विश्व उसु च्याम्पियनसिपमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन

विश्व उसु च्याम्पियनसिपमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन


चीनको संघाई शहरमा सञ्चालन भैरहेको विश्व उसु च्याम्पियनसीपमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । नेपाल उसु महासंघका महासचिव ल्हाक्पा छिरिङ लामाले यसबारे जानकारी दिँदै विश्व उसु च्याम्पियनसिपको पाँचौं दिनसम्मको खेलमा नेपाली खेलाडीले एकपछि अर्को उत्कृष्ट प्रदर्शन गरेको बताए ।

बताइएअनुसार प्रतियोगितामा थाउलो विधाअन्तर्गत नानगुनतर्फ दीपक हमालले सर्वोकृष्ट प्रदर्शन गरेका छन् । हमालले उक्त प्रतिस्पर्धामा ९.४५३ अंक प्राप्त गरेका छन् ।

विश्वका ५४ राष्ट्रले सहभागिता जनाएको यो विधामा हमालले उत्कृष्ट प्रदर्शनसँगै टप ९ मा आफ्नो स्थान सुरक्षित गर्दै दक्षिण एसियाली मुलुकमै पहिलो स्थानमा रहन सफल भएका छन् । टप ९ मा आफ्नो स्थान सुरक्षित पार्न हमालले दक्षिण कोरिया, थाइल्यान्ड, फिलिपिन्स, फ्रान्स, रसिया, हङकङ र म्यानमारका खेलाडीलाई पछि पारेका थिए ।

त्यस्तै थाउलोतर्फको छानछवान विधातर्फ विजय सिंजाली पनि उत्कृष्ट प्रदर्शन गर्न सफल भएका छन् । विजयले ९.४२० अंक प्राप्त गरी सहभागी ८९ राष्ट्रहरुमा १६औँ स्थान प्राप्त गरेका थिए । साथै विजयको यो प्रदर्शन दक्षिण एसियामै उत्कृष्ट रहेको थियो ।

दीपक र विजयको यो उत्कृष्ट प्रदर्शनसँगै निकट भविष्यमै नेपालमा आयोजना हुन गैरहेको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा (साग)मा नेपालले उसु खेलका यी विधामा स्वर्ण पदक जित्ने पक्का भएको महासंघका महासचिव लामाले बताए । साथै अन्य विधामा स्वर्ण पदक जित्न सक्ने विधाको आफुले अनुगमन गरिरहेको पनि जानकारी गराए ।

यसैगरी थाउलो विधाको कुनसुतर्फ विश्व बुढा मगरले ९.०७२, चेनसतर्फ कविता थापाले ९.०० र ताइची छवान खेलतर्फ मीना ग्लानले ८.९५ अंक प्राप्त गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन् । त्यस्तै सासौंतर्फ पनि नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको लामाले जानकारी गराएका छन् ।

इन्डोनेसियामा सम्पन्न १८औँ एसियाली खेलकुद प्रतियोगिताभन्दा १५औँ विश्व उसु च्याम्पियनसिपमा नेपाली उसु खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको महासंघका अध्यक्ष बीरबहादुर तामाङले बताए । यदि आउँदो १३ औँ सागमा उसु खेलाडीले विश्व च्याम्पियनसिपमा जस्तै उत्कृष्ट प्रदर्शन दोह¥याउने हो भने नेपालले ऐतिहासिल सफलता हासिल गर्ने अध्यक्ष तामाङले दाबी गरेका छन् ।

यो सवै टिमवर्क हो, अहिले १३औँ सागमा उत्कृष्ट नतिजा ल्याउन खेलाडी, प्रशिक्षक र व्यवस्थापन पक्षले निकै मेहनत गरेकोले पनि विश्व उसु च्याम्पियनसीपमा उत्कृष्ट नतिजा आएको अध्यक्ष तामाङको भनाई छ ।

विश्व च्याम्पियनसिपमा नेपाली टोलीको प्रशिक्षकमा तुलसीनन्द बज्राचार्य र ब्यवस्थापकमा लानम लामा र साम्देन शेर्पा रहेका छन् ।