपिआर बनाउँदै गरेको क्रियटिभ डिजाइन आर्किटेक्टसका प्रबन्ध निर्देशक शेरबहादुर केसीले भारत र अमेरिकाका परामर्शदातासँग छलफल गरी यो प्रतिवेदनलाई अन्तिम रुप दिइएको जानकारी दिनुभयो । विश्वमा रहेका पछिल्लो प्रविधिबाट निर्मित रङ्गशालाको नमूनासमेत अध्ययन गरी परामर्शदाता कम्पनीले उच्चस्तरको डिपिआरको नमूना तयार भएको जनाइएको छ । कार्यक्रममा सहभागीले आ–आफ्नो सुझाव दिएका थिए ।

सो अवसरमा धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले समयमा रकम जुटाउन सकेमा २२ महीनाभित्रमा रङ्गशाला तयार हुने बताउनुभयो । पछिल्ला दिनमा जिल्लामा भएका घटनाका कारण वातावरण त्यति सहज नभएको भन्दै उहाँले जिल्लावासी लागेमा काम सम्पन्न गर्न कठिन नहुने बताउनुभयो ।

परामर्शदाता कम्पनीले सरकारको कर छुट गराउनसकेमा रङ्गशाला तयार गर्न दुई अर्ब ६० करोड हाराहारी खर्च हुने जनाइएको छ । कट्टेललाई उद्धृत गर्दै राससले जनाएअनुसार रङ्गशालाका लागि बोलकबोलको रकम सात करोडमध्ये एक करोड र नबोलीकनै सोझै दुई करोड सङ्कलन भएको छ । डिपिआरका लागि हालसम्म दुई करोड भुक्तानी गरेको कूल रकमको टुङ्गो लगाएर भुक्तानी गर्न बाँकी रहेको कट्टेलले जानकारी दिए । सो अवसरमा निर्माण व्यवसायी सङ्घ चितवनका अध्यक्ष उमाकान्त कँडेलले फाउण्डेसनलाई १० लाख एक हजार १११ को चेक हस्तान्तरण गर्नुभएको थियो ।

ज्ञातव्य छ, यसअघि रङ्गशालाको बार स्थानीयले भत्काएपछि केही महीना काम रोकिएको थियो । हाल रङ्गशाला निर्माण स्थलमा दुबो र माटो तयार गरिएको छ ।