फाइभ-जीका लागि ८० हजारभन्दा बढी आधार स्टेसन निर्माण

फाइभ-जीका लागि ८० हजारभन्दा बढी आधार स्टेसन निर्माण


चीनका प्रमुख तीन टेलिकम कम्पनीले इन्टर्नेटको फाइभ–जी सेवा सञ्चालनका लागि ८० हजारभन्दा बढी आधार स्टेसन निर्माण सम्पन्न गरेको उनीहरूले जानकारी गराएका छन् ।

चीनले यस वर्षको पहिलो तीन त्रैमासिकभित्र इन्टरनेट सेवाका लागि पाँचौँ पुस्ताको प्रविधि, फाइभ–जी सेवा सञ्चालनका लागि भौतिक संरचना निर्माणका लागि द्रुत गतिमा काम गरिरहेको सिन्ह्वाले जनाएको छ ।

टेलिकम क्षेत्रको व्यवसायको आयतनमा जनवरीदेखि अहिलेसम्ममा गत वर्षको तुलनामा २३.९ प्रतिशतले वृद्धि भएको चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले मङ्गलबार जानकारी गराएको तथ्याङ्कमा उल्लेख छ ।

टेलिकम कम्पनीले इन्टर्नेटको फाइभ–जी सेवा सञ्चालनका लागि चिनियाँ कम्पनीहरूले बढाएको रफ्तारसँगै चिनियाँ स्मार्ट फोन निर्माण कम्पनीहरूले पनि फाइभ–जी सेवा चल्ने मोबाइल सेटको निर्माणलाई निकै बिस्तार गरिरहेको जनाएका छन् ।

चीन सरकारले फाइभ–जी इन्टरनेट सेवाको व्यवसायिक प्रयोग गर्ने ‘ग्रीनलाइट’ जुनमा दिएसँगै टेलिफोन निर्माण कम्पनीले पनि आफ्ना उत्पादनहरूलाई आधुनिक प्रविधिमैत्री बनाएका छन् ।

सन् २०१९ को पहिला तीन त्रैमासिकमा चीनले विभिन्न १८ नमूनाका फाइभ–जी स्मार्टफोन निर्माण गरेका छन् । उनीहरूले अहिलेसम्म करिब सात लाख ८७ हजार फाइभ–जी मोबाइल सेट बजारमा पठाइसकेको मन्त्रालयअन्तर्गतको एक अनुसन्धानमुलक संस्थाले जानकारी गरायो ।