लन्डननजिकै ट्रकभित्र ३९ मृत फेला

लन्डननजिकै ट्रकभित्र ३९ मृत फेला


बेलायतको राजधानी लन्डननजिकैको औद्योगिक पार्कमा रहेको एक ट्रकभित्र ३९ व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले बुधबार जानकारी गराएको छ ।

प्रारम्भिक अनुसन्धानपछि उक्त ट्रक बुल्गेरियाबाट बेलायत आएको उल्लेख गरिएको छ । एसेक्स प्रहरीका अनुसार लन्डनबाट पूर्वमा रहेको ग्रेजको पार्कमा भेटिएका सबै व्यक्तिलाई सोही स्थलमा मृत घोषित गरिएको थियो । मृतकहरूमा ३८ जना बयस्क र एक किशोर रहेको प्रहरीको प्रारम्भिक जानकारीमा उल्लेख छ ।

घटनामा संलग्नता रहेको आरोपमा २५ वर्षीय उत्तरी आयरल्यान्डका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

एसेक्स प्रहरीका प्रहरी प्रमुख सुपरीक्षक एन्ड्रयु मारिनरले एक विज्ञप्ति जारी गरी घटनाबारे भनेका छन्, ‘यो निकै दुःखद घटना हो जसमा एकै स्थलमा ३९ व्यक्तिको मृत शरीर उद्धार गरिएको छ ।’

घटनाबारे वास्तविकता खोज्न अनुसन्धान शुरु भइसकेको छ । प्रहरीका अनुसार घटनाबारे स्थानीय एम्बुलेन्सले आफूहरूलाई बिहान १ः४० जानकारी गराएको र प्रहरी तत्काल उक्त स्थानमा पुगेको थियो ।

मारिनरले भने, ‘हामीले मृतकको परिचय खुल्ने गरी अनुसन्धान प्रक्रियालाई अघि बढाएका छौँ । तर, यो केही लामो हुन सक्नेछ ।’ प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा गाडी बुल्गेरियाबाट आएको विश्वास गरिएको छ ।

उत्तरपश्चिमी राज्य वेल्स जानका लागि ट्रक शनिबार बेलायती भूमिमा प्रवेश गरेको विश्वास गरिएको छ । प्रहरीले ट्रक (लरी) चालकलाई सुरक्षा नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको मारिनरले बताए ।

rss